बूढीगण्डकी आयोजना कम्पनीमार्फत बनाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बूढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बूढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अगाडि बढाउने बताएकी छन् । आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षको मन्त्रालयको कार्यप्रगति सार्वजनिक गर्दै बूढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएकाले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा, पुनर्बासलगायत काम करिब सकिन लागेको बताइन् ।
उनले वर्षाको समयमा विद्युत धेरै हुने र हिउँदमा कम हुने भएकाले ३६५ दिन नै भरपर्दो विद्युतका लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री भएर आएको एक वर्षमा गरेको महत्वपूर्ण काममा बूढीगण्डकी पनि पर्ने दाबी गरिन् ।
मन्त्री भुसालले आयोजनाको जडित विद्युत क्षमता ८५.४ प्रतिशत बढाउनको लागि सरकारले विद्युत उत्पादकहरुलाई ‘डिजाइन डिस्चार्ज’ (क्यु) नि:शुक गरेको बताइन् । उनले नेपालको विद्युत उत्पादन ८३ हजार भने पनि आर्थिक रुपमा ४३ हजार हिसाब गरिएको भन्दै सरकारी तथ्यांकमा ६ हजार ५ सय पीपीए भएको देखिए पनि १५ सय कसैको झोलामा रहेको आरोप लगाइन् ।
मन्त्री भुसालले चार वर्षदेखि रोकिएको पीपीए अहिले खुला गरिएको र तत्काल बन्द नगर्ने पक्षमा सरकार रहेको भन्दै विद्युत उत्पादनमा निजी क्षेत्र प्रवेश गरेकाले मुलुकमा लोडसेडिङको अन्त्य र विदेशमा विद्युत निर्यात गर्न सरकार सफल भएको दाबी पनि गरिन् ।
मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगति क्रमश: ७६.६६ र ८० प्रतिशत हासिल गरेको जानकारी दिइन् । गत आवमा विद्युत उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत उत्पादन क्षमता २ हजार २६९ मेगावाट पुगेको छ । ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको छ । विद्युत चुहावट १७.१८ बाट १५.३८ प्रतिशतमा झरेको भन्दै मन्त्री भुसालले २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई नि:शुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको पनि बताइन् ।
विद्युत आधारभूत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महशुल पुनरावलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको दाबी गर्दै उनले समग्र विद्युत महशुल दर घटाइएका कारण गार्हस्थ्यतर्फको विद्युत खपत वृद्धि भएको बताइन् । हाल प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको छ । करिब ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको भन्दै उनले ‘स्वदेशी विद्युत जोडौं, विदेशी ग्यास छोडौं’ भन्ने अभियानबाट विद्युत खपतमा वृद्धि भएको दाबी गरिन् ।