समयमै सडक निर्माण गर्न मन्त्रीलाई स्थानीयको दबाब

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गरेका छन् । आइतबार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडकखण्ड अन्तर्गतको मड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गरेका हुन् ।
शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा आठ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । अब ठेक्का पाउने ठेकेदार कम्पनीले चार ठेक्का पाएको चार महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । ठेक्का प्रक्रियाअघि सडकको अवलोकनका लागि सम्बन्धित स्थानमा पुगेका मन्त्रीद्वय राई र श्रेष्ठले अबको चार महिनामा सडक निर्माण गरिसक्ने प्रतिबद्धता जनाएका छन् । अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री राईले राजनीतिक आवरणमा काम सम्पन्न नगरेका ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर अब काम सुरु गर्ने बताए । उनले आमजनताको माग सम्बोधनका लागि तीन महिनासम्म लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सक्ने हिसाबले काम भइरहेको बताए । उनले ठेक्का पाएको कम्पनीले चार महिनाभित्र काम सकिसक्नुपर्ने बताए । उनले स्थानीयवासीका समस्या समाधान हुन अब समय नलाग्ने भन्दै चार महिनामा नै सडक निर्माण भइसक्ने भएकाले ढुक्क हुन स्थानीयलाई आग्रह गरे ।
त्यस्तै सामान्य प्रशासनमन्त्री श्रेष्ठले विगतका सरकारले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निर्माणमा व्यवस्थित काम गर्न नसकेको बताए । उनले अब भने फास्ट ट्रयाकबाट काम अघि बढाउने बताए । उनले चार महिनामा नै सबै काम सकिने गरेर ठेक्का प्रक्रिया आह्वान गरिएकोले काम समयमा नै सकिने प्रतिबद्धता गरे । उनले ठेक्का लिने काम नगर्ने प्रक्रियालाई निरुत्साहित गर्न समयमा नै काम नसके क्षतिपूर्ति दिनुपर्ने नयाँ प्रक्रियागत व्यवस्थाको थालनी गरिएको दाबी गरे ।
सिसडोलका स्थानीयबासी भने निरीक्षणका लागि पुगेका मन्त्रीहरूसँग रुष्ट देखिएका थिए । उनीहरूले सबै मन्त्री निरीक्षणका लागि आउने तर दिएका आश्वासन पूरा नगर्ने भन्दै आश देखाउन बन्द गर्न आग्रह गरे । स्थानीयले सडक निर्माण नभएकै कारण विद्यार्थीहरूले पढ्न नपाएको र जागिर खानेले पनि दिनको पाँच सय तिरेर ट्याक्सीमा आवतजावत गर्नुपरेको दु:खेसो पोखे ।
स्थानीयहरू आठ किलोमिटरभन्दा लामो रुटमा समेत कुनै पनि सार्वजनिक यातायात नराखेको भन्दै मन्त्रीहरूसँग ओक्रोशित बने । मड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक यातायात सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरे । आशा देखाउनकै लागि अवलोकन गर्न पुगेको हो भने आशा देखाएर नै निराश नबनाइदिन उनीहरूको माग छ ।