नदीजन्य वस्तुको चोरी निकासी रोकिने «

नदीजन्य वस्तुको चोरी निकासी रोकिने

जुम्लाका विभिन्न नदी तथा खोलाबाट अवैधरूपमा भइरहेको नदीजन्य वस्तु चोरी निकासी रोक्न स्थानीय प्रशासनले सक्रियता देखाएको छ । तिला कर्णाली, हिमा कर्णाली, जवा नदीलगायत विभिन्न स्थानमा भइरहेको बालुवा, गिटीको अवैध उत्खनन् र चोरी निकासी रोक्न स्थानीय प्रशासनले सक्रियता देखाएको हो ।
प्राकृतिक स्रोतको सदुपयोगबारे समन्वय गर्ने अधिकार जिससलाई दिइएको छ । तर पनि प्रभावकारी नियमन नहुँदा प्राकृतिक स्रोतको अवैध दोहन भने रोकिएको छैन भन्ने समाचार कारोबार दैनिकमा प्रकाशित भएपछि जिल्ला समन्वय समिति जुम्लाले गम्भीरतापूर्वक लिएर तत्काल अवैधरूपमा गिट्टी बालुवाको चोरी निकासी रोक्ने निर्णय गरेको हो ।
कारोबार दैनिकको वैशाख २५ गतेको अंकमा प्रकाशित ‘नदीजन्य वस्तुको चोरी निकासी बढ्यो’ शीर्षकको समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले तत्काल रोक्ने निर्णय गरेको जिसस उपप्रमुख कार्मा बुढाले बताए । जुम्लामा जेठ ५ गते बसेको बैठकले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बिना आठै स्थानीय तहमा भइरहेको नदीजन्य बस्तुको चोरी निकासी रोक्ने निर्णय गरिएको उनले बताए ।
उनका अनुसार ईआईए बिनै जुम्लाका विभिन्न स्थानमा नदीजन्य बस्तुुको चोरी निकासी भइरहेको छ । यसलाई रोक्न तथा अनिवार्य रूपमा ईआईए गराउन तथा टेन्डर प्रक्रियाका जान स्थानीय तहलाई निर्देश गरिएको उपप्रमुख बुुढाले बताए । अवैध उत्खनन्ले नदी कटान, खेतीयोग्य जमिन जोखिममा, क्षयीकरणको समस्या बढाएको छ ।
जिल्ला समन्वय समितिले गरेको निर्णयमा भनिएको छ– “नदीजन्य ढुंगा गिट्टी र बालुवा तथा खानीजन्य वस्तुको उत्खनन्, संकलन र चोरी निकासीसम्बन्धी प्रक्रियाको प्रभावकारी रूपमा अनुगमन तथा नियमन गरिने छ । तत्काल चोरी निकासी रोक्न स्थानीय तहलाई जानकारीका साथै निर्णय भएको मिति जेठ ५ गतेका दिनबाटै पहिलेको जस्तो नदीजन्य वस्तुको चोरी निकासी भएको भेटिएमा कडा कारबाही गरिने छ । जसमा प्रतिटयाक्टर ५ हजार र प्रतिटिप्पर १० हजार जरिवाना गरिने छ भने अटेरी गरेमा दोस्रो पटक जरिवाना दोब्बर गरिने निर्णय भएको छ ।” चोरी निकासी भएको सूचना दिने व्यक्तिलाई जरिवानाको २५ प्रतिशत पुरस्कार वापत दिइने बताइएको छ । जेठ ५ गतेकै दिनबाट प्राकृतिक स्रोतको अबैध दोहनमा रोक लगाएको जिल्ला समन्वय समितिको दाबी छ ।
नदीजन्य वस्तुको चोरी निकासीबाट राजस्व चुहावट भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले भने, “ईआइएबिना हुने चोरी निकासीमा रोक लगाउने निर्णय गरिसकेका छौं, अझै अटेरी गरे सिधै कारबाही हुन्छ ।” उनले प्रशासनलाई चुनौती दिनेलाई बल प्रयोग गरिने चेतावनीसमेत दिए ।सागर परियार

प्रतिक्रिया दिनुहोस्