Logo

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना

बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ ।
कोहलपुरमा नापी र मालपोत कार्यालयको आज उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्न सरकार योजनाबद्ध रूपमा लागेको बताइन् ।
मन्त्री श्रेष्ठले कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्न बजेट व्यवस्था नभए पनि बजेट अभाव हुन नदिन अर्थ मन्त्रीबाट भएको प्रतिबद्धताअनुसार कार्यालय सञ्चालनमा ल्याइएको बताइन् ।
जनताको दैनिक जीवनसँग जोडिएको भूमि र जग्गा प्र्रशासन सम्बन्धी सेवा प्रवाहका लागि संवैधानिक व्यवस्था अनुरूप गर्न मन्त्रालय प्रतिबद्ध भएर लागिरहेको भन्दै मन्त्री श्रेष्ठले प्रविधिको माध्यमबाट भूमि र जग्गा प्रशासनमा सुशासन कायम गर्न मन्त्रालयले काम सुरु गरिसकेको पनि बताइन् ।
उनले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई भूमि वितरणको काम गरिरहेको बताइन् । उनले भने, “अहिले वितरण गरिएको लालपुर्जा खारेज नहुने गरी कानुनी व्यवस्था मिलाइएको छ ढुक्क हुनुहोस्, प्रचार र राजनीति गर्नेभन्दा पनि तल्ला तहका नागरिकलाई अधिकार दिने र भूमिहिनको समस्या सदाका लागि अन्त्य गर्न लागि रहेका छांै, यस अघिका आयोगहरुले वितरण गरेर खारेज भएजस्तो अहिले वितरण गरेको लालपूर्जा खारेज हुँदैन सबै प्रक्रिया पुरा गरेर भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई लालपुर्जा वितरण गरेका छौं ।”
जग्गा नाप्ने तर लालपुर्जा वितरण नगर्ने प्रवृत्ति अन्त्य गर्दै प्राथमिकतामा नै नपरेको गाउँव्लकको लालपुर्जा वितरणको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर सुरु गरेपछि हालसम्म गाउँब्लक, विशेष नापी र पुन:नापीबाट ५० हजारभन्दा बढी नागरिकलाई लालपुर्जा वितरण गरिसकेको पनि बताइन् ।
मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुन:स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको पनि बताइन् ।
मन्त्री श्रेष्ठले महिलाको संविधानमा भएको सम्पत्तिको समान हकको कार्यान्वयन गर्न अंशबन्डा गर्दा छोरीलाई पनि अनिवार्य उपस्थित गराउन देरभरका मालपोत कार्यालयमा निर्देशन गरी कार्यान्वयनमा ल्याइएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्