प्रत्यक्ष वैदेशिक लगानीको आवश्यकता «

प्रत्यक्ष वैदेशिक लगानीको आवश्यकता

नेपालको आर्थिक स्थितिमा विश्लेषण गर्दा लगभग दुई वर्षपछि नेपालको भुक्तानी सन्तुलन घाटामा गएको र व्यापारघाटा अत्यधिक मात्रामा बढेको र विप्रेषणले समेत यसलाई धान्न नसक्ने अवस्था देखिएको छ । यो नेपालको अर्थतन्त्रको लागि शुभसंकेत होइन । कोभिड संकटको बेलामा पनि नेपाली श्रमिकहरूले गर्ने कामको प्रकृतिको कारणले र अनौपचारिक क्षेत्रबाट भित्रिने गरेको विप्रेषणको रकम औपचारिक क्षेत्रबाट भित्रिन थालेपछि जुन रूपमा विप्रेषण प्रवाहको दर घट्ने आशंका गरिएको थियो, त्यो हुन पाएन । यो अवस्थामा अब नेपालले तत्काल पर्यटन उद्योगबाट यो असन्तुलनलाई कम गर्न सक्ने अवस्था देखिँदैन र प्रत्यक्ष वैदेशिक लगानी नै यो अवस्थालाई सुधार गर्ने एउटा उपायका रूपमा लिन सकिन्छ, जुन त्यति सहज भएको देखिँदैन ।
विश्वमा प्रत्यक्ष लगानी भिœयाउने दोस्रो ठूलो देश चीन र पाँचांै ठूलो देश भारतको बीचमा हामी रहेका छौं र आर्थिक सूचकहरूमा विश्वको १२ वटा उदीयमान देशहरूमध्ये एउटा बंगलादेश पनि हाम्रै नजिकमा रहेको छ । यो लगानीको कुरा गर्दा अर्थव्यवस्थाको चारवटा अवयवहरू (निजी क्षेत्रको उपभोग खर्च, व्यावसायिक लगानी, सरकारी खर्च र शुद्ध वैदेशिक निर्यात) भूमिकाको आधारमा हेर्नुपर्ने हुन्छ । सन् १९९० पछि आएको भूमण्डलीकरण, सूचना प्रविधिमा आएको क्रान्तिकारी परिवर्तन, नयाँ–नयाँ बहुराष्ट्रिय कम्पनीहरूको उदय, धेरै देशद्वारा उदार अर्थनीतिको अवलम्बन र लगानी र व्यापारमा जुन बढोत्तरी आएको छ, त्यसले प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्न निकै मद्दत पुर्‍याएको छ ।
दक्षिण–पूर्वी एसियाको आर्थिक वृद्धिमा प्रत्यक्ष वैदेशिक लगानीले महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । अहिले पनि भियतनामको आर्थिक उन्नतिमा यसले महŒवपूर्ण भूमिका खेलिरहेको छ । सन् १९८० को दशकमा वैदेशिक लगानीबाट आफ्नो आर्थिक वृद्धि अगाडि बढाएको चीनले अहिले आएर आफूले एसिया र अफ्रिकाका विभिन्न देशमा लगानी गर्न थालेको पाइन्छ । भियतनामको अहिलेको आर्थिक प्रगतिमा प्रत्यक्ष वैदेशिक लगानीले महŒवपूर्ण भूमिका खेलेका पाइन्छ । रूसबाट सन् १९९० पछि टुक्रिएर गएका केही देशहरूले पनि प्रत्यक्ष वैदेशिक लगानीका आधारमा आफ्नो अर्थव्यवस्था उकास्न सफल भएका छन् ।
सामान्यतया हिस्सेदारको हितलाई बचाव गर्न सक्ने, कम भ्रष्टाचार भएको र राम्रो न्याय व्यवस्था र राम्रो वित्तीय कानुनी व्यवस्था र देशको संस्थागत आयकरको व्यवस्था, डुइङ बिजनेस सूचकहरू, प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय मानांक संस्थाहरू भएको देशहरूमा बढी लगानी भित्रिने गरेका छन् । यसका साथै कुनै पनि देशमा व्यवसाय सञ्चालन गर्न लाग्ने लागतको कारणले पनि वैदेशिक लगानीको मात्रालाई असर गरेको हुन्छ । उच्च व्यवसाय लागत, भ्रष्टाचार, लगानीको उच्च जोखिम र द्वन्द्वको कारणले जिम्बावेलाई वैदेशिक लगानी आकर्षण नहुने देशका रूपमा गनिएको छ । वैदेशिक लगानी भित्रिएपछि त्यो देशको कुल गार्हस्थ्य उत्पादनमा लगानीको अनुपात वृद्धि हुन्छ । समष्टि अर्थशास्त्रअन्तर्गत देशको कुल गार्हस्थ्य उत्पादनमा लगानीको अनुपात ३५ प्रतिशतसम्म हुनुलाई राम्रो मानिन्छ । प्रत्यक्ष वैदेशिक लगानी भिœयाउँदा पनि अब देशहरू छनोटपूर्ण हुनुपर्ने भएको छ । सामान्यतया नयाँ पत्ता लागेको खानी, घरजग्गाको कारोबार आदिमा आएको लगानीलाई राम्रो मानिँदैन । उद्योग क्षेत्रमा, ज्ञानमा