नेपालका बक्स अफिस पारदर्शी छैनन्: अध्यक्ष खड्का «
Logo

नेपालका बक्स अफिस पारदर्शी छैनन्: अध्यक्ष खड्का

नेपाल चलचित्र निर्माता संघको नि:वर्तमान कार्यसमितिले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण एवं पद हस्तान्तरण गरेको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित पदाधिकारीहरूलाई नि:वर्तमान अध्यक्ष आकाश अधिकारीसहितको टिमले पद हस्तान्तरण गरेको थियो । पद हस्तान्तरणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष नवल खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताए । उनले राष्ट्रिय चलचित्र नीति निर्माण भएर थन्किएको भन्दै त्यसलाई नीतिगत कार्यान्वयन गराउनु आफ्नो पहिले लक्ष्य रहेको बतउनु भयो । अध्यक्ष खड्काले बक्स अफिस पारदर्शी नभएको दाबी गर्दै पारदर्शी बनाउन नयाँ कार्यसमिति लागिपर्ने बताए ।
उनले भने, ‘उहाँहरूको सोच, सपनालाई अहिलेको नयाँ कार्यसमितिले उहाँहरूको उद्देश्य र लक्ष्यलाई प्राप्त गर्न अहोरात्र खटिनेछ । अघिल्लो कार्यसमितिले पाइपलाइनमा राखेका कामलाई हामी पूरा गर्नेछौँ । राष्ट्रिय चलचित्र नीति निर्माण भएर जुन थन्किएर रहेको छ, त्यसलाई हामी पूरा गर्नेछौँ । त्यसलाई हामी कार्यान्वयन गर्नेछौँ । त्यो २०७१ को राष्ट्रिय नीतिलाई कार्यान्वयन गर्ने हाम्रो पहिलो काम हुनेछ । बक्स अफिस पारदर्शी छैनन्, त्यसलाई पारदर्शी बनाउन हामी लाग्नेछौँ ।’
उनले कतिपय चलचित्रको प्रचारको अभाव रहेको उल्लेख गर्दै आफू नेतृत्वमा रहँदा चलचित्र निर्माणको लागि आवश्यक काम गरेर देखाउने दाबी गरे । अध्यक्ष खड्का निर्माता संघको अध्यक्षमा निर्विरोध चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्