Logo

अमेरिकी अर्थतन्त्रमा कृषिको योगदान अत्यन्त न्यून छ र पनि मकै र भटमास भने धेरै उत्पादन गर्ने मुलुकमा चिनिन्छ ऊ ।

हामी सोखिन उपभोक्ताका कारण पनि समस्या

कृषिप्रधान देश हामी, वर्षकै ५० अर्बको चामल किनेर खान्छौँ मात्रै होइन एक वर्षमा १ अर्बको गुन्द्रुक आयात भएको तथ्यांक पनि छ । समग्रमा व्यापारघाटा वार्षिक बजेटभन्दा बढी छ । हो मान्छे निर्यात गर्छौं हामी र त गएको आव मा हामीले अघिल्लो आवभन्दा २.८ प्रतिशतले विप्रेषणको वृद्धि गरी १० खर्ब ७ अर्ब ३१ करोड रकम भिœयाउन सकेछौँ । गत आवमै यस्तो रकम देशमा ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले बढाएर ८ अर्ब ३३ करोड पुर्‍याउन पनि सकेका छौँ, अघिल्लो आवमा यस्तो रकम आप्रवाह ८.२ प्रतिशतले बढायौँ । अघिल्लो वर्षमा अन्तिम स्वीकृति लिनेको संख्या ६२.८ प्रतिशतले घट्दा हाल वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढेर ३ लाख ५४ हजार ६ सय ६० पुगेको तथ्यांक सार्वजनिक भएको छ । विदेशी मुद्रा भने १३ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको भनाइ छ, भनौँ विदेशी विनिमय सञ्चिति १३ प्रतिशतले घटेर १२ खर्ब १५ अर्ब ८० करोडमा झरेको र यूएस डलर ०७८ असारमा ११ अर्ब ७५ करोड सञ्चिति रहेकोमा २०७९ जेठमा १८.१ प्रतिशतले घटेर ९ अर्ब ५४ करोड रहेको, त्यसको असारमा आइपुग्दा ३० अर्बले बढेको नेराबैंककै भनाइ छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य तीनपल्ट घटेर आउँदा पनि यहाँ चुपचाप घटाउने कुरो छैन, जसले ढुवानीलगायतको आपूर्ति समस्या यथावत् छ, सार्वजनिक परिवहनको शुल्क महँगो छ । हामी सोखिन उपभोक्ता चार पाइला पैदल हिँड्नु नहुने, दुई किलोको भारी बोक्न लाज लाग्ने, घरेलु उत्पादनलाई छि: भन्ने, बट्टा, बोतल बन्दी, तयारी खाना खानुपर्ने, स्वदेशको चामल मोटो भयो, रक्सी बनाउन दिने, लामा र बास्नादार भुजा नै खानुपर्ने, दौरा न सौराको खल्ती भन्थे पहिले हाम्रा अग्रज, अरूले घोडा चढ्दा हामीले के धुरी चढ्ने पनि भन्थे, घाँटी हेरी हाड निल्नु भन्थे, तर अहँ यहाँ त्यस्तो कहीँ भएको छैन, एक राजा फालेर आठ राजा, कैयन् रानी, जिल्लैपिच्छे कति धेरै मन्त्री, सांसद, कति खर्चिलो संघीयताको भारी, जनता ऋणमा परुन्जेल करको मार, स्वदेशी, विदेशी जन्मदै ऋण, बेरोजगारीको समस्या, उद्योग कलकारखाना शून्य, गजबको चालामाला छ । देशमा चुनावको भारी, उही नेता उही अवस्था, मात्रै होइन दिनपरदिन गिर्दो र नाजुक आर्थिक स्थिति छ यहाँ, भनियो सिंगापुर, बनाइयो श्रीलंका ।
