चीनमा स्मार्टफोनको बिक्री घट्दै «

चीनमा स्मार्टफोनको बिक्री घट्दै

चीनमा स्मार्टफोनको बजार पहिलो पटक ओरालो लागेको छ । गत वर्षको वार्षिक आपूर्तिमा ४ प्रतिशतको गिरावट आएको अनुसन्धानमूलक फर्म क्यानालिसले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
यो गिरावटले विश्वकै ठूलो मोबाइल फोन बजारको आठवर्षे लामो वृद्धिको अन्त्य गराएको छ ।
हाल चिनियाँ ह्यान्डसेट बजारमा हुवावे, ओपो, भिभोलगायतका ब्रान्डको वर्चस्व रहँदै आएको छ । समग्र बजारमा गिरावट आए बाबजुद हुवावेको वृद्धि दोहोरो अंकमा कायम भएको क्यानालिसको प्रतिवेदनले जनाएको छ ।
२०१० देखि २०१५ सम्मको अवधिमा विश्वव्यापी स्मार्टफोन बजारमा एप्पल र सामसङको वर्चस्व रहँदै आएको थियो ।
तर, विगतका दुई वर्षको अवधिमा साना चिनियाँ एन्ड्रोइड स्मार्टफोन ब्रान्डहरूको पनि उदय भइरहेको छ । पछिल्ला वर्षहरूमा चिनियाँ ब्रान्डले सस्तोमा स्मार्टफोन बिक्री गर्न थालेपछि चिनियाँ स्मार्टफोनको बजारमा परिवर्तन आएको छ ।
बेइजिङ र सांघाईजस्ता ठूला चिनियाँ बजारमा उपभोक्ताले आईफोन ग्यालेक्सी मन पराउँदै आएका छन् भने ग्रामीण क्षेत्रमा साधारण फोनको लोकप्रियता रहँदै आएको छ ।
काउन्टरपोइन्टको अनुसन्धानअनुसार गत वर्षको अगस्टमा हुवावेले एप्पलकै हाराहारीमा स्मार्टफोन बिक्री गरेको थियो । २०१६ को अन्त्यमा हुवावेले विश्वकै सर्वाधिक नाफा कमाउने एन्ड्रोइड फोनमा सामसङलाई पछि पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्