विकासका नाममा ग्रामीण क्षेत्रमा जथाभावी सडक निर्माण

विकासका नाममा डडेल्धुराका स्थानीय तहमा आजभोलि धमाधम सडक निर्माण भइरहेको छ । स्थानीय तहमा आएको करिब ६० प्रतिशत बजेट ग्रामीण सडक निर्माणमा खर्च हुने गरेको छ । सडक निर्माणमा मापदण्डसमेत अपनाइएको छैन ।
वडास्तरमा योजना तर्जुमा गर्दा स्थानीय बासिन्दाले सबैभन्दा पहिले सडक निर्माण माग गर्ने भएकाले अहिले ग्रामीण क्षेत्रमा सडक निर्माण हुने क्रम बढेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला भट्टले बताइन् । स्थानीयस्तरमा अन्य विकासभन्दा पनि सबैभन्दा पहिले सडक निर्माणको माग हुने भएकाले सोही अनुसारको बजेट विनियोजन गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष भट्टको भनाइ छ ।
ग्रामीण क्षेत्रका आवश्यक नभएको टोलमा सडक निर्माण गर्दा स्थानीय तहको अधिकांश बजेट सडक निर्माणमा खर्च हुने गरेको छ । जिल्लामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिकामा ग्रामीण सडक निर्माणमा प्रतिस्पर्धा नै चलेको छ । एउटै वडामा एक दर्जनसम्म सडक निर्माण हुन थालेका छन् । एउटा सडक पूर्णरूपमा निर्माण नगर्दै अर्को सडक निर्माण गर्ने गर्दा सडक पनि दिगो नहुने स्थानीय तहको बजेट पनि बढी खर्च हुने गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नै नगरी सडक निर्माण गर्दा कतिपय स्थानमा भू–क्षय, बाढीपहिरो आउँदा भौतिक क्षति बढी हुने गरेको छ । डडेल्धुराका अधिकांश सडकमा वर्षात्को समयमा हिलाम्मे र धुलोका कारण समस्या आएको ग्रामीण भेगका बासिन्दाको गुनासो छ । सडकको वातावरण मूल्यांकन नै नगरी ग्रामीण क्षेत्रमा सडक पु¥याउने होडबाजी नै चलेको छ ।
“ज्यालादारी मजदुर प्रयोग गरी सडक निर्माण गर्दा स्थानीय बासिन्दाको आयस्तरमा वृद्धि हुन सक्थ्यो,” नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले भने, “डोजर प्रयोग गर्दा डोजर साहुले मात्रै आर्थिक लाभ लिने गर्दछ ।” सडक निर्माणको चापलाई मध्यनर गर्दै केही वर्ष यता डडेल्धुरामा हेभी इक्युप्मेन्ट खरिद गर्ने लहर नै चलेको छ । सडक गाउँमा पु¥याउन धेरै समय लाग्ने भएकाले ग्रामीण क्षेत्रमा ठूला औजार प्रयोग गरी चुनावको समयमा गरेका बाचा पूरा गर्न लागेका हुन् ।
हरिश चन्द