Logo

३४ देशका १६७ आरोहीले लिए अनुमति

शरद ऋतुको आरोहण

यस वर्षको शरद ऋतु (अटम सिजन)का लागि आरोहण अनुमति लिने क्रम सुरु भएको छ । पर्यटन विभागका अनुसार अटम सिजनमा ६ हिमाल आरोहणका लागि बुधबारसम्ममा १ सय ६७ जनाले आरोहण अनुमति लिएका छन् ।
१९ समूहका १ सय ३२ पुरुष र ३५ जना महिलाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका हुन् । धौलागिरी (८,१६७ मिटर)का लागि ५, हिम्लुङ हिमाल (७,१२६ मिटर)का लागि ३ जना, मनास्लु (८,१६३ मिटर)का लागि १ सय ४८ जना, सगरमाथा (८,८४८.८६ मिटर)का लागि ५ जना, सैवुङ (६,३४६ मिटर)को लागि १ जना र नुप्त्से (७,८५५ मिटर)का लागि ५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । यसबाट रोयल्टीबापत २ करोड १३ लाख ३४ हजार रुपैयाँ जम्मा भएको विभागले जनाएको छ ।
यो सिजनमा रोयल्टी आधामात्रै हुने भएकाले विदेशी आरोहीको आरोहणमा आकर्षण बढेको विभागका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । उनले भने, “यो सिजनमा मनास्लु हिमालको आरोहण अनुमति लिनेको संख्या विगत वर्षभन्दा बढी हुने देखिन्छ । मनास्लु हिमालको आरोहणका लागि विदेशी आरोहीको यो सिजनमा आकर्षण रहेको छ ।” आरोहण अनुमति लिने सबै विदेशी नागरिक भएको कोइरालाको भनाइ छ । जसमा अमेरिकी नागरिक ३३, अर्जेन्टिनाका १६, स्पेनका १२, जर्मनीका ११, चीनका ११, भारतका ११ जना छन् । शरद ऋतुमा सगरमाथा आरोहणका लागि ५ हजार ५ सय अमेरिकी डलर रोयल्टी बुझाउनुपर्छ भने वसन्तयाममा ११ हजार तिर्नुपर्छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ । आरोहणका लागि १ देखि बढीमा १५ जनाको सम्म समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।
वसन्तयाममा भने ६ हजार मिटरदेखि माथिका ४७ हिमालको ११ सय २० जनाले आरोहण पूरा गरेका थिए । ती हिमालको आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्