भीमेश्वर नगरपालिकाद्वारा कानुन राजपत्रमा प्रकाशित

भीमेश्वर नगरपालिकाले हालसम्म गरेको प्रगति मंगलबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख भरत केसीले मंगलबार नगरपालिकाले सबै वडाबाट सेवा थालनी गरेको बताए ।
सबै वडामा प्राविधिकको व्यवस्था गरिएको घर निर्माणमा नक्सा पासलाई सरलीकृत बनाइएको उनले जानकारी दिए । नगरपालिकाभित्र भूकम्पपीडितको घर निर्माण सहज गर्न अनिवार्य रूपमा वडा कार्यालयमा प्राविधिकको व्यवस्था गरिएको उनले बताए । नगरपालिकालाई व्यवस्थित गर्न आवश्यक १० वटा विधेयक निर्माण भइराखेको र त्यसलाई नगरसभाले पारित गरेपछि त्यसको प्रभावकारी कार्यान्वयन गरिने प्रमुख केसीले बताए ।
कानुन राजपत्रमा प्रकाशित
भीमेश्वर नगरपालिकाले आप्mनो कानुन राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाका विभिन्न विभागले तयार गरेका कानुन मंगलबार प्रकाशित गरेको हो । नेपालको संविधान २०७२ ले परिकल्पना गरेको संघीय प्रणालीको भावनाबमोजिम प्रकाशित राजपत्रलाई तीन भागमा विभाजन गरिएको छ । भाग १ मा ऐन रहेकोे छ ।
त्यसैगरी भाग २ मा नियमावली, कार्यविधि निर्देशिका तथा मापदण्ड रहेको छ भने भाग ३ मा आदेश तथा सूचनाको व्यवस्था गरिएको छ । भीमेश्वर नगरपालिकाले हाल १० वटा विधेयक नगरसभामा प्रस्तुत गर्ने जनाएको छ । प्रस्तुत विधेयक नगरसभाको बहुमत सदस्यले पारित गरेपछि मात्र त्यसले कानुनको रूप लिने छ ।
कृषि र पशुपालनलाई प्राथमिकता
कृषि र पशुपालन पेशालाई व्यावसायिक बनाउन भीमेश्वर नगरपालिकाले अनुदान दिने व्यवस्था मिलाएको जानकारी दिएको छ । नगरपालिकाले गाई, भैँसी, कुखुरा, मौरीपालन तथा अलैँची र किवीखेती गर्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाइएको उल्लेख छ ।
विज्ञप्तिमा उच्च जातका दुईवटा गाई वा भैँसी पालन गर्नेलाई गोठ सुधारका लागि गाईभैँसी खरिदको १० प्रतिशत अनुदान दिने व्यवस्था मिलाइएको उल्लेख छ । त्यसैगरी कम्तीमा १५ वटा उन्नत जातको बाख्रा खरिद गरी व्यवसाय सुरु गर्नेलाई खोर निर्माण तथा सुधारका लागि ३० हजार रुपैयाँ अनुदान दिने पनि उल्लेख छ । कम्तीमा १५ वटा स्थानीय जातका माउ कुखुरा खरिद गरी १५० वटासम्म स्थानीय जातका कुखुरा पालन गर्न खोर तथा घेराबार निर्माणका लागि २५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको जनाइएको छ ।
२ देखि ५ वटासम्म मौरीघार खरिद गरी मौरीपालन व्यवसाय गर्नेलाई प्रतिघार ४ हजार अनुदान दिने उल्लेख छ । त्यस्तै अलैँची खेतीको ड्रायर मेसिन खरिद तथा मर्मतका लागि प्रतिसमूह ५० हजार उपलब्ध गराइने र भीमेश्वर नगरपालिका–७ र ८ मा किवीखेतीलाई प्रोत्साहन गर्न ५ बोट किवी विरुवा खरिद गर्नेलाई थप ५ बोट विरुवा अनुदान दिइने जनाइएको छ ।
भूकम्पपीडितलाई घर पुनर्निर्माणमा सजिलो होस् भनेर नक्सापास प्रक्रियालाई सरल बनाएको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले १५५ वटा योजना उपभोक्ता समितिमार्फत गराउने गरी काम सुरु गरेको छ । तीमध्ये ४४ वटा योजना सम्झौता भई काम सुरु भएको, ३२ वटा योजना सम्झौताको चरणमा रहेको र ७९ योजनालाई सम्झौताका लागि माघ मसान्तसम्मको म्याद दिइएको विज्ञप्तिमा उल्लेख छ ।
दिलबहादुर केसी