Logo

जलस्रोत व्यवस्थापन सहकार्यमा नेपाल–अष्ट्रेलिया समझदारी

अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाको क्यानबेरामा मंगलबार सम्पन्न भएको छ ।
बैठकको अवसरमा अष्ट्रेलियाली परराष्ट्र मन्त्रालयका सचिव जान एडम्स र नेपाल सरकारका जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनेशकुमार घिमिरेले अष्ट्रेलिया–नेपाल जलस्रोत व्यवस्थापन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रअनुसार अष्ट्रेलियाले तालिम, प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय रूपमा प्रख्यात जलस्रोत शासन विज्ञतामा सहकार्य गर्नेछ । यसले हाल अष्ट्रेलियाले अन्तर्राष्ट्रिय एकीकृत पर्तवीय विकास केन्द्र (ईसिमोड) संँग गरिरहेको नेपाल सरकारको दिगो पुनरुत्थान, वृद्धि र रोजगारी प्रवर्धनका लागि हरित, पुनरुत्थानशील र समावेशी विकास (ग्रिड) तर्फको प्रस्थान लक्ष्य अनुरुप, सीमापार जलाधार क्षेत्र ब्यवस्थापन, जलवायु कृयाकलापको स्थानीयकरण, हरित जीविकोपार्जन प्रवद्र्धन कार्यलाई पनि सघाउने छ ।
द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाका तर्फबाट जियोस्ट्रेटेजिक ग्रुप का डेपुटी सेक्रेटरी जस्टिन हेहर्श्ट र नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको सह–अध्यक्ष्यतामा सञ्चालन भएको थियो ।
बैठकमा दुवै पक्षले जलवायु परिवर्तन र ऊर्जा चुनौतीहरू र शून्य–उत्सर्जन लक्ष्य प्राप्ति गर्नुपर्ने आवश्यकताको चर्चा गरे । साथै नेपालका विकासका प्राथमिकता र भविष्यको सहयोगका विषयमा छलफल भयो । नयाँ सहयोग कार्यक्रम अन्तर्गत डढेंलो व्यवस्थापन, खोजी तथा उद्दार कार्यलगायतमा अष्ट्रेलियाको ज्ञान तथा विशेषज्ञता आदान प्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।
अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय संयन्त्रको स्थापना वि.सं २०७४ भएको थियो र यसअघिको बैठक वि.सं २०७५ मा काठमाडौमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्