स्वदेशी जुत्ता लगाउनु नहुने, विश्वविख्यात ब्रान्डको जुत्ता, त्यस्तै सुटकेस र ब्रिफकेस, विश्वको कुन कम्पनीले उत्पदान गर्‍यो, तुरुन्तै सिंगापुर पुग्यो, त्यही मगाएर प्रयोग गर्नुपर्ने हामी सोखिन नेपाली उपभोक्ता, अरूको देखासिकी र नक्कल गर्नेमा अब्बल तर इमानदारिता, सरसफाइ, स्वास्थ्यको गुणस्तर, रोजगारी दिने खालको शिक्षा नभए पनि हुने । राजनीतिको रंग भर्ने, सडक तताउने, ढुंगा हान्ने शिक्षा हाम्रो । जति व्यापार बढ्यो सरकारलाई उति कर, भन्सार महसुल थपिने, असारे विकास ठेकेदारको पोषण, उपभोक्ताले स्वदेशी दूध, दही, मोही, चिउरा, रोटी खान त के नामै लिन नहुने, बहुराष्ट्रिय कम्पनीका उत्पादन ड्यु, कोक, फ्यान्टा, बर्गर, पिजा, विदेशी कफी एन्ड चिया, घुँडा च्यातेर महँगो जिन पाइन्ट लाउनुपर्ने, साडी, चोली, दौरासुरुवालको नामोनिसान संसद्मा समेत नपाइने, राष्ट्रियतालाई कतै खोज्नुपर्ने अवस्था छ । विलासी वस्तुको अधिक प्रयोग, बचतको भावना शून्य, घरजग्गा बिक्री गरेर मनोरञ्जन, आयातित गाडी अनि महँगो तेलको प्रयोग, बाउबाजेको पालामा गाईवस्तु राखिने गोठ, सिँढी, पिँढीमा कंक्रिटका खम्बा अनि कार र मोटरसाइकल, धानको भकारी छैन, झोलामा चामल, मकै, आटा, गहुँको परिकार कसले खाने ? खेत रोप्ने बाउसे, रोपाहारलाई पहिले नै कोक र फ्यान्टा टक्र्याउनु पर्ने, हातमा पन्जा र मोबाइल, धानको बीउ माला लाउँदै फेसबुकमा प्यारा/प्यारीलाई सेन्ड गर्नुपर्ने कस्तो जमाना आयो ।
कोरोना आयो, सक्नेले, धनाढ्यले, नवधनाढ्यले, विकसित देशहरूले राहत बाँडे, युरोप, अमेरिका अब्बल देखिए यसमा, पैसाको खोलाबाढी बगाए । उपभोक्ताको हातमा पैसा बढी आयो र त कोरोनापछि सेयर बजार उर्लियो, हीरा, सुन, घरजग्गा, हवाईभाडा, ढुवानी भाडा कता हो कता शुल्क चर्को, गुमेको पैसा फर्काउने गतिलो चलाखी तिनको । ठूला औद्योगिक देशले सामान उत्पादन गरे, महँगो शुल्क लगाए, सानाले पनि सकी–नसकी केही उत्पादन गरे तर ठूला देशकै महँगो कच्चा पदार्थ प्रयोग गरे, महँगो दरमै किन्न बाध्य भए । फलामे डन्डी, तेल, चामल मिलका कच्चा पदार्थ सबैको आयात गर्नुपर्ने, बेच्ने मुख्य देशहरू भनेका उनै चीन, रसिया, अरेबियन कन्ट्री, उही विश्वको आर्थिक राजधानी अमेरिका, घुमीफिरी पैसा तान्ने तिनै देशहरू । विश्व व्यापार संगठनको आड लिन्छन्, कार्टेलिङ गर्छन्, मोनोपोली गर्छन्, बाहिर नमिलेको जस्तो गर्छन् भित्रभित्रै संगठित हुन्छ्न् माग र आपूर्तिको आकलन गर्छन्, अध्ययन गर्छन्, कता केको बढी माग छ पत्तो लाउँछन्, विपत्तिको अवस्था पनि नियालेर हेर्छन्, मौकामा चौका दाउ हानिहाल्छन्, पराधीन अर्थव्यवस्था अँगालेका हामीजस्ता उपभोक्ता त हेरेको हेर्‍यै हुन्छौँ, घुँडा टेक्नुबाहेक के ओखती छ हामीसँग ? कहिले त ती पनि निर्यात बन्दको घोषणा गरिदिन्छन् ।
