हाम्रो प्राथमिकता युवा तथा पूर्वाधार विकास लक्षित कार्यक्रम नै हो «

हाम्रो प्राथमिकता युवा तथा पूर्वाधार विकास लक्षित कार्यक्रम नै हो

तेह्रथुम जिल्लाका ६ पालिकामध्ये आठराई गाउँपालिका एक हो । संक्रान्ति बजार, ह्वाकु, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ र खाम्लालुङ गाविस समेटेर आठराई गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको छुट्टै महŒव रहेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिको बासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् । यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैंची यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दु रहेको छ । नेपालमै प्रसिद्धि पाएको ढाकाटोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी, लिम्बूहरूको धान नाच, तामाङहरूको तामाङ सेलो, बालुन नाच, ब्राह्मणले बजाउने नौमती बाजा यस क्षेत्रलाई चिनाउने प्रमुख विशेषता हुन् । दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएपछि यस गाउँपालिकाले पनि आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम गाउँसभामार्फत ल्याएको छ । गाउँपालिकाले यस वर्ष विशेषगरी युवा लक्षित कार्यक्रम तथा विभिन्न योजनालाई प्राथमिकतामा राख्दैै बजेट ल्याएको जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको यो गाउँपालिकाले भौतिक पूर्वाधार विकासमा निकै फड्को मार्दै गएको छ । मध्यपहाडी लोकमार्गसँग जोडिएको पालिका भएकाले पनि सडक विस्तार तथा निर्माण क्षेत्रमा भने जिल्लाकै अब्बल बन्दै गएको छ । यस्तै समस्या तथा विकासका साथ अघि बढ्दै गरेको आठराई गाउँपालिका, तेह्रथुमका अध्यक्ष दिलकुमार पाहिमसँग कारोबारकर्मी प्रकाश पाक्साँवाले गरेको कुराकानीको सार :

गाउँपालिकाले विशेषगरी कस्ता–कस्ता योजनालाई प्राथमिकतामा राख्दै आएको छ ?
गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । युवाहरूलाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ युवालक्षित कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकामा रहेका युवालाई बिनाधितो बिनाब्याज व्यावसायिक लगानी गर्ने नीति ल्याएको छ । गाउँपालिकाका सबै वडामा १० जनाको समूह बनाई एक वडा एक समूहलाई १० लाख रुपैयाँ लगानी गर्ने नीति ल्याइएको छ । यो कार्यक्रमले गाउँका युवालाई व्यावसायिक बनाउन उत्प्रेरणा दिने भएको छ । गाउँमै केही गरौं भन्ने सोच भएका तर लगानी गर्ने माध्यम नहुँदा भौंतारिरहेका युवालाई यो कार्यक्रमले टेवा पुग्ने भएको छ । यस पालिकाबाट बर्सेनि रोजगारीको खोजीमा दर्जनांै युवा विभिन्न मुलुकमा पुग्दै गरेको बेला हामीले युवालाई गाउँमै व्यावसायिक बनाउन यो कार्यक्रम ल्याएका हांै । गाउँमै कुनै व्यवसाय गरी आम्दानी लिने लक्ष्य र परिवारसँगै व्यवसाय गर्ने युवाहरूलाई यो कार्यक्रमले राहत मिल्ने हामीले विश्वास गरेका छौं । पहिलो स्थानीय निर्वाचनले खासै फड्को मार्न नसकेको यो गाउँपालिकामा दोस्रो स्थानीय निर्वाचनपछि निर्वाचित भएका जनप्रतिनिधिहरूले उपलब्धिमुखी कार्यक्रमहरू पहिलो आर्थिक वर्षदेखि नै ल्याएको बताएका छन् । गाउँपालिकाले लगानी गरेको रकम लगानी भएको तीन वर्षमा ३० प्रतिशत, चार वर्षमा ३० प्रतिशत र पाँचौं वर्षमा ४० प्रतिशतका दरले फिर्ता गर्नुपर्नेछ ।

