Logo

सजावटका सामानहरू बनाई निर्यातसमेत गर्न सकेमा यसले विदेशी मुद्रा आर्जन गरी व्यापारघाटा कम गर्दै निर्यात व्यापारमा समेत टेवा पुर्‍याउने देखिन्छ ।

प्लास्टिकका फूलहरूको उत्पादन र आयातमा रोक

घरको बैठक कोठादेखि अफिस रुम, होटल तथा विभिन्न कार्यक्रम समारोहहरूमा सजावटका लागि विभिन्न रङ्गीविरङ्गी फूलका गुच्छाहरूले सजावट गर्ने चलन छ । प्राय: ती सजावटका फूलहरू प्लास्टिकजन्य कच्चा पदार्थहरूबाट बनेको पाइन्छ । हाम्रो संस्कृतिलाई समेत यसले कति आक्रमण गर्दै गयो भने विवाह, व्रतबन्धलगायतका अनेकन् धार्मिक समारोहहरूमा सजावटका लागि प्रयोग हुने तोरण मालाहरूसमेत प्लास्टिकबाट निर्मित हुन थाले । फेरि त्यस्ता सजावटका फूलहरू नेपालको आफ्नो उत्पादन नभई आयातित हुन् । हामीले हाम्रो घर र करेसामा सहजै उपलब्ध हुने फूलहरू र वनस्पतियुक्त बिरुवाहरूलाई यस किसिमको सजावटमा प्रयोगमा ल्याउन सकेका छैनौं । विकसित देशहरूमा इन्डोर प्लान्ट भन्दै विभिन्न जातिप्रजातिका फूल तथा अन्य वनस्पतिका बिरुवाहरू गमलामा हुर्काएको देख्न सकिन्छ । हामी भने सुगन्धहीन आयातित प्लास्टिकका फूलहरूमा रमाइरहेका छौं । जसको प्रयोग न स्वास्थ्यवद्र्धक छ, न त प्रकृतिमैत्री ।
२०७८ साउन १२ गते सरकारले नेपाल राजपत्रमा एक सूचना प्रकाशन गर्दै नेपाल सरकार, वन तथा वातावरण संरक्षण ऐन–२०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री–वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गर्‍यो । नेपालको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्न र आयातित विलासिताका सामानहरूको प्रयोगमा भइरहेको फजुल खर्चलाई नियन्त्रण गर्न पनि यसले ठूलै मद्दत पुग्ने देखिन्छ । नेपाल ट्रेड इन्फर्मेसन पोर्टल (एनटीआईपी) को तथ्यांकअनुसार अघिल्ला आर्थिक वर्षहरूमा उक्त प्लास्टिकजन्य फूलहरूको आयातमा मात्रै करोडौँ रुपैयाँ खर्च भएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा मात्रै करिब साढे नौ करोड रुपैयाँभन्दा बढीको प्लास्टिकजन्य फूलहरूको आयात भएको देखिन्छ ।


सजावटका फूलहरूको उत्पादन र आयातमा प्रतिबन्ध लागेपछि यसले थुप्रै रोजगारीका अवसरहरू सिर्जना गरेको छ । नेपालमै भएका पुष्प व्यवसायीहरूको व्यापार व्यवसायमा वृद्धि हुनुका साथै हाम्रा कोठादेखि चोटासम्म आगामी दिनहरूमा कृत्रिम प्लास्टिकका फूलहरूको बदला प्राकृतिक फूल बिरुवाले स्थान पाउनेछन् ।
हाल नेपालमा मकैको खोस्टाबाट विभिन्न डिजाइनमा सजावटका फूलहरू तयार गर्न थालिएको छ । मकैको राम्रोसित सुकेको खोस्टाबाट बनेका फूलहरू चार–पाँच वर्षसम्म पनि टिक्ने र कलर नजाने आकर्षक किसिमको बन्छ । नेपालमै मकैका खोस्टा (देशका विभिन्न ठाउँमा भुत्ला पनि भन्ने गरिन्छ) बाट सजावटका फूलहरू बन्न थालेपछि खेर जाने प्राकृतिक रेसाजन्य वस्तुहरूको समेत सदुपयोग भएको छ ।

