अट्वारी पर्व मनाउँदै थारु समुदाय

दाङ सहितका थारु बाहुल्यता रहेको जिल्लाहरूमा अट्वारी पर्व आइतबार धुमधामका साथ मनाइरहेका छन् । थारु समुदायको दोस्रो ठूलो पर्वका रुपमा रहेको अट्वारी कुशै औंशी पछिको पहिलो आइतबार पर्व मनाइन थालिइएको हो । दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुसे औंसी पछिको पहिलो आइतबार यो पर्व मनाउन थालेको हो । दुई दिनसम्म मनाइने अट्वारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास छ । अट्वारीको पहिलो दिन आइतवार दिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरूको कल्याण भएको मान्यताअनुसार सूर्यको पूजा आराधना गरि थारु समुदायले अट्वारी पर्व मनाउने गर्छन् ।
सूर्यलाई उज्यालो, अग्नि र शक्तिका रुपमा पूजा गर्ने प्रचलन छ । महाभारतको कथा अनुसार पाण्डव मध्यका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरूसंँ युद्ध लड्न गएको र युद्ध लडेर फर्किंदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मरेको किंवदन्ती अनुसार दिन भरी थारु समुदायका पुरुषहरू व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजा आजा गर्छन् ।
अटवारीको पहिलो दिन अर्थात् शनिबार मध्य रातिमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पुजा गर्ने गर्दछन् । अट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटी लगायतका अग्रासन झिकेर पूजा गरिन्छ । दिनभरि व्रत बस्नुपर्ने भएकाले व्रत बस्ने पुरुषहरूले गएराती भाले नबास्दै भिनसर्या अर्थात दर खाने चलन रहेको थारु समुदायका अगुवाहरू चन्द्रप्रसाद चौधरी बताउँछन् ।
उनका अनुसार अट्वारीको दिन माछामासु बाहेक रोटी, दूध, दही, तरुल, फलफूललगायतका परिकार अग्निमा चढाइ पूजा गरिने उनको भनाई छ । दोस्रो दिन बिहानै व्रतालु पुरुषहरू नजिकैको जलाशयमा गई स्नान गरेर रोटि, माछा, बिभिन्न तरकारीका परिकारहरू अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोसेली अर्थात अग्रासन छुट्याइन्छ । बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन छ । अँट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ ।
अट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको र छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन भएको थारु अगुवा चौधरीले बताए । दिनभरि परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाइलो गरिन्छ । आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्तसंगको भेटघाट, दु:ख सुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिने उनले बताए । अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिन भर निर्जल, निराहर व्रत बस्ने गर्छन् । व्रत बसेका व्रतालुहरूले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन छ । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ ।
अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइ धुवाइ पूजापाठ गर्ने प्रचलन रहेको थारु अगुवाहरू बताउँछन् । अट्वारी पर्वमा थारु बाहुल्य रहेका जिल्लाका स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन् । थारु समुदायले आफ्ना पर्व र परम्परा मौलिक तरिकाले मनाउने गर्छन् । तर पछिल्ला दिनमा संस्कृति मनाउने मौलिक शैलीमा परिवर्तन आउन थालेको छ । अटवारीको अवसरमा जिल्लामा थारु वस्ती रहेका पालिकाहरूले विदा समेत दिएका छन् ।