Logo

राष्ट्रिय भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरू हुने

पोखरामा जारी २४ औं संस्करणको लामाचौर तिज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरू हुने भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ एपीएफ, गण्डकी प्रदेश टिम, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबको टिम सेमिफाइनल प्रवेश गरेका छन् । समूह ‘बी’मा रहेको बुटवलको मणिमुकुन्द भलिबल क्लब दुई खेलमा लगातार हार्दै प्रतियोगिताबाट बाहिरियो । समूह ‘ए’ बाट गण्डकी विजेता र समूह ‘बी’ बाट नेपाल पुलिस क्लब विजेता भएको थियो ।
सोमबार गण्डकीले आर्मीलाई १९–२५, २५–१५, २०–२५, २५–२३ र १७–१५ ले पराजित गर्‍यो । यस्तै, नेपाल पुलिस र एपिएफबीचको खेलमा पुलिसले ३–२ सेटमै नतिजा आफ्नो पक्षमा पारेको छ । पुलिसले एपिएफलाई २५–१९, १७–१५, २५–२१, २१–२५ र १५–१० मा हराएको हो ।
मंगलबार पुरुषतर्फ पहिलो सेमिफाइनल १२ बजे गण्डकी र एपिएफबीच हुनेछ भने दोस्रो सेमिफाइनल दिउँसो २ बजे नेपाल पुलिस र आर्मीबीच हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले बताइन् ।
प्रतियोगितामा महिलातर्फ सहभागी चार टिममध्ये समूह ‘ए’ बाट नेपाल पुलिस र समूह ‘बी’ बाट न्यु डायमण्ड समूह विजेता बनेका छन् । सोमबारको खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा २५–१६, २५–१९ र २५–९ मा पराजित गर्‍यो । महिलातर्फ नै भएको अर्को खेलमा न्यु डायमण्ड विजयी भयो । डायमण्डले त्रिभुवन आर्मीको टिमलाई सोझो सेटमा २५–१६, २५–२२ र २५–१९ मा हराएको हो । मंगलबार पहिलो सेमिफाइनल खेल बिहान ८ बजे पुलिस र आर्मी तथा दोस्रो सेमिफाइनल बिहान १० बजे न्यु डायमण्ड र गण्डकी प्रदेशको टिम बिच हुने छ ।
गत भदौ ११ देखि सुरु प्रतियोगितामा अविरल वर्षाका कारण खेल तालिका एक दिन पर धकेलिएको छ । फाइनल भदौ १५ गते खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
बिगतमा महिला भलिबल मात्र हुँदै आएकोमा यस पालि पुरुष राष्ट्रिय भलिबल पनि थपिएको हो । खेल लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भएको छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमले भाग लिएका छन् । प्रतियोगिता हेर्न दर्शकको खचाखच भीड छ ।
महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १ सय ११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।
भदौ १२ देखि सुरु लामाचौर तीज महोत्सव–२०७९अन्तर्गत सोमबार संस्थाका पूर्वसल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य, संस्थापकहरू, अल्फा बोर्डिङ स्कुल, इन्द्र राज्य लक्ष्मी मावि, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज आदिलाई संस्थाको रजत जयन्ती अवसरमा सम्मान गरिएको छ ।
सोमबार अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ प्रथम, सूर्योदय बोर्डिङ दोस्रो, कास्की मोर्डनाइज्ड तेस्रो भयो । कुमुदिनी होम्स र बालकल्याण सान्त्वना भए । प्रतियोगितामा १६ विद्यालयले भाग लिएको संस्थाका द्वितीय उपाध्यक्ष दिनेश भण्डारीले बताए । १८ टिमले भाग लिएको अन्तर महिला तीज गीतमा इन्द्र राज्य लक्ष्मी मावि प्रथम, उपकार आमा समूह दोस्रो, सफल उद्यमी महिला समूह तेस्रो र शिवालाय तमु आमा समूह सान्त्वना भए । कार्यक्रममा रामजी पौडेल, लक्ष्मी नेपाली, दीपक खड्कालगायतका कलाकारले प्रस्तुति राखेको प्रचार संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
यसैबीच उक्त प्रतियोगिताको उद्घाटन सोमबार राखेप सदस्य सचिव टंकलाल घिसिङले गरे । उक्त अवसरमा राखेप सदस्य राजेशकुमार गुरुङ लगायतनाई सम्मान गरिएको थियो । सोमबार बिहानै देखि दिउँसोसम्म लगातार पानी परेकोले उक्त प्रतियोगिता बुधबार सम्पन्न हुने भएको छ । गण्डकी खेलकुद परिषद्ले भलिबल प्रतियोगिताको सहयोगार्थ ५ लाख सहयोग गरेको संस्थाका अधयक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्