बेरोजगार तथ्यांक संकलन अलपत्र «

बेरोजगार तथ्यांक संकलन अलपत्र

१ नगरपालिकासहित ८ वटा गाउँपालिका रहेको ताप्लेजुङमा दुईवटा स्थानीय तहमा मात्र रोजगार संयोजक छन् ।

पूर्वी पहाडी जिल्लाका अधिकाँश जिल्लामा रोजगार संयोजक अभावमा कार्यक्रम तथा बजेट कार्यान्वयनमा समस्या देखिएको छ ।
यहाँका स्थानीय तहमा न त रोजगार सेवा केन्द्रको छुट्टै कार्यालय (शाखा) छ, न त रोजगार संयोजक नै । रोजगार संयोजक भएका स्थानीय तहमा समेत कति बेरोजगारले आवेदन भरे भन्ने यकिन तथ्यांक छैन । १ नगरपालिकासहित ८ वटा गाउँपालिका रहेको यहाँ दुईवटा स्थानीय तहमा मात्र रोजगार संयोजक छन् । रोजगार संयोजक भएका फुङलिङ नगरपालिका र पाथीभरा–याङवरक गाउँपालिकामा बेरोजगारको प्रारम्भिक तथ्यांकमात्र संकलन भएको छ । उक्त तथ्यांकलाई गाउँपालिका÷नगरपालिकाको सम्बन्धित वडालाई पठाएर पुनः रुजु भएर आएको तथ्यांकलाई नगर तथा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयबाट पारित हुनुपर्ने प्रावधान छ ।
फुङलिङ नगरपालिकाका रोजगार संयोजक राजकुमार बानियाँका अनुसार बेरोजगारको अन्तिम सूची तयार गर्न कम्तीमा जेठ तेस्रोसातासम्म लाग्छ । “कार्यालयमा कामको चाङ छ,” संयोजक बानियाँले भने, “एक्लो छु । मिटिङदेखि टे«निङसम्म भ्याउनुपर्छ । काम गर्नै मुस्किल छ ।” उनका अनुसार फुङलिङ नगरपालिकाका ११ वटा वडाबाट १ हजार ५ सय ८८ जनाले आवेदन भरेको प्रारम्भिक तथ्यांक छ । उता पाथीभरा याङवरक गाउँपालिकाका रोजगार संयोजक इक्साहाङ मेन्याङबोले ६ सय ६५ जनाले फाराम भरेको जानकारी दिए । यद्यपि ६ वटा वडामध्ये ५ नं. वडा चाक्सिबोेटेमा १ जनाले पनि फारम भरेका छैनन् । संयोजक मेन्याङबोका अनुसार दक्ष, अर्धदक्ष र अदक्ष कामदार छनोट गर्न बाँकी नै छ । छनोट भएका बेराजगारलाई कम्तीमा ३ महिना तालिम दिनुपर्ने योजना चालू आवभित्र असम्भव बनेको छ । दुवैजना रोजगार संयोजकका अनुसार बेरोजगारको सूची सफ्टवेयरबाट गर्ने भनिएको थियो । हालसम्म सम्बन्धित मन्त्रलायले रोजगार संयोजकलाई सफ्टवेयरको पासवर्ड र आईडी नै उपलब्ध गराउन सकेको छैन ।

एकातिर बेरोजगारको अन्तिम सूची तयार नहुनु र अर्कोतिर आर्थिक वर्षको समयसीमा साँघुरिदै गएकाले बजेट र कार्यक्रम कार्यान्वयनमा शंका उत्पन्न भएको छ । संयोजक बानियाँले भने, “निर्णय गर्ने समय सुविधा अत्यन्त कम छ । छनोट भएकाको परिचय कार्ड बनाउन र बैंक खाता खोल्नुपर्ने काम पनि बाँकी नै छ ।” पाँचथरको फिदिम नगरपालिकाका रोजगार संयोजक लक्षिमा तामाङका अनुसार चैत मसान्तसम्म १ हजार ३७ जनाले फाराम भरेका छन् । थप गरिएको बैशाख मसान्तसम्मको तथ्यांक वडाबाट आउन बाँकी छ । संयोजक तामाङले भनिन्, “१४ वटा वडामध्ये ६ वटाको मात्रै संकलन भएको छ । अन्तिम सूची प्रकाशन हुन अझै समय लाग्छ ।” प्राप्त बजेटबाट ७० प्रतिशत ज्यालामा, २५ प्रतिशत बाह्य सामग्री खरिद, ४प्रतिशत आयोजना व्यवस्थापन र १ प्रतिशत कन्टिन्जेन्सी हुनेछ । ९ वटा स्थानीय तहमा २ करोड १८ लाख विनियोजन भएको छ । तीमध्ये फुङलिङ नगरपालिकामा ३५ लाख, पाथीभरा–याङवरक गाउँपालिकामा २४ लाख, आठराई त्रिवेणी गाउँपालिकामा २४ लाख, फक्ताङलुङ गाउँपालिकामा २३ लाख, मिक्वाखोला गाउँपालिकामा २१ लाख, मेरिङदेन गाउँपालिमा २३ लाख, मैवाखोला गाउँपालिकामा २१ लाख, सिदिङवा गाउँपालिकामा २२ लाख र सिरिजङ्घा गाउँपालिकामा २५ लाख विनियोजन भएको छ । उता पाँचथरमा १ करोड ८२ लाख विनियोजन भएको छ । सबैभन्दा बढी फिदिम नगरपालिकामा ३४ लाख र कम तुम्वेवा गाउँपालिकामा १८ लाख विनियोजन भएको छ । तेह्रथुमका ६ वटा स्थानीय तहमा १ करोड ३१ लाख विनियोजन भएको छ । तीमध्ये सबैभन्दा बढी म्याङलुङ नगरपालिकामा २३ लाख र कम मेन्छयायेम गाउँपालिकामा १८ लाख विनियोजन गरिएको छ ।

कार्यविधिको परिच्छेद ३ अन्तर्गत ८ को (१)अनुसार आयोजना छनोट गर्दा स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएको आयोजनाहरुको सूचीबाट छनोट गर्नुपर्ने उल्लेख गरिएको छ । भौगोलिक विकटता, गरिबीको स्तर, विकास निर्माणका अन्य क्रियाकलापको अवस्था, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, बेरोजगारहरूको संख्या र गाउँ÷नगर कार्यपालिकाले प्राथमिकीकरण गरेको क्षेत्रमा परिचालन गर्नुपर्ने प्रावधान छ । प्राथमिकीकरणमा परेका आयोजनाअन्तर्गत सडक निर्माण तथा मर्मत, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन तथा जलाधार, पर्यटन र स्थानीय आवश्यकता अनुसारका अन्य श्रमप्रधान आयोजना तोकिएका छन् ।
सरकारले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७६ वैशाख २२ गते पारित गरेको छ । स्थानीय तहमा सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउन एवं सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले कार्यविधि लागू गर्ने उल्लेख गरिएको छ ।

देवराज गुरुङ

प्रतिक्रिया दिनुहोस्