विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च «

विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च

काठमाडौं महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो ।
संघीय सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको बैठकले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउन नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
यसका साथै महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) पनि राख्ने भएको छ । महानगरले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । बैठकमा मेयर बालेन्द्र शाहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए । जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो । खाद्य निरीक्षकले मासु पसल र खाद्य पदार्थका पसल अनुगमन गर्नेछन् ।
यसका साथै महानगरपालिकाले ३२ वटै वडामा एक–एक जना इन्जिनियर, एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ । हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने मेयर शाहले बताए । वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहने पनि उनले जानकारी दिए । जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सक्ने उनको भनाइ छ ।
त्यस्तै, हरेक वडामा हुने विकास निर्माणको अनुगमनका लागि इन्जिनियर पनि करारमा राखिने भएको छ । यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास–निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने मेयर शाहले बताए । उनको प्रस्तावलाई नगर कार्यपालिका बैठकले अनुमोदन गरेको छ । बैठकले फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको छ ।
बैठकले टेकुको फोहोर उठाउन १५ वटा टिपर भाडामा लिने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले बोन म्यारो भएका बालकलाई एक लाख रुपैयाँ उपचार खर्च दिने, बञ्चरेडाँडामा भएको प्रदर्शनमा घाइते स्थानीय कमल तामाङको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको छ । यसका साथै महानगरपालिकाले सबै वडामा लिफ्ट जडान गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस्तै, महानगरपालिकाले ‘घ’ वर्गको निर्माण व्यवसायीको अनुमतिपत्र दिने अधिकार उपमेयरलाई दिने निर्णय गरेको छ । निर्माण कार्यको लागि सहज गराउने अधिकार उपप्रमुखलाई प्रत्यायोजन गरेको मेयर शाहले बताए । उनले नक्साअनुसार भवनको प्रयोजन नभएमा कारबाही गरिरहेको विषयलाई कार्यपालिका सदस्यहरुले साथ दिएकोमा सन्तोष प्रकट गरे ।
पछिल्ला गतिविधिले कानुनी उल्झन आउन सक्ने सम्भावना देखेर बैठकले ५ जना कानुनी सल्लाहकार पनि राखेको छ । मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरले मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको जानकारी दिए । यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्