गाउँपालिकाको सामाजिक सुरक्षा क्षेत्रमा कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
गाउँपालिकाले केन्द्रीय र प्रदेश सरकारले समावेश गर्न नसकेका एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेको छ । ६० वर्षदेखि माथि र ६८ वर्षसम्मका एकल पुरुषहरूलाई गाउँपालिकाले मासिक एक हजार दिने तयारी गरेको छ । यो कार्यक्रमले गाउँपालिकामा रहेका सहाराविहीन तथा आर्थिक रूपमा कमजोर परिवारका एकल पुरुषलाई राहत मिल्ने भएको छ । गाउँपालिका क्षेत्रमा रहेका नागरिकलाई आकस्मिक सेवाका लागि पालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । त्यस्तै पालिकाभित्र मृत्यु भएका नागरिकको हकमा किरिया खर्च १० हजारसहित समवेदना प्रकट गर्ने तयारी गरेका छौं । भौतिक पूर्वाधार क्षेत्रअन्तर्गत बहुजातीय संग्रहालय निर्माण गरिने भएको छ ।

भौतिक पूर्वाधार र सडकलाई कसरी अगाडि सार्नुभएको छ ?
पालिकाले पूर्वाधार विकासलाई गाउँपालिकाको मेरुदण्डका रूपमा लिएका छौं । गाउँपालिकामा रहेका विद्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक भवनहरू मर्मत तथा निर्माणका लागि योजना बनाएका छौं । त्यस्तै सडक निर्माणका लागि रिङरोडको अवधारणा अगाडि सारिएको छ । गाउँपालिकाका वडाहरूमा निर्माण भएका सडकहरूलाई मर्मत तथा विस्तार गर्दै लैजाने भएको छ ।

खेलकुद र महिलाहरूलाई पालिकाले ल्याएको योजनामा कसरी समावेश गर्नुभएको छ ?
खेलकुद क्षेत्रमा गाउँपालिका अध्यक्ष रनिङ कप सञ्चालन गरिने भएको छ । शिक्षा क्षेत्रमा गाउँपालिका क्षेत्रमा रहेको विद्यालयमा भाषा शिक्षकहरूको तलब वृद्धि गर्दै एकरूपता ल्याएको छ । त्यस्तै गाउँपालिकाका सबै विद्यालयमा ई–हाजिरी जडान गरिने भएको छ ।
महिलाहरूलाई व्यावसायिक बनाउन ढाका बुनाइ, सिलाइकटाइ तालिम, उपकरण प्रदान गरिने भएको छ । कृषि क्षेत्रमा विभिन्न वडामा पकेट कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रत्येक वडामा कृषि संकलन केन्द्र तथा कोल्डस्टोर स्थापना गरिने भएको छ । एक वडा एक खेलमैदान निर्माण गरिने नीति ल्याइएको छ ।

खानेपानी तथा कृषि र पशुपालनमा ल्याएका कार्यक्रम कस्ता–कस्ता छन् ?
गाउँपालिकामा खानेपानीको अभाव भएका क्षेत्रहरूमा बृहत् आठराई खानेपानी आयोजना सञ्चालन गरिने भएको छ । सोही आयोजनामार्फत नागरिकलाई खानेपानीको व्यवस्थापन गर्दै लाने तयारी गरिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा उन्नत जातका बोयर बोका वितरण, गोठ सुधार कार्यक्रम, च्याक्टर मेसिन वितरण गरिने भएको छ ।

ब्रेकर :
गाउँपालिकामा रहेका युवालाई बिनाधितो बिनाब्याज व्यावसायिक लगानी गर्ने नीति ल्याएको छ । गाउँपालिकाका सबै वडामा १० जनाको समूह बनाई एक वडा एक समूहलाई १० लाख रुपैयाँ लगानी गर्ने नीति ल्याइएको छ ।

६० वर्षदेखि माथि र ६८ वर्षसम्मका एकल पुरुषहरूलाई गाउँपालिकाले मासिक एक हजार दिने तयारी गरेको छ । यो कार्यक्रमले गाउँपालिकामा रहेका सहाराविहीन तथा आर्थिक रूपमा कमजोर परिवारका एकल पुरुषलाई राहत मिल्ने भएको छ ।

महिलाहरूलाई व्यावसायिक बनाउन ढाका बुनाइ, सिलाइकटाइ तालिम, उपकरण प्रदान गरिने भएको छ । कृषिक्षेत्रमा विभिन्न वडामा पकेट कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्