‘तोकिएकै समयमा सडक निर्माण हुन्छ’ «

‘तोकिएकै समयमा सडक निर्माण हुन्छ’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडकको निरीक्षण गरेका छन् ।
आइतबार मन्त्रीद्वय राई र श्रेष्ठले उक्त क्षेत्रका सडकको निरीक्षण गरेका हुन् । यो सडकखण्ड चार नारायण थानलाई जोड्न महत्वपूर्ण भएकाले तोकिएको समयमा नै सक्नुपर्ने स्थानीयको माग छ । निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले स्वयम्भू–इचंगुनारायण सडक तोकिएकै समयमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले मन्त्रालयले काम छिटो होस् भन्नका लागि आवश्यक कदम चाल्न आनाकानी नगर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका लागि पनि महत्वपूर्ण स्थान भएकाले यसलाई चाँडै काम सकेर पर्यटनको उत्थान गर्ने बताए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढी सक्रियताका साथ काम गरे समय अगावै निर्माण सम्पन्न हुने बताए ।
यातायातमन्त्री राईले चार नारायण थानलाई जोड्ने यो मार्ग महत्वपूर्ण भएको बताए । उनले निर्माणका लागि दिइएको समय चार महिना सकिसकेको र अब १४ महिनामात्रै बाँकी रहेको भन्दै समयमै काम सकिने प्रतिबद्धता जनाए । उनले सडक निर्माणका लागि छुटेका कुरालाई पनि समावेश गरेर समयअगावै काम सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको दाबी गरे ।
सडक निर्माण हुन नसक्दा इचंगुनारायणमा लाग्ने मेलामा पनि विभिन्न समस्या भएको स्थानीयको गुनासो छ । उनीहरूले सडक निर्माणको काम समयमै नहुँदा तोकिएको समयमा नै काम सकिनेमा आशंका उब्जिएको बताए ।

प्रतिक्रिया दिनुहोस्