Logo

नि:शुल्क बिजुली दिन सकिन्छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा जनतालाई नि:शुल्क बिजुली दिन सकिने बताएका छन् । तर, आगामी केही वर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै उनले सबैले विद्युत महशुल तिर्नुपर्नेमा जोड दिए ।
आइतबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले तत्कालका लागि उद्योगहरुलाई डिमाण्ड शुल्क छुट दिन नसकिने पनि संकेत गरे । उनले सरकारले कोभिडलगायत कारणले छुट दिएको भन्दै अहिलेसम्म करिब ९३ प्रतिशत विद्युतको पहुँच पुगेको दाबी गरे ।
आगामी २ वर्षमा शतप्रतिशत विद्युतको पहुँच पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । घिसिङले गुणस्तर र विश्वसनीयता बढायो भने विद्युत खपत बढ्ने भन्दै उनले सरकारले अहिले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको पनि बताए । उनले पछिल्लो समय कुनै पनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत प्राधिकरणले मूल्य घटाएको दाबी गर्दै गत आर्थिक वर्षमा विद्युत महशुल बढाएर नभई घटाएर भए पनि १६ अर्ब रुपैयाँ नाफा गरेको बताए ।
साथै, उनले चालू आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी पनि गरे । उनले चालू आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने भन्दै पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताए । उनले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताए ।
चालू आर्थिक वर्षकै जेठ–असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने भन्दै घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको जानकारी दिए । उनले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्यधिक रहेको बताउँदै हाल उत्पादन भएको शतप्रतिशत विद्युत खपत भइरहेको पनि बताए । विद्युत खपत २५ प्रतिशतले बढ्दै गएकाले आगामी वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्ने प्राधिकरणको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्