पर्यटकलाई बेलहिया नाकामै स्वागत गर्ने योजना

स्थलनाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई नाकामै फुल गुच्छाले स्वागत गर्ने योजना सिद्धार्थनगरले बनाएको छ ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले बेलहिया नाका हुँदै मुलुकमा भित्रिने पर्यटकलाई गुलाफसहित अन्य फुलगुच्छाले सम्मान गरी स्वागत गर्ने योजना बनाइरहेको बताएका छन् ।
नगर प्रमुख खाँनले अतिथी देव भव: नारालाई अनुशरण गर्दै अगाडी बढ्नु पर्ने र पर्यटकलाई स्थलनाकामै सम्मान गरे उनीहरुले राम्रो सन्देश लिएर जाने भन्दै नाकामा स्वागत गरी स्वदेश भित्र्याउनु पर्ने र नगरपालिका तेसैमा लागेको बताए ।
“मुलुकमा पैसा खर्च गर्नका लागि भारतीय र तेस्रो मुलुकबाट पर्यटकहरु आउँछन् तर हामीले उनीहरुलाई हामीहरुलेसम्मान गर्नुको साटो नाकामै दुव्र्यवहार गर्दछौं, जुन राम्रो होइन” उनले भने, “पर्यटकलाई सम्मान नगरेसम्म मुलुक र हाम्रो नगरले फड्को मार्दैन । हामीले जब पर्यटकहरुलाई नाकामा स्वागत, सम्मान गरेर पर्यटकमैत्री व्यवहार गर्छौँ तब उनीहरुले हाम्रो नगर/मुलुकको प्रचारप्रसार आफ्नो मुलुकमा गएर गर्छन् ।”
उनले आफू पैसा कमाउन नभई नगरको विकास गर्नका लागि आएको भन्दै नगरको विकासमा नगरवासीको साथ र सहयोगको समेत आवश्यकता रहेको बताए । उनले नगरको विकासका लागि थुप्रै योजनाहरु रहेको र केही निर्माणक क्रममा रहको भईरहेको भन्दै वर्षायाम पछि केही योजनाहरु सञ्चालन गरिने बताए ।
बेलहिया नाकाको सौन्दर्यकरणको काम भइरहेको भन्दै आयोजना कार्यालय अन्तर्गत रहेको ६ लेन सडकको निर्माणको ढिलाइले नगरको योजना सञ्चालनमा पनि समस्या उत्पन्न भएको बताए । जसका लागि आफूहरुले सडक निर्माणका लागि पहल गरिरहेको उनले बताए ।
नगरपालिकाको फूलैफूलको शहर, हरियाली, स्वच्छ र सफा शहर, फोहोर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, पार्किङ व्यवस्थापन, व्यवसायिक भवन निर्माण, कारागार स्थानन्तरणलगायतका योजनाहरु छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्रोतसाधानको अभावमा पनि कामहरु भइरहेको भन्दै प्रशासनको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । उनले रात्रिकालिन व्यवसाय संचालनका लागि कार्यविधि अन्तिम चरण पुगेको भन्दै सम्पूर्ण प्रक्रिया पुर्याएर कार्यान्यवन गरिने बताए ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले सुरक्षा विना केही कल्पना नै गर्न नसकिने भन्दै सुरक्षाको विकल्प सुरक्षा नै रहेको भन्दै आफूहरुले सदैव सुरक्षाका लागि तत्पर रहेको बताए । उनले आफ्नो स्थानको विकासका लागि सरोकारवालाले समाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो भूमिकासमेत निर्वाह गर्नुपर्ने बताए ।