साउदीबाट मृतक परिवारलाई १७ करोड ३० लाख क्षतिपूर्ति «

एक वर्षमा अलपत्र २ हजार ३५७ श्रमिकको उद्दार

साउदीबाट मृतक परिवारलाई १७ करोड ३० लाख क्षतिपूर्ति

साउदी अरबस्थित नेपाली दूतावासको पहलमा गत आर्थिक वर्षमा त्यहाँ अलपत्र परेको २ हजार ३५७ नेपाली श्रमिकलाई स्वदेश फर्काइएको छ भने १८ मृतकका परिवारलाई १७ करोड क्षतिपूर्ति दिलाइएको छ ।
साउदी अरबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाएका वा नवीकरण नगराएका वा हुरूब लगाइएका मध्ये हालसम्म सो संख्याका नेपाली श्रमिकलाई दूतावासले नेपाल फर्काएको जनाएको छ । यो अवधिमा मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बाँकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनीसहित ५० लाख ९० हजार ९१८ साउदी रियाल अर्थात १७ करोड ३० लाख ९१ हजार रुपैयाँ मृतकको परिवारका नाममा पठाइएको छ ।
साउदीस्थित नेपाली दूतावासले गत आवमा मासिक औषत २०० नेपाली श्रमिकलाई स्वदेश फर्किएको जनाएको छ । वैदेशिक रोजगार विभागले सार्वजानिक गरे पछिल्लो प्रगती विवरणमा समेत साउदी अरबबाट धेरै नेपालीलाई उद्दार गरेको जनाएको छ । विभागले गत आवमा सबै भन्दा बढी साउदी अरबबाट उद्दारका लागि उजुरी आएको जनाएको छ । दूतावासले एक्जिट भिसा अनुमति पाएका श्रमिकले अनुमति पाएको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु पर्ने जनाएको छ ।
रोजगारीका लागि अरब साउदी जाने युवासँग म्यानपावर र एजेण्टले चर्को सेवा शुल्क र सम्झौता विपरित काममा पठाएपछि पल्लिो समय त्यहाँ अलपत्र पर्ने श्रमिकको २ हजार भन्दा बढी पुगेको छ । यसअघि नै साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपाली युवालाई म्यानपावर र एजेण्टले तोकिएको शर्त पालना नगरी काममा पठाएको जनाएको थियो ।
वैदेशिक रोजगार बोर्डमा निर्देशक टिकामणी नेउपानेले रोजगारीका लागि त्यहाँ गएर गत वर्ष अलपत्र गरी उद्दारका लागि बोर्डमा निवेदन दिनेको संख्या उल्लेख्य रहेको जनाएका छन् । पछिल्लो समय साउदी अरब गएका युवाले काम र तलब नपाएको, तोकिए भन्दा बढी पैसा तिरेर गएको जनाउँदै युवाले दुख पाएको गुनासाहरु गरेको वैदेशिक रोजगार विभागले समेत जनाएको छ ।
आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटनाहरू पनि धेरै देखिएका दूतावासको भनाइ छ । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेण्टको भूमिकालाई गैरकानूनी मानेको भएपनि पछिल्लो समय समुह नै बनाएर युवासँग करोडौं असुलेको पाइएको छ । साउदी जाने युवामा ठगीका घटना बढ्न थालेपछि दूतावासले एजेण्टको पछि नलाग्न अनुरोध गर्दै राम्रा म्यानपावर कम्पनीमार्पmत प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । विदेशी श्रमिक लैजान साउदी रोजगारदाताले ठूलो धनराशी खर्च गर्ने भएकाले रोजगारदाताले करार सम्झौता नसकी स्वदेश फर्कन अनुमति दिने गरेका छैनन् । नेपाल सरकारले साउदी अरबमा आउने नेपाली कामदारलाई पद अनुसारको पारिश्रमिकको व्यवस्था गरेको छ । जसअनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधा वापत साउदी रियाल ३ सय तोकिएको छ ।
साउदी दूतावासले गत आवमा दुर्घटनामा परेर वा विविध कारणले निधन भएका २०६ जना नेपालीमध्ये १८० जनाको शव स्वदेश पठाएको थियो । “१८ जनाको साउदी अरबमै अन्तिम संस्कार भएको र ८ जनाको शव पठाउन बाँकी रहेको छ” दूतावासले सार्वजानिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ, “साउदीमा मृत्यु हुनेमध्ये प्राकृतिक कारण (हृदयघात समेत) ११२, आत्महत्या ३४, सडक दुर्घटना ३९, कार्य दुर्घटना १४, कोरोना संक्रमण १४ र हत्या १ जना रहेको छ ।”
ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएकोमा त्यसमध्ये ५३ वटा मुद्दा अदालतमा दायर गरिएको दूतावासले जनाएको छ । ब्लडमनीको केसमा अदालतमा भएका १२६ वटा सुनवाइमा भाग लिएकोमा २८ वटा मुद्दामा फैसला भएको १८ वटा फेसको ब्लडमनी प्राप्त भई मृतकका परिवारको नाममा पठाइएको थियो । २० वटा ब्लडमनीको मुद्दा कार्यान्वयनका लागि फैसला कार्यान्वयन कोर्टमा दर्ता गरिएको छ । गत वर्ष मात्र दूतावासको समन्वयमा विभिन्न घर फिर्ति केन्द्रमा रहेका १ हजार ९३९ श्रमिकलाई स्वदेश फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्