साधना लघुवित्तमार्फत युवालाई सहुलियतपूर्ण कर्जा «

साधना लघुवित्तमार्फत युवालाई सहुलियतपूर्ण कर्जा

गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले ३२ जना युवालाई सहुलियतपूर्ण कर्जा वितरण गरेको छ ।
जिल्लाका विभिन्न पालिकाका ३२ जना युवालाई २ लाख रुपैयाँका दरले कर्जा उपलब्ध गराइएको संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ४ प्रतिशत ब्याजदरमा प्राप्त भएको रकम युवालाई ८ प्रतिशत ब्यजदरमा उपलब्ध गराइएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
“संस्थाले यसअघि पनि ९३ जना युवालाई यस्तै कर्जा उपलब्ध गराएको थियो” उनले भने, “कर्जाको अवधी २ वर्षको हुनेछ । ऋणीहरुले ३ महिनासम्म नियमित ब्याज तिर्ने र त्यसपछि क्रमैसँग किस्ताबन्दीमा साँवा रकम भुक्तानी गर्दै जानुपर्ने शर्त छ ।”
सावाँ ब्याज भुक्तानी गरिसकेपछि ब्याजको ६० प्रतिशत रकम भने ऋणीलाई फिर्ता हुने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साधनालाई ५ करोड रुपैयाँ रकम सहुलियतपूर्ण ऋण प्रवाहका लागि उपलब्ध गराउनेछ । त्यसमध्ये पहिलो किस्ता वापत प्राप्त भएको २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरिएको हो ।
५ वर्षअघि गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय स्थापना गरी कारोबार सुरु गरेको साधना लघुवित्तको चुक्ता पँुजी ३२ करोड १२ लाख रुपैयाँ छ भने अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको बताइएको छ । हालसम्म १ लाख १ हजार सदस्यमार्फत १ अर्ब ३२ करोड रुपैयाँ बचत संकलन गरी ५९ हजार ऋणीमार्फत ५ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरिएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।
गोरखा जिल्लामा ९ वटा शाखा कार्यालयमार्फत हालसम्म १७ करोड ५२ लाख रुपैयाँ बचत संकलन गरी ७१ करोड २९ लाख रुपैयाँ कर्जा परिचालन गरिएको उनको भनाइ छ । साधना लघुवित्तको गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको छ भने ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्