Logo

गरिब परिवार परिचय पत्र वितरण सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण काम सरकारले योजना बनाएर सुरु गरिसकेको बताएकी छन् ।
महोत्तरीको बर्दिवास नगरपालिका–१२ बाट गरिब परिवार परिचय पत्र वितरण कार्यको बुधबार सुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका दुई लाख २३ हजार ३ सय ३० घरपरिवारलाई परिचय पत्र वितरण गर्ने कार्यको सुरुवात गरेको बताइन् ।
२३ जिल्लाका २ सय १४ स्थानीय तहबाट ११ लाख आठ हजार ८ सय ३६ घर परिवारको तथ्यांक संकलन भई दुई लाख २३ हजार ३ सय ३० गरिब घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भई परिचय पत्र वितरणको कार्य सुभारम्भ गरिएको हो । मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवनयापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर काम गरिरहेको पनि दाबी गरिन् ।
उनले पहिचान गरिएका गरिब परिवारलाई विपन्न घरपरिवार लक्षित सेवा सुविधामा आबद्ध गर्ने विषय यस वर्षको नीति तथा कार्यक्रममा पनि राखेको जानकारी दिँदै मन्त्री श्रेष्ठले स्वेदशमा नै रोजगारी सिर्जना गरेर आफ्नै खुट्टामा उभिने र कोही पनि नागरिकले विदेश जान नपर्ने गरी काम गर्न योजनाबद्ध रूपमा सरकार अगाडि बढेको बताइन् ।
उनले भूमिको उचित प्रयोगका लागि भू–उपयोग नियमावली कार्यान्वयनमा ल्याइएको भन्दै भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडि बढिसकेको बताइन् ।
बुधबार नै बाराको सिम्रौनगढमा स्थापना गरिएको मालपोत कार्यालयको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अहिलेको सरकारले नागरिकले महसुस गर्ने गरी सेवा दिन सुरु गरिसकेको बताइन् ।
मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न नागरिक पनि सचेत बन्नुपर्ने भन्दै मन्त्रालयले जग्गा प्रशासनमा सुशासन स्थापनाका लागि प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर अगाडि बढाएको बताइन् ।
उनले नापी र मालपोत कार्यालय सिधै जनतासँग जोडिने कार्यालय भएकाले थप चारवटा नापी र मालपोत कर्यालय स्थापना गर्ने निर्णय भई दुईवटा स्थापना गरिसकेको र दुईवटा निकट भविष्यमा नै गर्ने जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले आफू मन्त्रालयमा आइसकेपछि गाउँब्लकमा पुन: नापी र विशेष नापीबाट ५० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरिसकेको दाबी गरिन् । भूमिसँग जोडिएका सवै खालका समस्या आगामी दुई वर्षभित्र समाधान गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले यही आर्थिक वर्षभित्र तीन सय पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्