अमेरिका विश्वकै आर्थिक महाशक्ति राष्ट्र हो । सन् १८७१ देखि एकछत्र विश्वकै अग्रणी स्थानमा छ ऊ । औद्योगिक उत्पादनलगायत सेवा क्षेत्रबाट पनि उसले कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशत स्थान ओगटेको छ । औद्योगिक उत्पादन मात्र १५ प्रतिशतमा सीमित छ । यहाँ पुँजीवादी मिश्रित अर्थव्यवस्था छ । प्रचुर प्राकृतिक सम्पदा, उच्च उत्पादकत्वको दर र अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार अमेरिकाको कुल गार्हस्थ्य उत्पादन १ सय ९४ खर्ब डलर बढी छ । उसको कुल गार्हस्थ्य उत्पादनले विश्वको जीडीपीमा २४ प्रतिशत हिस्सा ओगटेको छ, प्रतिव्यक्ति आयको सूचीमा ९ औं स्थानमा परेको छ विश्वमै । कोरोनाअघि सन् २०१८ मा उसको कुल गार्हस्थ्य उत्पादन २ सय ४ खर्ब डलर नाघेको थियो । विश्वमा ठूलो आयातक मुलुक हो यो र दोस्रो ठूलो निर्यातक पनि । सन् २०१७ मा त उसले व्यापारघाटा पनि सहनुपरेको हो, २८ खर्ब ९५ अर्ब डलरको आयात अनि २३ खर्ब २९ अर्ब डलरको निर्यातले उसको व्यापारघाटा देखाएको थियोे । उसको व्यापार घाटा हुने मुलुक भनेको चीन, जापान, मेक्सिको, जर्मनी अनि क्यानडा हो । थोक र खुद्रा व्यापारमा अमेरिका अग्रणी छ, औद्योगिक राष्ट्रकै रूपमा पनि । म्याकडोनाल्ड र कोकाकोला उसको चर्चित कम्पनी हो । त्यति मात्रै होइन, विश्वकै तेल उत्पादनको पहिलो मुलुक हो यो र पनि ऊ दोस्रो ठूलो तेल आयातक मुलुक पनि बनेको छ । विद्युत् र परमाणु ऊर्जामा अब्बल दर्जामा छ अमेरिका । प्राकृतिक ग्यास र सल्फर नुन उत्पादनमा पनि अगाडि छ । कोइला, खनिज, तामा, सिसा, म्याग्नेसियम, जिंक, टाइटेनियम पनि हो उसको उत्पादन । अमेरिकी अर्थतन्त्रमा कृषिको योगदान अत्यन्त न्यून छ र पनि मकै र भटमास भने धेरै उत्पादन गर्ने मुलुकमा चिनिन्छ ऊ ।
छिमेकी भारतले आटा, सुजी, गहुँ निर्यातमा रोक लगाएको छ, आपैmँलाई पुग्दैन भन्दै । साना देशहरू मुख मिठ्याउँछन् प्रत्यक्ष वैदेशिक लगानी आउँछ भनेर । तर, तिनले लिने फाइदा आपैmँ कुम्ल्याउँछन् । कतिपय देशले बजार पूरै हस्तक्षेप गरेका छन् । आफ्ना उत्पादनको व्यापक विज्ञापन गरेका छन्, साना नानीहरूले विज्ञापनकै भरमा कति खर्चालु बनाउँछन्, अभिभावकहरूलाई । मुखै लोभ्याउने चकलेट, चाउचाउ, टुथपेस्ट या अन्यान्य हेरौँ त हामीले, आफ्नो लगानी यिनीहरू आपैmँ उठाउँछन् । विज्ञापनको खर्च उपभोक्ताबाटै असुल्ने हो र त विगत तीन दशकमा औसत ७ प्रतिशतले महँगी वृद्धि भएको बेला अहिले कोरोनापछि केही महिनामै दोब्बर भनौँ औसत १४ प्रतिशतले महँगी वृद्धि भएको छ, विषयगत वस्तु हेर्दा कुनैको शतप्रतिशतभन्दा बढीले महँगी बढेको छ । संसारमा गरिबी उन्मूलन गर्ने नारा घन्काइन्छ तर भएको छ ठीक उल्टो, गरिबी बढेको छ, चाहे भूकम्पपछि या कोरोनाकालपछि यहाँ र अन्यत्र पनि । आपूर्ति श्रृंखला, उत्पादन र वितरणको अवस्था हेर्दा संसारमै गरिबी घटेको होइन, बढेको छ । पेट्रलियम पदार्थको अधिक मूल्यवृद्धि, विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री, कोइला, खनिज, कृषि एवं व्यापारिक क्षेत्रका सर सामग्रीको मूल्य बढेको छ, भन्छन् देशहरू कोही आपूmलाई समाजवादी वा पुँजीबजार, तर जे भन्छन् पैसा असुल्नकै लागि मानव अधिकारको दुहाइ पनि दिन्छन्, लोकतन्त्रको नारा भट्याउँछन्, राजनीतिबाटै आर्थिक समृद्धि भन्छन्, विकासको गफ, दिन्छन् तर दस्तुरी वित्तीय अधिकार आपैmँ राख्छन् । बिजुलीको खपत बढाउने, आयातित इन्धनको खपत घटाउने भन्छन्, विद्युतीय गाडीको नारा दिन्छन् तर गाडीको ब्याट्री बेच्ने कि अमेरिका हो, कि त चीन र यसको कच्चा पदार्थ दिने भनेको अफ्रिकी खानी हो जसमा ९० प्रतिशत हिस्सा चीनकै कब्जामा छ, बाँकी १० प्रतिशतको कब्जा अमेरिकासँग । आपूmखुसी मोल राख्छन्, उपभोक्तालाई दनक दिइन्छ, आखिर ब्याट्री जोसुकैलाई चाहिन्छ नत्र गाडी गुड्दैन । पेट्रोलियम पदार्थको अवस्था उही छ, ओपेकको एकाधिकार वा साउदी अरबको, अन्य देश प्रायश: आयातक मात्रै । कोइलाको स्रोत भारत हो, चीन, दक्षिण अफ्रिका, इन्डोनेसिया, मंगोलिया पनि त हो । फुड ग्रेनमा युक्रेन अगाडि छ, ऊ आपैmँ रसियासँग पौँठाजोरी खेल्दै छ, संसारलाई हालको महँगीमा ल्याउने ऊ पनि त हो । फुड ग्रेनमा सँगैको रसिया पनि हो अब्बल, अस्ट्रेलिया, क्यानडा भारत, साउथ अमेरिका त हुँदै हुन्, अनि खाने तेलमा अर्जेन्टिनना, युक्रेन, दक्षिण अमेरिका अब्बल छन्, संसारलाई खुवाउने/पिलाउनेमा क्यानडा र युरोप तोरीको तेलका लागि अब्बल छन् । धातु तामाका लागि चिली अगाडि छ । मुद्रामा उही सुपर पावर अमेरिकाको कब्जा छ भने कम्प्युटर र सफ्टवेयरका लागि ऊ नै अब्बल छ । महँगी बढाउने कोरोना चीनबाट आयो, उसलाई बजार हस्तक्षेप गर्न झन् सजिलो भयो । संसारभरिका लाखौँ मानिस मरे, कोरोनाबाट चीनमा नाम मात्रको असर, यही त अचम्म छ, के भन्ने हामीले ?

प्रतिक्रिया दिनुहोस्