महाकालीमा ४ लेनको पुल निर्माण तीव्र

कञ्चनपुरको भुजेलामा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणकार्य तीव्र पारिएको छ । गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात पुल निर्माणको जिम्मा पाएको कुमार सीएसईसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्यलाई अगाडि बढाएको छ । निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय स्थापनाका साथै बालुवा÷ढुंगा र गिट्टी संकलन गरेको छ ।
महाकालीमा पुल निर्माण भएपछि सुदूरपश्चिमको आर्थिक नाकाका रूपमा कञ्चनपुर नाका विकसित हुनेछ । महाकालीमा पक्की पुल निर्माणपछि भारतको पञ्जाव, हरियाणा, गुँडगाव, दिल्ली, नोयडा, रुद्रपुरलगायत महेन्द्रनगरबाट छोटो दूरीमा रहेका ठूला औद्योगिक क्षेत्रबाट सहज रूपमा वस्तु आयात–निर्यात गर्न सकिने छ । पुलसँगै महाकाली नदी वारि करिब छ किमि र पारि दोधारा–चाँदनीतर्फ डेढ किमि चार लेनको सडक निर्माण भएपछि पुल निर्माणकार्य सहज हुने निर्माण कम्पनीले जनाएको छ । मुआब्जाका लागि सरकारले रकम विनियोजन गरेको भए पनि मुआब्जा वितरण हुन नसक्दा सडक निर्माण हुन सकेको छैन ।
पुलका लागि क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, क्याम्प, पुलका लागि करिब ७० हजार घनमिटर ढुंगा तथा बालुवा संकलन भइसकेको निर्माण कम्पनीले जनाएको छ । तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माण सम्झौता भएको छ भने तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।