कोइलाबास भन्सारमा अनलाइनको तयारी

दाङको एक मात्र नाकामा रहेको कोइलाबास भन्सार कार्यालयमा अनलाइन गर्नेे तयारी गरिएको छ ।
अहिले भन्सार कार्यालयले लिखित रुपमा काम हुँदै आएकोे छ ।
इन्रनेटको समस्याको कारण अनलाइनबाट काम नसकेको कोइलाबास भन्सार कार्यालयका प्रमुख वसन्त रजौरेले जानकारी दिए । “केही दिनभित्र अनलाइन बिल काट्ने तयारी गरेका छौ” प्रमुख रजौरेले भने । गढवाबाट नेटको तार लगिए पनि राम्रो संग काम नगर्दा समस्या भएको उनले बताए । करिव २८ किलो मिटर टाढा वाट जगलको बाटो भएर नेटको तार लगिएको कारण विभिन्न समस्या देखिने गरेको उनको भनाइ छ । “इन्टरनेट जोडेर काम सुरु गर्न थालिए पनि सिष्टम चल्न नसक्दा अनलाइनमार्फत विल काटने काम हुन नसकेको हो” प्रमुख रजौरेले भने ।
अनलाइनमार्फत बिल काट्नका लागि आवश्यक पर्ने सामग्री खरिदसमेत गरिसकेको छ । मन्त्रालय तथा विभागसँग समन्वय भइ रहेको र अबको एक दुई दिनमै अनलाइन गराउने गरि काम गरि रहेको उनको भनाइ छ । अनलाइनमार्फत काम हुन नसक्दा अहिले लिखित रुपमा काम गर्ने गरिएको प्रमुख रजौरेले बताए । लिखित रुपमा भारु ३० हजार सम्मको मात्र विल काटने गरिएको छ ।
भन्सारबाट सर्वसाधारणले अहिले व्यक्तिगत रुपमा घरायसी सामग्री ल्याउने गरेका छन् । व्यवसायीहरुले पनि थोरै मात्रामा सामान ल्याउने गरेको उनको भनाइ छ । नाका सञ्चालनमा आए पनि व्यवसायीहरुले पहिले ल्याइरहेको स्थान परिवर्तन गर्न समय लाग्ने रजौरेले बताए । कोइलाबास नाकामा क्यारेन्टाइन नहुँदा पनि व्यवसायीहरुले समस्या भोग्नु परेको छ । त्यसैगरी कोइलाबासबाट गढवा, लमही जाने बाटो घुम्ती भएकाले ठूला गाडीलाई घुम्तीमा समस्या हुने बताइएको छ ।
लामो समयको प्रयासपछि दाङको एक मात्र कोइलाबास नाका सञ्चालमा आएको हो । लामो समय बन्द रहेको नाका जिल्लाका निजी क्षेत्र तथा सरोकारवालाको प्रयास पछि नाका सञ्चालनमा ल्याइएको हो । साउनको दोस्रो साता पछि भारततर्फ कस्टम स्थापना गरेसँगै नाका सञ्चालनका आएको हो । नाका खुलेसँगै अहिले कोइलाबासबाट आयात तथा निर्यातसमेत सुरु भएको छ ।
कुनै समयमा देशको दोस्रो चल्तीको भन्सारमा रहेको भन्सार पूर्व पश्चिम राजमार्ग सञ्चालनमा आएसँगै सुनसान रहेको थियो । भन्सार सुनसान भएसँगै उक्त क्षेत्र खण्डहर भएको थियो । पछिल्लो समय कोइलाबाससम्म बाटो कालोपत्रे भएसँगै चहलपहल बढेको थियो । नाका सञ्चालनमा आएपछि सामान आयात निर्यातमा सहज हुने जिल्लाका व्यवासायीहरुले बताएका छन् ।
नाका सञ्चालन पछि राजस्व वृद्धि
कोइलाबास नाका सञ्चालनमा आएपछि राजस्व वृद्धि भएको छ । नाका खुलेपछि सामग्री आयात निर्यात तथा नागरिक एवम सवारी साधनको आवत जावत गर्न थालेपछि राजस्व वृद्धि हो । भन्सार कार्यालयले चालु आर्थिक वर्ष पहिलो साउन महिनामा ३ लाख ७९ हजार ३ सय ८७ रुपैया सङकलन गरेको कार्यालयका प्रमुख बसन्त रजौरेले बताए । जुन लक्ष्य भन्दा वढी रहेको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले साउन महिनामा १ लाख ५५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । अस्थाइ पैठारीमार्फत धेरै राजस्व संकलन हुने गरेको प्रमुख रजौरेले बताए । नेपाल आउने यात्रुले प्रयोग गर्न सवारीका साधनबाट लिने राजस्व धेरै रहेको छ । जसमा कार, जिप मोटर साइकल रहेका छन् । कोइलाबास नाकाबाट धार्मिक पर्यटक धेरै आउने गरेको भन्सार कार्यालयका प्रमुख रजौरेले बताए । स्वर्गद्वारी मन्दिरमा जाने धेरै यही बाटो भएर आउने गरेको उनको भनाइ छ । भारत बाट कोइलाबास सम्म पहाड हेर्न भनेर आउने गरेको छन् ।