डोको बेचेरै आत्मनिर्भर जुम्लाका महिला «

डोको बेचेरै आत्मनिर्भर जुम्लाका महिला

जुम्ला पातारासी गाउँपालिका–३ निवासी पूर्णा कामीको पारिवारिक अवस्था सामान्य छ । उनको ५ जनाको परिवार छ । फाटेको लुगा, पुरानो घर खेतीपातीले ५ महिना नधान्ने अवस्था अहिले पनि ज्यूँको त्यूँ छ । यो दृष्य अरुको नभई पातारासीकी पूर्णा कामीको हो ।
घरको अवस्था सामान्य भएपछि श्रीमान् कालो कामी बर्सेनि कालापहाड झर्छन् भने घर व्यवहार सबै महिलाकै भरमा छाडेर यहाँका अधिकांश पुरुष धन कमाउन कालापहाड झर्ने प्रचलन छ । श्रीमान् कालापहाड गएपछि छोराछोरीको कापी कलम र घर खर्च चलाउन सकस भएपछि पूर्णा कामीले डोको बुन्ने पेसा अंगालिन् र दैनिकजसो वन जंगलमा जाँदा निगाला ल्याउने र घरमै डोको बुन्ने गरेकी छन् ।
फुर्सदको समय बिताउनुभन्दा गाउँघरमै पाइने स्रोत साधन उपयोग गरी दिनचर्या चलाउन सकिने उनको संकल्प छ । त्यसैअनुसार उनले निगालाबाट डोको, डालो, स्याकु, छाप्रीलगायतका सामग्री उत्पादन गरिरहेकी छन् । कमाई राम्रै भइरहेको छ । उनले थपिन, बेच्नका लागि टाढा जानु पर्दैन घरमै अडर दिने गर्छन । अडरअनुसार बनाइदिन्छु । पूर्णा कामी एक डोकोे एक हजार रुपैयाँमा बिक्री गर्छिन् भने, डोला, ५ सय, स्याकु ७ सय र छाप्री न्यूनतम ४ सय मूल्यमा बेच्ने गरेको उनले बताइन् । यस वर्षमात्रै ३ लाख कमाएको भन्दै सबैलाई फुर्सदिलो समय नबिताउन आग्रह गरिन् ।

वार्षिक ३ लाख कमाउँदा महिला दंग
पहिला त्यतिकै बस्ने पूर्णाले डोेको बुनेरै घर खर्च चलाउने, पढाइ खर्च गरी घर धान्दा पातारासीका महिला अहिले डोको बुन्न प्रतिष्पर्धा गरिरहेका छन् । घरधन्दा सञ्चालन गरी सकेपछि बचेको समयमा आफूले डोको बुन्ने गरेको अर्की स्थानीय महिला पुन्नकली कामीले बताइन् । उनका श्रीमान् पनि भारत गएका छन् । पहिला भारतबाट पैसा नपठाउन्जेल नुन तेल पनि फेर्न ग्राह्रो हुने गरेको सुनाइन् ।
तर अहिले श्रीमान्ले पैसा नपठाए पनि डोको बेचेको पैसाले सजिलै घरखर्च चलेको बताइन् । पातारासी– ३ का अधिंकाश महिला डोको बुनेर बेच्ने गरिरहेका छन् । वनबाट निगाला ल्याउन घरका अन्य परिवारले सघाउने र आफूहरू घरमा बसेर दैनिक डोको बुन्ने गरेको रत्नकली कामीको भनाइ छ । अहिले डोको बुनाइले पातारासी– ३ का महिलाको दैनिकी फेरिएको छ ।

बजारको समस्या छैन
डोका, डाला र छाप्रीहरू सबै अडरअनुसार बनाइने भएकाले बजारीकरण त्यति समस्या नभएको महिलाहरूले बताएका छन् । जुम्लामा बाह्रैमास काम नछुट्ने र सबै काममा डोकोको अधिकतम प्रयोग हुने भएकाले राम्रो खपत भएको छ । असोज कात्तिकमा मल बोक्न, हिउँदका महिना दाउरा बोक्न, साउन भदौमा अन्नपात भोक्न अधिकतम रूपमा डोकाको प्रयोग हुने गर्र्दछ ।
अरुभन्दा खेतीपातीमा बढी संलग्न हुनेले यसको खरिद गर्दछन् । डोको प्रयोग गर्नेमा महिला नै बढी छन् । डोको राम्रो र बलियो भएपछि त्यसको माग अन्य क्षेत्रबाट पनि भएको स्थानीय महिला बताउँछन् ।
लोप हुदै निगालो
एकातर्फ निगालाले महिलालाई आत्मनिर्भर बनाएको छ भने अर्कोतर्फ जंगलमा निगालो लोपोन्मुख अवस्थामा पुगेको छ । विशेषगरी घर छाउन तथा त्यसबाट बन्ने विभिन्न सामग्रीका लागि बढी नै प्रयोग भएपछि अहिले वनमा त्यति सहज नभएको महिला नै बताउँछन् । अहिले सबैले डोको बुन्न खोज्दा लोप हुँदै जान थालेको छ ।
बिक्रीका लागि तयारी अवस्थामा राखिएको जुम्ली डोका । 

सागर परियार

प्रतिक्रिया दिनुहोस्