नरैनापुरका किसानलाई राहत प्याकेजको पहल गर्ने प्रतिवद्धता «

नरैनापुरका किसानलाई राहत प्याकेजको पहल गर्ने प्रतिवद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।
लामो समयदेखि वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री गहतराजले स्थलगत निरिक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले सुख्खा क्षेत्र रहेको नरैनापुरका किसानका लागि राहत प्याकेजका सवालमा पहल गर्ने प्रतिबद्धता जनाए । नरैनापुरका किसानहरुलाई भोकमरीबाट जोगाउन तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै उनले समस्या समाधानका लागि केन्द्रिय स्तरबाटै पहल गर्ने बताए ।
भदौको दोस्रो सातासम्म पनि पानी नपरेपछि नरैनापुरका किसानहरुको यो वर्षको खेतीको आश मारिसकेका छन् । अन्य क्षेत्रमा खेती लगाइसक्दा समेत आफूहरुले धान रोप्न नपाएको भन्दै नरैनापुरका किसानले दु:ख व्यक्त गरेका छन । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साहका अनुसार यो वर्ष नरैनापुरमा भोकमरी हुने संकेत देखिएको छ । कृषकलाई भोकमरीबाट बचाउन केन्द्र सरकारकाबाट राहत उपलब्ध गराउन साहले मन्त्री गहतराजलाई आग्रह गरे । खडेरीबाट उत्पन्न हुनसक्ने परिस्थिति भयावह हुनसक्ने भन्दै अध्यक्ष साहले केन्द्र र प्रदेश सरकारले राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताए ।
नरैनापुरमा ३ हजार ९ सय ६६ हेक्टर जमिन रहेको छ । जसमध्ये १५ प्रतिशत जमिनमा मात्र रोपाई भएको र समयमै पानि नपर्दा रोपेको धानसमेत सुकेको नरैनापुर कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार नरैनापुर बाहेक बाँके जिल्लामा ९९ प्रतिशत रोपाई भइसकेको र नरैनापुरमा पानी नपर्दा रोपाइँ हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्