Logo

स्टार्टअप बिजनेसका लागि सहकारीबाट सहुलियत ऋण

सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषले स्टार्टअप विजनेशका लागि सहुलियत ऋण सहकारीमार्फत् दिने भएको छ ।
कोषले बिना धितो दिइने सो ऋण प्रवाहका लागि सहकारीहरुलाई कोषको कार्यालयमा आवेदन दिन सूचना प्रकाशित गरेको छ । कोषका कार्यकारी निर्देशक चुडामणी तिमिल्सिनाले आगामी असोजसम्म सहकारीलाई सूचिकृत गरी ऋण प्रवाहका लागि रकम उपलब्ध गराइने बताए । कोषले मंगलबार धनगढीमा आयोजना गरेको ‘कर्जा कार्यविधिको मुख्य व्यवस्था सम्बन्धी सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रम’मा उनले २९ भदौसम्म सहकारीहरुले ऋण लिनका लागि आवेदन दिने समय निर्धारण गरिएको बताए ।
कोषले सहकारीलाई एक करोड ५० हजार रुपैयाँसम्म १ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने छ र सहकारीहरुले व्यवसाय स्टार्टअप गर्न चाहने बेरोजगार युवालाई बढीमा ५ प्रतिशतसम्म व्याजमा ऋण प्रवाह गर्ने छन् । व्यक्तिगत व्यवसाय स्टार्टअप गर्न ५ लाख र सामुहिक व्यवसाय स्टार्टअप गर्न १० लाख रुपैयाँ ऋण दिन सकिने गरी कर्जा कार्यविधि बनाइएको छ ।
कोषका कार्यकारी निर्देशक तिमिल्सिनाले चालु आर्थिक वर्षमा ४ हजार जनालाई ऋण प्रवाह गर्ने र तीमध्ये ५ सय जनालाई व्यावसायिक तालिम दिने लक्ष्य राखिएको बताए । कोषमा प्रदेश सरकारले २०७५/०७६ मा विनियोजन गरेको १ अर्ब रुपैयाँ यस वर्ष कार्यान्वयन गरिने उनले बताए । सहुलिय ऋण पाउनका लागि कोषले १२० प्रकारका व्यवसाय सूचिकृत गरेको छ ।
कर्जा कार्यविधिमा ऋण प्रवाह गर्ने सहकारीको मापदण्ड कर्जाको सीमा निर्धारण गरिएको छ । कोषका अध्यक्ष तथा आर्थिक मामिला मन्त्री प्रकाश रावलले विजनेश स्टार्ट अप गरी सकेपछि थप रोजगार सिर्जना गर्ने आधार प्रस्तुत गरेमा थप ५ लाख रुपैयाँ ऋण उपलब्ध गराउन सकिने व्यवस्था गरिएको बताए । उनले ऋण पाउनका लागि वैदेशिक रोजगारबाट फर्किएका, सीप भएका, बेरोजगार, सीमान्तकृत समुदायका युवालाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्न सक्ने व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्