सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त «

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

नेकपा एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलविर चौधरीलाई पदबाट बर्खास्त गरिएको छ । नेकपा एकीकृत समाजवादी (एस) बाट राज्यमन्त्री भएका चौधरीलाई एसको प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्री तथा एसका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले पार्टी छोडेर एमाले प्रवेश गरेकाले चौधरीलाई वर्खास्त गरिएको बताए । उनलाई एसले २०७८ चैत २५ गते राज्यमन्त्री बनाएको थियो । एस माओवादीमा बिलय हुने अवस्था आएको भन्दै राज्यमन्त्री चौधरी र प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तारा लामा तामाङ एमालेमा फर्किएका छन् । उनीहरु एमालेमा फर्किएपछि एसको प्रदेश संसदीय दलले उनीहरुलाई प्रदेश सभा सदस्यबाट समेत पदमुक्त गर्ने तयारी गरेको मन्त्री सोडारीले बताए ।
प्रदेश सभामा एसका १४, नेकपा माओवादी केन्द्रका १३ र नेपाली कांग्रेसका १२ जना सदस्य रहेकोमा एसको प्रदेश सभा सदस्य संख्या अब १२ जनामा सीमित रहने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेको ११, राष्ट्रिय जनता पार्टी (राजपा) का १ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ जना प्रदेश सभा सदस्य छन् । एस छोडेर एमालेमा फर्किएका लामा र चौधरी सहितका नेताहरुलाई एमाले अध्यक्ष केपी ओलीले बुधबार महेन्द्रनगरमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्