Logo

‘चीन, भारतसँग प्रतिस्पर्धा छल्नुपर्छ’

भारत र चीन दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा भएका कारण नेपालले प्रतिष्पर्धालाई छलेर उनीहरुसँग प्रतिष्पर्धा नहुने उत्पादन निर्यात गर्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
“अन्यथा हामी आयातमात्र गर्ने अवस्थामा पुग्छौं,” सोमबार सम्पादकहरुसँग कुरा गर्दै उनले भने, “हामीले के के चीजहरु निर्यात गर्न सक्छौं, ती चीजको निर्यातबाट विदेशी मुद्राको सञ्चय कसरी गर्न सकिन्छ भन्ने कुरालाई सोच्नुपर्छ ।”
राष्ट्रका समस्यालाई हल गरेर अगाडि बढ्नका लागि लोकप्रिय नारा र भावनात्मक कुराको पछाडि लागेर मात्र सम्भव छैन भन्दै उनले लोकप्रिय नाराका पछि लागेर जलविद्युत आयोजनाहरु महँगो हुन गएको तथा विकासका लागि बाधक भएको बताए । “जलविद्युत आयोजना बनाउँदा नै महँगो हुन थाल्यो,” उनले भने, “हामीले जे बेच्ने हो त्यही महँगो भएपछि हामीले के गर्ने ?” उनले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले जनता उचालेर आयोजना बन्नु आगाडि नै जग्गाको मुआब्जा महँगो बनाएको गुनासो गरे ।
नेपाललाई समृद्ध बनाउनका लागि सबैभन्दा ठूलो कुरा सुशासन हुनुपर्ने भन्दै उनले सुशासनको पक्षमा सबैले वकालत गर्न जरुरी भएको पनि बताए । “सुशासन दिनका लागि नैतिक शक्ति चाहिन्छ,” उनले भने, “नैतिक शक्ति नहुँदा सुशासन दिन सकिँदैन । नैतिक शक्ति जोसँग हुन्छ त्यसले मात्र भ्रष्टाचार, विसंगति, बेथितिका विरुद्ध आक्रामक हुन सक्छ ।”
तर, सुशासन दिनुपर्नेहरू नै कुशासनमा डुबेको उनको भनाइ छ । “यसो हुँदा सुशासन नारामा मात्र सीमित भयो,” उनले गुनासो गरे । सत्ता र शक्तिमा यस्तै व्यक्ति हावी हुने गरेको भन्दै उनले आफूलाई विकृत हुनबाट जोगाएर देशलाई बनाउँछु भन्नेहरु पाखा परेको दुखेसो गरे । “नेपालको राजनीतिमा यो सबैभन्दा ठूलो विडम्बना हो,” उनले भने ।
वर्तमान गठबन्धन नै कुशासन तथा नैतिकहीनताको प्रतिबिम्ब भयो नि भन्ने प्रश्नमा भने पौडेल गठबन्धन व्यवहारिक आवश्यकता भएको बताएर पन्छिए । कांग्रेसले माओवादीसँग गठबन्धन नगर्ने हो भने एमाले र माओवादीबीच गठबन्धन हुने भन्दै उनले कांग्रेसले पहिले आफूलाई टिकाउनुपर्ने पनि बताए । “पहिले कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ, यसका लागि गठबन्धन आवश्यक छ,” उनले भने, “कांग्रेसले एक्लै लडेर जित्ने अवस्था छैन ।”
उनले माओवादीसँग गठबन्धन नगरी आफैं लडेर जित्ने पार्टी बनाउन नसकेको गुनासो गर्दै अहिलेसम्म जति काम गरेका छौं, त्यसबाट जनता सन्तुष्ट भएर ५१ प्रतिशत भोट ल्याउने कांग्रेस बनाउन नसकेको बताए । गठबन्धनले नै अस्थिरता ल्याएको तथा सिद्धान्त, नैतिकता तथा सुशासनमा सम्झौता भएको हो नि त भन्ने सम्पादकहरुको प्रश्नको उत्तरमा उनले ५१ प्रतिशत भोटको कमाण्ड गर्न सक्ने कांग्रेस नभएका कारण गठबन्धन गर्नैपर्ने व्यवहारिक आवश्यकता भएको तर्क गरे ।
नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन नहुने भन्दै उनले राजनीतिक स्थिरता नभएकाले विकास हुन नसकेको बताए । तर, गठबन्धनले कसरी स्थिरता दिनसक्छ ? मंसिर ६ गतेपछि स्थिरता हुने ग्यारेन्टी के हो ? भन्ने प्रश्नमा भने उनी स्पष्ट हुन सकेनन् । सम्पादकहरुको राय भने गठबन्धनका कारण भ्रष्टचार बढेको, सिद्धान्त तथा नैतिकताको राजनीति सकिएको अनि वर्तमान सरकार केपी ओलीको सरकारकै निरन्तरता भएको तर्क थियो । पौडेलले सरकारको बचाउमा भन्दा नैतिक नेतृत्व तथा सुशासनमा मात्र जोड दिँदै आफू तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनावी मैदानमा रहेको बताए । पौडेलले भने, “देशमा नैतिकता र सुशासनको खडेरी परेका कारण केही भूमिका खेल्न चाहेको हुँ ।” तपाईं प्रधानमन्त्रीको उम्मेदवार हो ? भन्ने प्रश्नमा भने उनी मौन रहे । न त उनले गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को हो भन्ने संकेत गरे, न आफ्नो दाबी पेश गर्न सके ।

प्रतिक्रिया दिनुहोस्