प्याज विशेष मिसन कार्यक्रम असफल «

प्याज विशेष मिसन कार्यक्रम असफल

सरकारले २०६४ सालमा ल्याएको प्याज विशेष मिसन कार्यक्रम असफल भएको छ ।
आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन तराइका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन कार्यक्रम ल्याएपनि त्यसको कार्यान्वयनमा गम्भीर नबन्दा प्याज विशेष मिसन कार्यक्रम असफल भएको हो ।
प्याज विशेष मिसन कार्यक्रम असफल भएपछि नेपाल प्याजका लागिसमेत परनिर्भर बनेको छ । पछिल्लो समय नेपालको पूर्वी नाका काँकडभिट्टा भएर हुने प्याजको निर्याप्त शुन्य छ भने काँकडभिट्टा नाका भएर नेपालमा आयात हुने प्याजको दर बढीरहेको छ ।
विगत पाँच आर्थिक वर्षको काँकरभिट्टा नाका भएर नेपालमा आयात हुने प्याजको दर हेर्ने हो भने सो नाका भएर नेपालमा आयात हुने प्याजको दर बढीरहेको प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र कार्यालय काँकडभिट्टाको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष २०७८/०७९ मा सो नाका भएर ७ करोड ३५ लाख ६९ हजार रुपैयाँको ९ सय ९४ मेट्रिक टन प्याज नेपालमा आयात भएको केन्द्रले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा सोही नाका हुँदै ३ करोड ४३ लाख ७० हजार रुपैयाँको १ हजार ७ सय ३० मेट्रिक टन प्याज नेपाल आयात भएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा काँकरभिट्टा नाका हुँदै ३ करोड ६२ लाख ८५ हजार रुपैयाँको १ हजार २ सय १० मेट्रिक टन प्याज नेपाल आयात भएको केन्द्रका प्रमुख हर्षहाङ्ग राईले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा काँकरभिट्टा नाका भएर ४ हजार ५ सय ३१ मेट्रिक टन प्याज आयात भएको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ४ सय ५४ मेट्रिक टन प्याज पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल आयात भएको उनले बताए । पूर्वी नाकाबाट नेपाल आयात भएको प्याज नेपालको संघीय राजधानीसहित मुख्य बजारसम्म पुग्ने गरेको छ ।
भण्डारणको व्यवस्था पर्याप्त नभएका कारण व्यावसायिक रुपमा प्याज खेतीप्रति किसानको आर्कषण घट्दै गएपछि नेपालमा माग अनुसार उत्पादन नभएर परनिर्भर बन्नु परेको छ ।
प्याज खेती वृद्धि न्यून रुपमा हुनु, लक्षित जमिनको हेक्टर नपुग्नु र ‘भेन्टिलेटर प्याज’ घर निर्माणका लागि सम्बन्धित सहकारी संस्थाहरुलाई आव्हान गर्दा समेत खासै चासो नदेखाउनुले पनि उत्पादनमा घटेर निर्यात बढाउन नसकिएको कृषि प्राविधिक मुकेशकुमार श्रीवास्तव बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्