सहकारीमा सर्वसाधारणको साढे ३ खर्ब बचत «

सहकारीमा सर्वसाधारणको साढे ३ खर्ब बचत

देशभर सञ्चालनमा रहेका सहकारी संस्थामा सर्वसाधारणको बचत साढे ३ खर्ब रूपैयाँ पुगेको छ । सहकारीको संख्यात्मक बृद्धिसँगै यसप्रति सर्वसाधारणको आकर्षणका कारण सहकारीको बचत वृद्धि भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार व्यवस्थापिका संसद्मा सार्वजनिक गरेको आर्थिक वर्ष २०७४-७५ को आर्थिक सर्वेक्षणमा चालू आको फागुनसम्ममा सहकारी संस्थाको ३ खर्ब ४५ अर्ब ५९ करोड बचत संकलन भएको उल्लेख छ । अघिल्लो आवको यसै अवधिमा सहकारीमा ३ खर्ब २३ अर्ब बचत रहेकोमा एक वर्षको अवधिमा २२ अर्व थपिएको जनाइएको छ ।
सहकारीमा बचत वृद्धिसँगै सहकारी संस्थाको ऋण लगानी पनि बढेको छ । सहकारीहरूले अघिल्लो आवको फागुनसम्ममा ३ खर्ब लगानी गरेकोमा ३ खर्ब ३२ अर्ब ऋण लगानी गरेका छन् । एक वर्षको अवधिमा सहकारी संस्थाको संख्या भने २ सय २५ मात्र थपिएको छ । अघिल्लो आर्थिक वर्षसम्ममा ३४ हजार ५१२ सहकारी संस्था दर्ता भएकोमा चालू आवको फागुनसम्ममा ३४ हजार ७३७ पुगेको छ । संविधानको व्यवस्थाअनुसार सरकारले सहकारीको दर्ता स्थानीय तहसम्म हस्तान्तरण गरेको छ । स्थानीय तहहरूले सहकारीका लागि आवश्यक कानुन र पूर्वाधार निर्माण गरिनसकेकाले सहकारीको दर्ता पनि सुरु हुन सकेको छैन ।
यसैगरी सहकारीमा आवद्ध सर्वसाधारणको संख्या ६५ लाख १२ हजार ३४० पुगेको छ । यसैगरी सहकारीबाट ६३ हजार प्रत्यक्ष रोजगारी सिर्जना भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्