भैंसी अभावमा लेकाली क्षेत्रका खर्क रित्तै

तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकासँग सीमा जोडिएको संखुवासभाको मादी नगरपालिका सोलाबनका रणध्वज कार्कीले जीवनका ८६ औं हिउँद कटाए । गाउँभन्दा दुई घण्टा माथि रहेको लाचाम खर्कमा उमेरमा उनले ६० वटासम्म भैंसी चराए ।
नागी र खर्कमा मालिङ्गोका चित्रा बनेर लामो गोठ बनाएर भैंसीको बासस्थान बनाए । ३० देखि ३५ वटासम्म त दुहुना मात्र हुन्थे । वारिपारि गाउँका दौंतरी भैंसी गोठालाहरू पनि खर्कमै भेटिन्थे । गोठाले जिन्दगी कम्ता रमाइलो थिएन । भंैसी गोठालो गर्दागर्दै उनले जीवनको आधाभन्दा बढी समय लाचाम खर्कमै बिताए ।
दूध बिक्री हँुदैनथ्यो । घिउ बनाएर धरानसम्म लगेर बिक्री गरेको सम्झना उनको मनमा अहिले पनि ताजै छ । दूध, दही, मही र घिउ खाएको शरीर निकै हृष्टपुष्ट थियो । तर, अवस्था अहिले त्यस्तो छैन । बूढो शरीरले गोठालो गर्न नसकेपछि उनी यतिबेला गाउँ झरेका छन् । घरमा परिवारले दुईवटा गाई पालेका छन् । उमेर छँदाको गोठाले जीवन र खर्कभरि भैंसी चराएर दूध दुहेको सम्झना उनको दिमागमा अहिले पनि ताजै छ । तर खर्क र गोठमा न भैंसी छन्, न त पाडापाडी नै । भैंसी राखेका ती पुराना बर्खे गोठ पनि अहिले मक्किएर ढलिसकेका छन् ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका श्रीजुङको सेखिम्बाका बलबहादुर घिसिङले पनि भैंसी गोठ राखेर लाचाम हुँदै मेन्छ्यायेम खर्कमा लामो समय बिताए । उनले यी लेकाली खर्कमा ४३ माउसम्म भंैसी पालेर चराउन भ्याए । वर्षको आठ महिनाजस्तो गाउँ छोडेर उनी भैंसी गोठमा रमाउँथे । घिसिङ पनि अहिले भंैसी गोठ मासेर गाउँतिरै झरेका छन् । खर्कमा भैंसी गोठका भग्नावशेष मात्र देखिन्छन् । खर्क रित्तै छ ।
कार्की र घिसिङ त उदाहरण मात्र हुन् । तेह्रथुम र संखुवासभाको माथिल्लो क्षेत्रको खर्कबाट भैंसी गोठ हटाउने गोठालाको संख्या निकै ठूलो छ । हजारौं रोपनी क्षेत्रफलका यहाँका खुला नागी र खर्क यतिबेला रित्तै छन् । यी जिल्लामा यतिबेला भैंसीको संख्या त घटिरहेको छ नै, पुराना खर्कहरूसमेत पशु वस्तु अभावमा रित्तै छन्, जसले गर्दा लेकाली क्षेत्रको जैविक विविधता संरक्षणमा नै असर परेको डिभिजन वन अधिकृत भरतबावु श्रेष्ठले बताए । यी खर्कमा थोरबहुत चौंरी चरेको देख्न सकिन्छ ।
खर्कमा मात्र होइन, गाउँघरतिर समेत अहिले भैंसी मासिँदै गएको छ । किसान गाई पालनतर्फ लागेका छन् । गाउँघरका साना किसानले पालेका भैंसी पनि मासु प्रयोजनका लागि बिक्री भइरहेका छन्, जसले गर्दा जिल्लाका पशुपालक किसानमाझ भंैसीको अभाव भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
पहिले भैंसी चराउने खर्क र जंगललाई वन कार्यालयले सामुदायिक वन गठन गरेर समुदायलाई जिम्मा लगाएपछि चरन क्षेत्र मासिएको भैंसीपालक किसानको भनाइ छ । पुराना खर्क र चौरहरूमा सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण गरी चरन निषेध गरेका छन् ।
किसानमाझ भैंसी र पाडापाडीको अभाव भएको र भएका भैंसी र पाडापाडीको मूल्य अकासिएकाले व्यावसायिक भैंसीपालक किसानले सरकारसँग भैंसी संरक्षण कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।
