Logo

लमजुङमा एसईई ग्रेडवृद्धि परीक्षामा पहिलो दिन ९ सय ६० जना सहभागी

माध्यमिक शिक्षा परीक्षाअन्तर्गत लमजुङमा ग्रेड वृद्धिका भएको परिक्षामा पहिलो दिन ९ सय ६० जनाले सहभागिता जनाएका छन् । शनिवारबाट शुरु भएको ग्रेड वृद्धि परिक्षा अन्तर्गत विभिन्न विषयमा नौसय ६० जनाले सहभागिता जनाएका हुन् ।
जिल्ला शिक्षा समन्वय एकाइका अनुसार ग्रेड वृद्धि परीक्षामा सहभागिताका लागि जिल्लाभरबाट एकहजार पाँच जनाले आवेदन दिएका थिए । कार्यालयका अनुसार जिल्लामा सवैभन्दा बढी गणित विषयमा परिक्षा दिन विद्यार्थीले फारम भरेका थिए ।
शिक्षा समन्वय एकाइ लमजुङका प्रमुख विरबहादुर गुरुङका अनुसार गणित विषयको परीक्षाका लागि सात सय ८५ जनाले फारम भरेका थिए । सोबाहेक अंग्रेजी विषयका लागि ६२ जना, विज्ञान विषयका लागि ४५ जना, अतिरिक्त गणित विषयका लागि ३१ जनाले फारम भरेका छन् । त्यसैगरी अतिरिक्त अर्थशास्त्र विषयका लागि १७ जना, नेपाली विषयका लागि नौजना, सामाजिक विषयका लागि आठजना र स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयका लागि तीन जनाले फारम भरेका छन् ।
यसअघिको परिक्षा नतिजा अनुसार बढिमा दुई विषयमा सि ग्रेडभन्दा कम आउनेले परीक्षामा सहभागिता जनाउने पाउने प्रावधान छ । पुन: परीक्षाका लागि शनिवार र आईतबार तालिका सार्वजनिक भएको थियो । एउटा मात्रै विषयमा परिक्षा दिन फारम भरेका विद्यार्थीहरूले शनिबार परीक्षामा सहभागी भएका छन् भने दुई विषयमा परिक्षा दिन फारम भरेका विद्यार्थीहरू आईतबार पनि परीक्षामा सहभागी हुनेछन् ।
ग्रेड वृद्धि परिक्षाका लागि जिल्लामा तीनवटा परिक्षा केन्द्र कायम भएका छन् । सदरमुकाम बेसीशहरस्थित भुपु सैनिक आवासिय मावि, जनविकास मावि बेसीशहर र जनविकास मावि चण्डिडाडामा परीक्षा केन्द्र कायम भएको शिक्षा समन्वय ईकाई लमजुङले जनाएको छ ।
२०७८ सालको माध्यामिक शिक्षा परिक्षा नतिजा अनुसार लमजुङमा ३८ जना विद्यार्थीले मात्रै सर्वोत्कृष्ट अंक ल्याएका थिए । जिल्लाभरबाट परिक्षामा सहभागि २ हजार ९ सय ८६ जनामध्ये ३८ जनाले मात्रै ए प्लस ल्याएका थिए । सो बाहेकका ए ग्रेड ल्याउने विद्यार्थी सँख्या एकसय ६७ रहेको छ । परिक्षा नतिजा अनुसार जिल्लाका विभिन्न विद्यालयबाट सहभार्गी विद्यार्थी मध्ये चारसय २२ जनाले वि प्लस, ६ सय २५ जनाले बी ग्रेड प्राप्त गरेका थिए ।
त्यसैगरी नौसय २८ जना विद्यार्थीको सि प्लस, ६ सय ४१ जना विद्यार्थीको सि, एक सय ५१ जना विद्यार्थीको डि प्लस र सात जना विद्यार्थीको डि ग्रेड आएको थियो । माध्यामिक शिक्षा ग्रेड प्रणाली अनुसार एक दशमलव ६१ देखि दुई जिपिएसम्म सि, एक दशमलव २१ देखि एक दशमलव ६ सम्म डि प्लस, शून्य दशमलव ८१ देखि एक दशमलव दुई जिपिएसम्म डि र शुन्य देखि शुन्य दशमलव आठ जीपस्एसम्म इ ग्रेडमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्