महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध दसैंसम्म लम्बियो
आयात प्रतिबन्ध लचिलो

व्यवसायी तथा अन्तर्राष्ट्रिय दबाबका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सरकारले प्रतिबन्ध लगाइएका वस्तुहरुमा केही संशोधन गरेर प्रतिबन्ध कायमै गरेको छ । सरकारले विदेशी मुद्रामा बढी दबाब पार्ने महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको भए पनि चुरोटको आयात भने खुलेको छ ।
यसअघि सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध यथावत् राखेको हो ।
उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका अन्य उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
सरकारले १३ वैशाखको प्रतिबन्धलाई थप कसिलो बनाउँदै ३१ असारमा १४ भदौसम्मका लागि प्रतिबन्ध थप गरेको थियो । यसबीचमा व्यवसायीहरुले महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात खुलाउन सकारलाई दबाब दिँदै आएका थिए । तर, विलासी वस्तुको आयात तत्काल खोल्न प्रधानमन्त्री राजी नभएपछि प्रमुख विलासी वस्तुको आयातलाई यथावत् राख्दै अन्य ६ वस्तुको आयात प्रतिबन्ध भने हटाउने निर्णयमा सरकार पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चितीको दबाब घटेको देखिए पनि रुस तथा युक्रेनको युद्ध लम्बिएको तथा विश्वभर आपूर्ति श्रृंखलामा अझै सहजता नआएका कारण महँगी तथा अमेरिकी डलरको भाउ दुवै बढ्दै जाने आशंकाका बीच आयात प्रतिबन्धलाई निरन्तरता दिइएको जनाइएको छ ।
विलासी वस्तुको आयात प्रतिबन्धपछि अर्थतन्त्रलाई केही राहत पुगेका कारण आयात प्रतिबन्ध केही समय लम्ब्याउने निर्णय भएको मन्त्रालय सम्बद्ध अधिकारीको भनाइ छ ।
गत आर्थिक वर्षमा उच्च आयात भएका कारण विदेशी विनिमय सञ्चितिमा ह्रास आएको थियो । जसका कारण सरकारले विदेशी मदिरा, महँगा गाडी, मोटरसाइकल, मोबाइल, कुरकुरे, चुरोट, हिरा, महँगा टेलिभिजनलगायतको आयातमा गत आर्थिक वर्षको अन्त्यसम्म पूर्ण प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले विदेशी मुद्रा सञ्चिती सुधार भएका कारण मन्त्रालयले ३१ असारमा अर्को सूचना निकालेर १४ भदौसम्मका लागि प्रतिबन्ध थप गरेको थियो ।
तर, सरकारले आयातमा कडाइ गरेका विभिन्न वस्तुको आयात साउनमा मात्रै २५ अर्ब रुपैयाँबराबरको भएको छ । सरकारले आयात निरुत्साहित गर्न विभिन्न वस्तुमा एलसी (प्रतितपत्र) मार्जिन तथा १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, कडाइ गरेका वस्तुहरु साउन महिनामा २५ अर्ब २१ करोड ७६ लाखको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकले पनि २०७८ पुस ५ मा पहिलोपटक २० वटा वस्तुको आयातमा एलसी खोल्दा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । पहिलो पटक २० वटा वस्तुको आयातमा कडाइ गरेको महिना दिनमै केन्द्रीय बैंकले २६ माघमा थप २७ वटा वस्तु आयातको मार्जिनमा कडाइ गरेको थियो । तर, राष्ट्र बैंकले आयातमा निरुत्साहित गर्ने उद्देश्यका साथ कडाइ गरे पनि आयात नघटेपछि १३ वैशाखमा १० वटा वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।