शिक्षामा फड्को मार्ने हरिहरपुरगढीको लक्ष्य «

शिक्षामा फड्को मार्ने हरिहरपुरगढीको लक्ष्य

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका जिल्लाका नौवटै स्थानीय तहमध्ये दुर्गम, विकट र विकासका दृष्टिले पछाडि परेको पालिकाको रूपमा चिनिन्छ । यहाँ सबैभन्दा बढी क्रमश: तमाङ, मगर, माझी, दलित, ब्राह्ण–क्षेत्री र पहरी समुदायको बाहुल्यता रहेको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साबिक महेन्द्रझ्याडी, हरिहरपुरगढी, क्यानेश्वर र पीपलमाडी गाविसले ओगटेको भूभाग नै हरिहरपुरगढी गाउँपालिका हो । यस गाउँपालिकाको नामकरण ऐतिहासिक हरिहरपुरगढी दरबारलाई आधार मानी गरिएको छ ।
पूर्वमा मरिण गाउँपालिकाको सीमा क्षेत्र, पश्चिममा मकवानपुर र रौतहट जिल्लाको सीमा क्षेत्र, उत्तरमा काभ्रे जिल्ला र दक्षिणमा सर्लाही जिल्लाको सीमा क्षेत्र फैलिएको यस गाउँपालिकाको कुल भौगोलिक क्षेत्रफल ३४३.९ वर्गकिलोमिटर छ ।
हरिहरपुरगढी गाउँपालिकावासीले विश्वास गरेर मलाई अध्यक्षमा जिताउनुभयो, सुरुमा सबै गाउँपालिकावासीलाई धन्यवाद दिन चाहन्छु । आगामी पाँच वर्षसम्म गाउँपालिकावासीको निरन्तर सहयोग पाउनेमा म विश्वस्त छु । पाँच वर्षमा गाउँपालिकामा आमूल परिवर्तनको आभास दिलाउनेछु ।
हामीले शिक्षाको क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेका छौँ । शैक्षिक सुधारका लागि शिक्षामा ठूलो बजेट विनियोजन गरेका छौँ । गाउँपालिकाभित्र दुईवटा आवासीय विद्यालय निर्माण हुँदैछ । अब छिट्टै नै गाउँपालिकामा आवासीय विद्यालय बनाउनेछौँ । छात्र र छात्रा छुट्टाछुट्टै बस्ने गरी विद्यालयमा आवास गृह बन्नेछ । शिक्षकलाई प्रोत्साहन गर्नका लागि पुरस्कृत गर्नेछौँ । गाउँपालिकाभित्र पाँच वर्षको अवधिमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएको हुनेछ । साँच्चिकै स्थानीय सरकार आएपछि शिक्षा क्षेत्रमा परिवर्तन भयो भन्ने हुनेछ ।
दोस्रो प्राथमिकतामा हामीले जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको विद्युत्लाई राखेका छौँ । गाउँपालिकाभित्र अँध्यारोमा बसेका नागरिकको घरमा उज्यालो बनाउने प्रयास गरिरहेका छौँ । पाँच वर्षभित्र गाउँपालिकाको प्रत्येक घरमा बिजुली बत्ती पुर्‍याउने लक्ष्यअनुरूप अगाडि बढेका छौँ ।
जिल्लाका नौवटा पालिकामध्ये विद्युतीकरणमा हरिहरपुरगढी गाउँपालिका पछाडि परेको छ । उक्त पालिकामा विश्व बैंकको सहयोगमा विद्युतीकरण कार्य भई केही बस्तीमा मात्रै बिजुली बत्ती बलेको भए पनि पालिकाका आठवटै वडाका सबै बस्तीमा पुगेको छैन ।
निर्वाचनको बेला जनतासँग भोट माग्ने क्रममा घोषणापत्रमा धेरै विषय उल्लेख गरेका गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउने, गाउँपालिकाभित्रका विद्यालयलाई आवासीय बनाई नमुना बनाउने, शिक्षामा प्रगति, मदन भण्डारी राजमार्गले नछोएका आठवटै वडाका शाखा सडकलाई स्तरोन्नति गरी दिगोपना गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै ‘एक घर, एक रोजगार’ सिर्जना गर्ने प्रतिबद्धता गरेका छौँ ।
कृषि, शिक्षा, स्वास्थ्य र सडकलगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र गाउँपालिकाको आम्दानीको स्रोत बढाउनका लागि पर्यटक भिœयाउन नयाँ योजना बनाएको छु । पर्यटक भिœयाउन हरिहरपुरगढी दरबार मर्मतका लागि यो वर्ष गाउँपालिकाले ३१ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ ।
पहिले मदन भण्डारी राजमार्गबाट हरिहरपुरगढीसम्म पुग्ने सडक निर्माणलाई दिगोपना दिइनेछ । हरिहरपुरगढी दरबार मर्मत गर्न पहिले पनि केही काम भएको थियो, त्यो काम पर्याप्त भएको छैन । पालिकाभित्र विभिन्न मठमन्दिर र गुम्बा निर्माण गरिनेछ । क्यानेश्वरमा मानवनिर्मित ताल निर्माण गर्ने, पर्यटन भिœयाउन ठाउँ–ठाउँमा होमस्टे निर्माण गरिनेछ ।
पालिकाबाट अहिले पनि ठूलो संख्यामा युवा रोजगारीको खोजीमा विदेश गइरहेकाले उनीहरूलाई गाउँमै रोक्ने योजना गाउँपालिकाको छ । त्यसका लागि कृषिलाई आधुनिकीकरण गर्दै लैजाने र एक घर, एक रोजगार अभियान सञ्चालन गरिनेछ । भोट माग्ने बेलामा घरदैलो गर्दा नागरिकको अपेक्षा आफूले धेरै पाएको चर्चा गर्दै उनीहरूको अपेक्षालाई सम्बोधन गर्नेछु ।
कृषि तथा पशुपालन पेसालाई दिगो र भरपर्दो बनाउन कृषि पेसालाई व्यावसायिक र उत्पादनमुखी बनाउने पनि आफ्नो योजना छ । अब छिटै नै गाउँपालिकाका प्रत्येक वडालाई सडक सञ्जालसँग जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्