आधारित उद्योगहरू सेवा क्षेत्रमा आएका लगानीलाई राम्रो मान्ने गरिएको छ । फ्रान्सका एक जना अर्थशास्त्री लुइस गाभे भन्छन् कि लगानीले अन्त्यमा के छोडेर जान्छ, त्यसको आधारमा लगानीको उपयुक्तताको बारेमा विचार गर्नुपर्ने हुन्छ । उसको हिसाबले वस्तु उत्पादन गर्ने उद्योग, प्रविधि तथा आधारशिलाहरूमा आएको लगानीलाई उपयुक्त मान्नुपर्ने हुन्छ । तेल र घरजग्गा कारोबारमा आउने लगानीले पछिसम्म समस्या छोड्न सक्छ । कुनै पनि वैदेशिक लगानीले त्यो देशको वस्तु तथा सेवा निर्यात गर्ने क्षमताको दिगो रूपमा विस्तार गर्न सकेमा त्यस्तो लगानीलाई उपयुक्त मान्ने गरिन्छ । यसले देशको कुल गार्हस्थ्य उत्पादन वृद्धि मात्रै होइन कि जनताको रोजगारी र आम्दानी वृद्धिमा पनि ठूलो भूमिका खेल्छ ।
संयुक्त राष्ट्रसंघको व्यापार सम्मेलन र विकास नामक संस्था अंकटाडका अनुसार सन् २०२१ मा विश्वमा उदीयमान अर्थतन्त्र भएका देशहरूमा करिब ८ सय अर्ब डलरबराबरको प्रत्यक्ष वैदेशिक लगानी भएको र त्यसमध्ये चीनमा १ सय १२ अर्ब डलर र भारतमा मात्र ८२ अर्बबराबरको लगानी भएको पाइन्छ । भारतले त यो वर्ष १ सय अर्ब डलरबराबरको प्रत्यक्ष वैदेशिक लगानी भिœयाउने भनेर आफ्नो सरकारी कार्यक्रम नै घाषणा गरिसकेको अबस्था छ । अरू क्षेत्रजस्तै कोभिड–१९ को संक्रमण र रूसले युक्रेनमाथि गरेको आक्रमणको कारणले यो क्षेत्र पनि प्रभावित नभई बस्न सकेन । अमेरिका र चीनबीचको व्यापार द्वन्द्व र चीनमा प्रतिव्यक्ति आम्दानी बढेका कारणले ज्यालादरमा भएको वृद्धिले आफ्नो उत्पादन लागत घटाउन धेरै बहुराष्ट्रिय कम्पनीहरूले चीनबाट आफ्नो कारखाना अन्यत्र सार्न खोजेको थियो र यसमा भारत, मलेसिया कम्बोडिया र भियतनामजस्ता देशहरूले त्यस्ता कम्पनीहरूलाई आफ्नो देशमा भिœयाउन प्रतिस्पर्धा नै गरेको पाइन्छ । जापानले त चीनबाट आफ्नो कारखाना स्थल सार्ने बहुराष्ट्रिय कम्पनीहरूलाई अनुदान दिने प्रस्ताव पनि राखेका थियो । मलेसिया, भियतनामजस्ता देशहरूले जति मात्रामा यस्ता कम्पनीहरू भिœयाउन सफल भएको थियो, भारत त्यति सफल भएको पाइँदैन । यसले पनि प्रत्यक्ष वैदेशिक लगानीको विश्वव्यापी वितरणमा परिवर्तन आएको पाइन्छ । यति हुँदाहुँदै पनि पर्याप्त पूर्वाधारहरू र अन्य व्यावसायिक वातावरणको कारणले एक सर्वेक्षणअनुसार अझै पनि ९० प्रतिशतभन्दा बढी अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको गन्तव्य स्थल चीन नै रहेको छ ।
विश्व अर्थव्यवस्थालाई केलाउने हो भने हामी न त वस्तुमा आधारित, न त प्रविधिमा आधारित, न त औद्योगिक उत्पादनमा आधारित अर्थव्यवस्थाको रूपमा नेपाललाई लिन सकिन्छ । अझ भौगालिक अवस्थितिको कारणले बंगलादेशले जस्तो तयारी पोसाकबाट लाभ लिन सक्ने अवस्थामा पनि हामी छैनौं । नेपालले सीमित वस्तु पर्यटन र जलविद्युत्लाई आफ्नो तुलनात्मक र प्रतिस्पर्धात्मक लाभको क्षेत्र मानी प्रत्यक्ष वैदेशिक लगानी आकर्षण गर्नेतर्फ पाइला अगाडि बढाउनुपर्ने देखिन्छ । धेरै वर्षसम्म पनि हामीकहाँ आउने लगानीको मात्रा र बनोटमा खासै परिवर्तन आएको पाइँदैन । जबसम्म राजनीतिक स्थिरताका साथ सरल र पारदर्शी प्रशासनिक प्र्रक्रिया र नयाँ आधारशिलाको निर्माण र भइरहेका आधारशिलाहरूमा ताŒिवक सुधार आउँदैन तबसम्म प्र्रत्यक्ष वैदेशिक लगानीमा छलाड मार्न सक्ने अवस्था देखिँदैन । यसका लागि दूरदर्शी राजनीतिक नेतृत्वको आवश्यकता पर्ने कुरा हाम्र्रै जस्तो अर्थव्यवस्था भएका देशहरूले देखाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्