चट्याङले दुईको मृत्यु ९ घाइते «

चट्याङले दुईको मृत्यु ९ घाइते

गाउँलाई तीजको रौनकले छोपेको थियो । व्रत बसेको गाउँका महिलाहरू गाउँनजिकैको सालडाँडामा जम्मा भएर दिनको नाचगान गरेर तीजको उल्लास बाँडेका थिए । नाचगान चल्दाचल्दै पानी परेपछि जम्मा भएका दिदीबहिनी साँझ गाउँमा जम्मा भएर नाँच्ने सल्लाहमा फाटेका थिए । तर, त्यो साँझ गाउँका महिलाले उल्लास बाँडनै पाएनन् । क्षणभर मै गाउँ शोकमा परिणत भयो । मंगलबार साँझ घोराही उपमहानगरपालिका–१२ गुरौंगाउँका महिलाहरू दिउँसोको नाचगान सकेर घरतिर फर्किंदै गर्दा नयाँ बस्ती नजिकमा परेको चट्याङले दुई जनाको ज्यान गएको छ । चट्याङले दुई जना किशोरीको मृत्यु भएपछि गाउँ नै शोकमा छ ।
घटनामा थप ९ जना महिला घाइतेसमेत भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमका अनुसार चट्याङले दुई जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गुरौगाउँका १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मनिसा शाह छन् । घटनामा परेर अचेत भएका दुवै जनाको केही सयमपछि ज्यान गएको थियो । घटनामा थप ९ जना महिला घाइते भएका छन् । मृतक शाह विवाहित हुन् । उनी तीज मनाउन माइत आएकी थिइन् । उनको गत वर्ष गाउँदेखि झन्डै एक घण्टा समय लाग्ने खरिबोट गाउँमा विवाह भएको थियो । अर्की मृतक घर्तीले यसै वर्ष एसईई पास गरेर उच्च शिक्षाको तयारीमा थिइन् । चट्याङमा परेर गाउँका १५ वर्षीया निरुता शाह, १५ वर्षीया जयन्ती घर्तीमगर, १६ वर्षीया मायुसरी थापा, ३८ वर्षीया यमकुमारी शाह, १४ वर्षीया अन्जना घर्र्ती, ३८ वर्षीया बेलकुमारी घर्ती, ४२ वर्षीया मनकुमारी वली, १५ वर्षीया सावित्रा वली र ४ वर्षीया जेनिशा शाह छन् । घटना स्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले घाइतेलाई डोकोमा राखेर उपचारका लागि घोराही ल्याइएको प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक गौतमले बताए ।
‘पहाडको ठाउँ भएकाले अप्ठ्यारो भूगोल छ । सञ्चारको पनि सुविधा छैन’,प्रवक्ता गौतमले भने, ‘त्यसैले घाइतेलाई मानिसले डोकोमा राखेर ४ घण्टा बोकेर हापुरसम्म ल्याउनु परेको थियो ।’ उनका अनुसार घाइतेहरूको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्त गरेपछि वडा अध्यक्ष दोर्ण बहकरी विहानै घटना भएको गाउँमा पुगेका थिए । ‘घटना मंगलवार बेलुकी करिब ६ बजे तिरको हो । पानी परेको र फोन सम्पर्क नभएपछि ढिला गरी आफूलाई जानकारी आएको थियो ।’ उनले भने ‘ हामी विहान मात्र घटना स्थल पुगेका छौं ।’ गाउँमा पुग्नको लागि पैदल ३ घण्टा धेरै सयम लाग्छ । घटना भएपछि सबै रुवाबासी चल्यो, पानी ठूलो परेकाले खबर गर्ने अवस्था पनि मिलेन छ ।
खबर आउनासाथ प्रहरीलाई खबर गरेर साढे ३ घण्टा पैदल हिँडेर घटना स्थल आइपुगेका हौँ,’ वडाअध्यक्ष बहकरीले भने ‘ गाउँ पूरै शोकमा छ ।’ घटनामा घाईते भएकाहरूलाई डोकोमा बोकेर साढे ३ घण्टापछि तल बाटोमा पुयाएको उनले बताए । तल बाटोमा ल्याइएका घाइतेलाई घोराहीबाट २ वटा एम्बुलेन्सले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका थिए । घटना भएपछि गुरौं गाउँ अहिले शोकमा डुबेको छ । रोल्पा र दाङको सीमा क्षेत्रमा पर्ने गुरौँ गाउँ बिकट भएकाले आधारभूत सेवा सुविधा पाउन निकै कठिन रहेको छ । यो गाउँमा झन्डै ७० भन्दा धेरै घरधुरी छन् । यो गाउँमा अझैसम्म गाडी चल्ने सडक छैन । सञ्चार अन्य सुविधा समेत पुगेका छैन । बजार आउनको लागि पैदल आउनु पर्ने बाध्यता छ । चैत बैशाखमा गाउँनजिकसम्म सवारी साधन आउने बाटो भएपनि वर्षासँगै त्यो बाटो भत्केपछि गाउँ पूरै सडक सञ्जालदेखि बिच्छेद नै छ । वाटो नपुगेपछि गाउँमा विरामी भएपछि डोकोमा बोकेर अस्पताल ल्याउनुपर्ने बाध्यता छ । गुरौं गाउँ उपमहानगरपालिका भित्रको दुर्गम, विकट पहाडी गाउँ हो ।

प्रतिक्रिया दिनुहोस्