विद्यार्थीलाई शिक्षा आर्जनमा प्रोत्साहन «

विद्यार्थीलाई शिक्षा आर्जनमा प्रोत्साहन

पछिल्लो समय रोजगारीका लागि आउने विद्यार्थीमा बजारमा आवश्यक ज्ञान एवं सीप तथा कौशलको अभावका कथा धेरै सुन्न पाइन्छ । विद्यालयहरू बढेको तथा अवसर पनि बढेको भए तापनि शिक्षाको गुणस्तर भने हरेक वर्ष घट्दै गएको शिक्षाविद्हरू नै स्विकार्छन् । किन गुणस्तर घट्यो अनि कसरी सुधार गर्ने भन्दा पनि एकथरी विद्यार्थीको नाममा राजनीति मात्रै गर्छन् भने अर्कोथरी व्यापार मात्र गर्छन् । यसको अर्थ नेपालमा निजी विद्यालय चाहिँदैनन् भन्न खोजिएको होइन, तर बजारलाई आवश्यक जनशक्ति उत्पादन नहुने हो भने बिस्तारै ती निजी विद्यालय पनि बन्द हुन्छन् भन्न खोजिएको हो । आधुनिक युगसुहाउँदै शिक्षा दिएर प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्नुपर्ने विद्यालयहरू आफैं गन्तव्यविहीन भएका छन् । बेरोजगार शिक्षित तयार पार्ने आरोप लागेका विद्यालय तथा महाविद्यालय एवं विश्वविद्यालयहरूमा कि त राजनीति छ, कि विद्यार्थी विदेश जाने तयारीमा छन् । त्यसैले नेपालको रोजगार बजारमा आवश्यक जनशक्तिको कमी छ । नेपालका विद्यालय तथा महाविद्यालय अनि विश्वविद्यालयले आफ्नो बजार सुहाउँदो जनशक्ति तयार गर्न नसकेकै कारण धेरै क्षेत्रमा जनशक्ति अभाव छ । क्षमता भएकाले विदेशी जनशक्तिलाई उपयोग गरेका छन् भने क्षमता नभएकाले जेनतेन आफ्नो काम गर्न जनशक्ति जुटाएका छन्, जसका कारण उनीहरूको उत्पादकत्व घट्दो छ । समग्र मुलुकको उत्पादकत्वमा पनि यसले प्रभाव पारेको छ । तसर्थ, विद्यालय तहदेखि नै आन्तरिक बजार सुहाउँदो तथा आवश्यक जनशक्ति तयार पार्ने पाठ्यपुस्तक तथा सीपको विकास गर्न आवश्यक देखिन्छ । त्यसका लागि सरकारी तथा निजी क्षेत्रका दुवै थरीका विद्यालयमा विद्यार्थीलाई बजारको आवश्यकता तथा मुलुकको यथार्थको ज्ञान दिनु आवश्यक छ । निजी क्षेत्रका विद्यालय केही प्रतिस्पर्धी भए तापनि उनीहरूमा पनि व्यावहारिकभन्दा किताबी ज्ञानमा जोड दिने प्रचलन रहेका कारण पनि त्यस्ता विद्यालयको उत्पादन आन्तरिक बजारभन्दा विदेश जाने होडमा बढी देखिन्छन् । यस्तै, सरकारी विद्यालयका आफ्नै पीडा छन् । कतै विद्यालय छन् शिक्षक छैनन्, कतै शिक्षक छन् विद्यार्थी छैनन्, कतै विद्यार्थी छन् तर शिक्षक छैनन् । एउटै वडामा नजिकैको दूरीमा धेरै सरकारी विद्यालय छन्, जसका कारण शिक्षक भएका विद्यालयमा विद्यार्थी छैनन् अनि विद्यार्थी भएका विद्यालयमा शिक्षक छैनन् । यस्ता समस्या समाधानमा पनि स्थानीय सरकारको ध्यान जानु आवश्यक छ । त्यसबाहेक विद्यालयमा पढ्ने वातावरण हुनुपर्छ । शिक्षकहरूको अति राजनीतिका कारण पनि धेरैजसो विद्यालयमा पढाइको वातावरण छैन । त्यसैले शिक्षकले राजनीति गर्ने वा शिक्षक बन्ने एउटा चुनाव गर्नु आवश्यक छ । राजनीति गर्ने भए पूर्णकालीन राजनीतिमा लाग्न शिक्षकलाई प्रेरित गर्नु पनि आवश्यक छ । त्यसैले काठमाडौं महानगरपालिकाको झैं सबैजसो नगर तथा गाउँपालिकाले शिक्षकलाई नेता बन्ने वा शिक्षक बन्ने चुनाव गर्न दिनु पनि आवश्यक छ ।
यसका साथै, हालै काठमाडौं महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव पनि सकारात्मक छ । आइतबार बसेको काठमाडौं महानगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो । संघीय सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरूप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव गरिएको हो । महानगरपालिकाको बैठकले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउन ९ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । यसबाट विद्यार्थीको पढाइप्रति आकर्षण बढ्नेमात्र नभएर स्वास्थ्यजन्य समस्या एवं मानसिक तथा शारीरिक विकासमा पनि योगदान पुग्छ । सरकारी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीको आर्थिक अवस्था कमजोर हुने कारण पनि यस निर्णयले विद्यार्थीलाई विद्यालयमा नियमित पढ्न आउने वातावरण पनि बन्ने आशा गर्न सकिन्छ । स्थानीय सरकारहरूले यस्ता कार्यक्रम ल्याएर विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्न सके भोलि बजारमा आवश्यक जनशक्तिको कमी नहोला । अन्यथा आन्तरिक बजारमा भोलिका दिनमा विदेशबाट कामदार ल्याउनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्