पश्चिम सेती र सेती नदी–६ को बिजुली भारतको पावर ट्रेडिङले किन्ने «

पश्चिम सेती र सेती नदी–६ को बिजुली भारतको पावर ट्रेडिङले किन्ने

पश्चिम सेती र सेती नदी–६ बाट विद्युत उत्पादन गर्ने जिम्मेवारी लिएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पीटीसी इन्डियासँग विद्युत बिक्रीका लागि सम्झौता गरेको छ । एनएचपीसी लिमिटेडले मंगलबार दुवै जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि सम्झौता गरेको विज्ञपितमार्फत जानकारी दिएको छ ।
यसअघि एनएचपीसीले पश्चिम सेती र सेती नदी–६ मा लगानीका लागि लगानी बोर्डसँग सम्झौता गरिसकेको छ । सम्झौतामा लगानी बोर्डले यी दुवै आयोजनाबाट उत्पादित कुल बिजुलीबाट २१.९ प्रतिशत बिजुली नेपालले नि:शुल्क पाउनुपर्ने माग गरेको छ । लगानी बोर्ड र एनएचपीसीबीच भएको सम्झौतामा सर्वेक्षण अनुमति लिनुभन्दा अघि परियोजनाका विषयमा विगतमा अध्ययन गर्दा लागेको ३२ करोड २९ लाख र सर्वेक्षण अनुमति शुल्क १ करोड १० लाख रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।
पश्चिम सेतीको अनुमति लिन ६० लाख रुपैयाँ र सेती नदी–६ को सर्वेक्षण अनुमतिका लागि ५० लाख रुपैयाँ राजस्व बुझाउनुपर्नेछ । त्यसैगरी पश्चिम सेती आयोजनामा कुल १ खर्ब ६८ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । जसमध्ये ०.५ प्रतिशत अर्थात् ८४ करोड ९ लाख रुपैयाँ धरौटीबापत बैंक ग्यारेन्टी दिनुपर्नेछ ।
त्यसैगरी सेती नदी–६ को कुल अनुमानित लागत १ खर्ब १ अर्ब रुपैयाँको ०.५ प्रतिशत अर्थात् ५० करोड ९६ लााख रुपैयाँ बैंक ग्यारेन्टी तोकिएको छ । २ भदौमा बोर्ड र एनएचपीसीबीच प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । पश्चिम सेती परियोजना सुदूरपश्चिमको डोटी, बैतडी, डडेल्धुरा र बझाङमा निर्माण हुनेछ । सुरुमा १ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनालाई हाल २ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ ।
सेती नदी–६ पश्चिम सेती जलविद्युत परियोजनाभन्दा तल्लो तटीय क्षेत्र (डोटी र अछाम) मा अवस्थित हुने गरी पहिचान भएको जलाशययुक्त आयोजना हो । यसको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन तयार भइसकेको छ भने ७० अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्