Logo

व्यापार प्रवद्र्धन र लगानीका लागि चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवद्र्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ ।
चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरीयाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुर्‍याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरीयाबाट लगानी प्रवद्र्धन गर्न आग्रह गरे । नेपालमा लगानीसँगै कोरीयाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
इपीएसमार्फत कोरीयामा ७७ हजार नेपाली युवा कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीकै सीप र लगानीलाई प्रवद्र्धन गर्न सके मुलुकले धेरै फाइदा लिन सक्ने बताए । “नेपाल हाउसको अवधारणा अन्र्तगत स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने प्रचुर सम्भावना छ” उनले भने, “पछिल्लो समय पस्मिना, हस्तकलाका सामग्री, जडिवुटी, भिरमहलगायतको माग कोरीयामा बढ्दो छ ।”
कोरीयाली बहुराष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा. प्याकुर्‍यालको ध्यानाकर्षण गराए ।
भेटवार्तामा राजदूत प्याकुर्‍यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवृद्धन र दुई पक्षीय व्यापार नै पहिलो प्राथमिकता रहेको बताइन् । उनले भनिन्, “एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरीयाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ ।”
यस्तै, चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसाग पनि भेटवर्ता गरेको छ । भेटमा नेपालमा लगानीको सम्भावना एवं दुई पक्षीय व्यापारबारे छलफल भएको छ । अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेटलगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसाग आग्रह गरे ।
सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले उनलाई आग्रह गरे । स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आइरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे ।
राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्बन्ध बिस्तार गर्न आफू प्रतिवद्ध रहेको बताए । यसका लागि सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्