भन्सार छलेको आशंकामा ५ कन्टेनर स्याउ प्रहरीको नियन्त्रणमा

भन्सार छलेर ल्याइएको आशंकामा प्रहरीले विराटनगरबाट ५ कन्टेनर स्याउ विराटनगरबाट नियन्त्रणमा लिएको छ ।
भारतीय नम्बर प्लेटको कन्टेनरबाट नेपाली नम्बरको मिनी ट्रकमा पल्टी गर्ने क्रममा प्रहरीले स्याउसहित सवारीसाधन नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १३ मलायारोडबाट स्याउसहित ८ वटा सवारी साधन नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । चेकजाँचका क्रममा स्याउको भन्सारसम्बन्धी भिसिटिएस कागजात देखाउन नसकेको र तोकिएको स्थानभन्दा अन्यत्र अनलोड गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको उनले बताए ।
नियन्त्रणमा लिइएका सवारी साधनमा एनएल जीरो वन एबी २४१०, एनएल जीरो वन क्यू २२२२, एनएल जीरो वन एई ४७०५, एनएल जीरो वन एई ३४२२ र एन एल जीरो वन एन २६६३ नम्बर प्लेटका भारतीय कन्टेर छन् । यस्तै को १ ख ६९३९, प्रदेश १–०२–००१ ख ८५५६ र ना ५ ख ५६०० नम्बरका नेपाली नम्बर प्लेटका मिनी ट्रकहरूसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिइएको स्याउसहित सवारीसाधनहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।