भइरहेका प्रयासहरू
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले यस्ता किसिमका प्राकृतिक रेसाजन्य वस्तुहरूबाट फूल र सजावटका सामग्रीहरू बनाउन स्थानीय स्तरमा विभिन्न समूहहरू बनाई विभिन्न जिल्लाका बेरोजगार जनसमुदायहरूलाई प्रशिक्षण तालिमसमेत दिने गरेको छ । उक्त केन्द्रका प्रमुख शरदविक्रम राणाका अनुसार देशभित्रै निर्यातयोग्य तथा स्थानीय कच्चा पदार्थमा आधारित रेसाजन्य वस्तुहरू (अल्लो, केरा, हेम्प, पटेर, काँस, खोस्टा) लगायत फेल्ट बाट सजावटका सामानहरू उत्पादन हुनुका कारणले गर्दा एकातर्फ निर्यात प्रवद्र्धनमा मद्दत पुग्नुका साथसाथै अर्कातर्फ यस प्रकारका वस्तुहरूको उत्पादन तथा उपभोगका कारण आयात प्रतिस्थापनमा समेत ठूलो भूमिका खेल्न सकेको बारे उल्लेख गर्नुभयो । साथै आगामी दिनहरूमा तालिमप्राप्त जनशक्तिलाई वस्तुको गुणस्तर, डिजाइन, लेबलिङ र प्याकेजिङमा समेत दक्ष बनाउँदै लैजाने केन्द्रको योजना रहेको बारे उहाँले बताउनुभयो । सोही केन्द्रका उपनिर्देशक शिद्धिचरण दाहालका अनुसार केन्द्रले गत वर्षको स्वीकृत कार्यक्रमअनुरूप विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै ललितुरको गोदावरी, कैलाली, गोरखा लगायत देशका विभिन्न जिल्लामा मकैका खोस्टाबाट तयार गरिने विभिन्न सजावटका सामग्रीहरूको अतिरिक्त जुत्ता, चप्पल, टोपीलगायतका सामानहरू उत्पादन गर्नेसमेतका क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।
आमा हस्तकला उद्योगकी अध्यक्ष तारा थापाका अनुसार उक्त उद्योगले मकैका खोस्टाबाट बन्ने फूलका सजावटका सामानहरू उत्पादन अभिवृद्धि गरी स्वदेश तथा विदेशस्थित बजारहरूमा यसको मागबमोजिम आपूर्ति गर्दै जानेबारे चर्चा गर्नुभयो । अस्ट्रेलिया, अमेरिका, जापानलगायतका देशहरूमा यस किसिमका सजावटका सामग्रीहरूको माग बढ्दै गएको समेत उहाँले बताउनुभयो । उक्त उद्योगले हालसम्म प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूलगायत सामुदायिक विद्यालयहरूमा समेत गरी करिब ४ सय जना जति महिलाहरूलाई तालिम दिइसकेको बताउनुभयो । उद्योगकी अध्यक्षका अनुसार तालिमप्राप्त जनशक्तिहरूले बनाएका सजावटका सामग्रीहरू देशका तारे होटलहरूलगायत विभिन्न संस्थाहरूले समेत प्रयोगमा ल्याउन थालेपछि यस क्षेत्रमा रोजगारीका अवसरहरू पर्याप्त रूपमा सिर्जना हुँदै गएको जानकारीसमेत दिनुभयो ।
युवा महिला उद्यमी देविका बुढाथोकी पनि यस क्षेत्रमा परिचित नाम हो । उहाँले आफंैले देशका विभिन्न ठाउँहरूमा गएर तालिम दिने र तालिम प्राप्त जनशक्तिद्वारा निर्मित सजावटका सामग्रीहरू खरिद गरिदिने गरेको समेत बताउनुभयो । बुढाथोकीका अनुसार डिजाइनमा आकर्षक र फिनिसिङमा निखारता ल्याउन सके हामीले यस्ता प्राकृतिक रेसाजन्य वस्तुबाट निर्मित सजावटका फूललगायतका वस्तुहरू निर्यात गर्न सकिने बताउनुभयो । उहाँका अनुसार चोयाको बास्केट ब्याग बनाएर त्यसमा फूलहरू सजाई मागबमोजिमका विभिन्न डिजाइनमा उपलब्ध गराउन सकिनेसमेत बताउनुभयो ।
यसरी हामीले हाम्रै प्राकृतिक कच्चा पदार्थमा आधारित वस्तुहरूको प्रयोगद्वारा अन्तर्राष्ट्रिय मागबमोजिम सजावटका सामानहरू बनाई निर्यातसमेत गर्न सकेमा यसले विदेशी मुद्रा आर्जन गरी व्यापारघाटा कम गर्दै निर्यात व्यापारमा समेत टेवा पुर्‍याउने देखिन्छ । यस किसिमका वस्तुहरू उत्पादन गर्न र निर्यात प्रवद्र्धन गर्न सरकारी र निजी क्षेत्र दुवैको महŒवपूर्ण भूमिका रहेको हुन्छ । महिला, दलित, पिछडिएका वर्ग र आर्थिक अवस्था कमजोर भएकाहरूलाई यस किसिमका हस्तकलामा आधारित सीपमूलक निर्यातजन्य वस्तुहरूको उत्पादनसम्बन्धी तालिम दिनुका साथै अन्तर्राष्ट्रिय बजारको खोजी गर्न सके उद्यमीहरूको उत्पादन र मनोबल दुवै बढ्ने थियो । — सन्दीप घिमिरे

प्रतिक्रिया दिनुहोस्