भएका दुधालु भैंसीको संरक्षण र पाडी उत्पादनका लागि छुट्टै कार्यक्रम सञ्चालन गर्न नसक्दा बर्सेनि भैंसीको संख्या घट्दै गएको हो । सडक असुविधाका कारण टाढाबाट भैंसी खरिद गरेर ल्याउन नसकिने र स्थानीय स्तरमा रहेका सीमित भैंसीको मूल्य बढ्दा भैंसी सामान्य किसानको पहुँचबाहिर गइसकेको आठराई गाउँपालिका खाम्लालुङका अगुवा भैंसी पालक किसान गोपी ढुंगानाले बताए ।
भैंसी संरक्षणका लागि सरकारी स्तरबाट कार्यक्रम सञ्चालन नगरे भैंसी लोप हुने उनको ठोकुवा छ । दूध उत्पादनका लागि महँगो मूल्यमा किनेर पालिएका उन्नत जातका भैंसीसमेत मासुका लागि व्यापारीलाई बिक्री गर्न थालिएकाले जिल्लाभर भैंसीको अभाव खड्किएको भैंसीपालक किसानको गुनासो छ ।
जिल्लामा सुरुमा लिमे र पारकोटे जातका भैंसीमा मुर्रा जात क्रस गराएर पाडापाडीको उत्पादन गरिएको भए पनि त्यो प्रभावकारी नभएको पशु सेवा कार्यालयले जनाएको छ ।
कार्यालयले केही वर्षअघि जिल्लामा भैंसीको संख्या बढाउन विभिन्न क्षेत्रमा भैंसीपालन पकेट क्षेत्र घोषणा गरेर मुर्रा जातका पाडी र बीउका राँगा वितरण गरेको थियो । तर, व्यावसायिक भैंसीपालनमा किसानको ध्यान नै नगएको पशु चिकित्सकको भनाइ छ ।
सुरुमा गाउँगाउँमा किसानस्तरमा गठन गरिएका भैंसीपालन समूहसमेत अहिले निष्क्रिय छन् । थोरै तर स्वादिलो दूध दिने स्थानीय रैथाने भैंसी मासुका लागि काटिने क्रम बढ्दो छ । स्थानीय हावापानीमा राम्ररी फस्टाउने यस्ता भैंसीको समेत गाउँघरतिर अभाव छ ।
रैथाने भैंसीको अभाव भएर दूधका लागि उन्नत जातको मुर्रा भैंसी पशु सेवा कार्यालयको सहयोगमा किसानले भिœयाएका थिए । ती भैंसी पनि अहिले मासुका लागि धमाधम काटिँदै छन् ।
भैंसीपालक किसानहरू व्यावसायिक हुन नसक्नु, रोग तथा उपचारका बारेमा प्राविधिक ज्ञान नहुनु, खानपान र उचित स्याहार नपुग्दा समयमा बाली नलाग्नु, चरन क्षेत्र साँघुरिनु, पछिल्ला पुस्ताले भैंसीपालनमा रुचि नदेखाउनुजस्ता कारणले किसान एक–दुई बेत भैंसी ब्याएपछि मासुका लागि काटिखानेलाई बिक्री गर्छन्, जसले गर्दा भैंसीमा गरेको लगानी उठाउन नपाउँदै बिक्री गर्नुपर्ने अवस्था रहेको धर्मदेवी नगरपालिका संखुवासभाका किसान टंक पौडेलले बताए ।
किसानले गाउँघरमा दूधका लागि पालेका उन्नत जातका भैंसी तथा पाडापाडीसमेत बढी मूल्य पाउनेबित्तिकै बिक्री गर्ने गरेकाले पुराना र व्यावसायिक किसानसँग समेत भैंसीको अभाव छ । बढी मूल्य आउने भएपछि दूध दिँदै गरेका भैंसीसमेत किसानले मासु व्यापारीलाई बिक्री गर्ने गरेको पशु प्राविधिक रेवत दाहालको भनाइ छ ।
गाउँगाउँमा भैंसी र पाडापाडी लोप हुँदै गइरहेका भए पनि यसको संरक्षणतर्फ कसैले चासो दिएको छैन । भैंसी ब्याएर दूध दिन छोड्नेबित्तिकै किसानले पाडापाडी बिक्री गर्नाले केही वर्षपछि बयस्क हुने नयाँ पुस्ताका पाडापाडीसमेत किसानसँग छैनन् ।
कृषि अनुसन्धान केन्द्र, तरहरा, सुनसरीले विभिन्न जातका भैंसीको अध्ययन–अनुसन्धान गर्दै आएको छ । तर, त्यहाँ उत्पादन भएका सीमित संख्याका भैंसी र पाडापाडी यहाँसम्म आइपुग्दैनन् । भैंसीको संख्या प्रत्येक वर्ष घट्दै गएपछि गाउँमा रहेका केही भैंसीको मूल्य भने अकासिएको छ ।
सामान्य दूध दिने भैंसीको मूल्यसमेत अहिले ७० हजारदेखि १ लाख ९० हजार रुपैयाँसम्म पर्ने गरेको छ । भैंसी गाउँबाट लोप हुँदै गएकाले भएका भैंसी र पाडापाडीको मूल्य पनि महँगो भएको किसानको भनाइ छ । पशु सेवा कार्यालयका अनुसार अहिले जिल्लामा १५ हजार १ सय ४५ भैंसी र पाडापाडीको संख्या छ ।