पश्चिम तराईमा तातो हावा चल्न सक्ने, सतर्क रहन आग्रह «

पश्चिम तराईमा तातो हावा चल्न सक्ने, सतर्क रहन आग्रह

गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले अबको केही दिनसम्म नेपालको पश्चिम तराईको तापक्रम हल्का वृद्धि हुने र तातो हावा चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै मन्त्रालयले गर्मीबाट बच्नका लागि आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयले अति आवश्यक काममा मात्रै घर बाहिर निस्कन र सकेसम्म छाता बोकेर निस्कन, भरसक सेतो, पातलो र हलुका लुगा लगाउन, गर्मी मौसममा घर बाहिर धेरै डुल्ने तथा खेल्ने काम नगर्न अनुरोध गरेको छ ।
त्यसैगरी, सकेसम्म मध्यान्ह तथा अत्यधिक घाममा बढी काम नगर्न र समय समयमा आराम गर्न, चिसो पानी तथा पेय पदार्थ प्रशस्त पिउन, पिउने पानी साथमा बोकेर हिँड्न, घर बाहिर बस्दा सकेसम्म रुखको छहारीजस्ता शीतल ठाउँ रोज्न, फलफूल, काँक्रा, तरबुजा, हरियो सागपात, झोल पदार्थ प्रशस्त खान, झाडा पखाला, आउँजस्ता रोगबाट बच्न पानी तताएर चिसो पारेर पिउनसमेत आग्रह गरेको छ ।
खाना खानुअघि र फोहोर छोएपछि सधै साबुनपानीले हात धुन, आफ्नो घर वरिपरी सफा राख्न, पानी जम्ने खाल्टाखुल्टी भए पुर्न, चिसो हावा चल्ने तर सुरक्षित ठाउँमा सुत्न, बिरामी परे तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गर्न जान र गर्मी (लु)बाट बच्न आफूले जानेका राम्रा कुरा अरुलाई सिकाउन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ ।

अत्यधिक गर्मीले विद्यालय बन्द
दाङ- अत्यधिक गर्मी बढेपछि दाङमा संस्थागत विद्यालय बन्द भएका छन् । संस्थागत विद्यालयको छाता संगठनले निर्णय गरेर चार दिन विद्यालय बन्द गरिएको हो ।
गर्मी बढ्दै गएपछि पठनपाठनमा असहजता आउन थालेपछि संस्थागत विद्यालय चार दिन बन्द गरिएको नेशनल प्याब्सन दाङले जनाएको छ । जेठ १४ देखि १७ गतेसम्म चार दिन विद्यालय बन्द हुनेछन् । गर्मीका कारण विभिन्न रोग तथा भाइरलको संक्रमण बढ्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । निरन्तर गर्मी बढिरहँदा विद्यार्थी बिरामी पर्ने गरेका छन् । दाङमा दिउँसोको समयमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ । गर्मी बढेसँगै छाला, दम, टाइफाइड, ग्यास्ट्रिक, झाडापखालालगायत बिरामीको संख्या बढ्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्