उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहर आर्जन गर्न फोहोरमैलाको स्रोत परिचालन गर्नु आजको आवश्यकता हो ।
फोहोरमैलाको स्रोत परिचालन : आजको आवश्यकता

काठमाडौँ महानगरपालिकाको नयाँ नेतृत्व चयनसँगै महानगरवासीको आशा, भरोसा, विश्वास फोहोरमैलाको उचित व्यवस्थापनसम्बन्धी गरेकै हो । तर, फोहोरमैला व्यवस्थापन समस्या ज्यूँका त्यूँ नै छ । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने उत्तम उपायचाहिँ हाम्रो जस्तो देशमा स्रोतमै कुहिने र नकुहिने गरी फोहोर छुट्ट्याउने र पुन: प्रयोग गरी आम्दानीको स्रोत परिचालन गर्नु हो । काठमाडौँ महानगरपालिकाले २०७९ वैशाख १ गतेदेखि कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्ट्याएर ल्याएमात्र महानगरले सो फोहोर उठाउने, नत्र भने फोहोर ल्याउने नगरवासीकै घरमा फिर्ता पठाउने नियम राखेको थियो । सो पनि कार्यान्वयन नभई पुन: साउन १ गतेदेखि काठमाडौँ महानगरले सो नियम लागू गरेको एक हप्ता नपुग्दै काठमाडौँबाट ल्यान्डफिल साइटसम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले साउन ५ गतेदेखि काठमाडौँको फोहोर राम्रोसँग उठेको छैन । सो सिलसिलामा बाटो बिग्रिएर पार्किङमा राखिएको फोहोरको गाडीमा समेत तोडफोड भएकाले फोहोर उठ्नमा झन् समस्या भई सो प्रभावले गर्मीयाम र वर्षाको कारण जनस्वास्थ्यमा तीव्र असर परी अन्तर्राष्ट्रिय समाचारसमेत बनेको छ । पछिल्लो समाचार अनुसार २०७९ भदौ १ गते फोहोरको समस्या अन्त्य गर्ने हिसाबले चारबुँदे सहमति भएको बुझिएको छ । सोअनुसार काठमाडौँमा फोहोर बोक्ने गाडीले बाटोमा लिचेट चुहाउन नपाउने, बन्चरे डाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्कनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाउने, साथै जेठ २६ भएको सहमति कार्यान्वयन गर्दै फोहोरमैला व्यवस्थापन गर्ने ।
फोहोरमैला नउठ्नुको कारण माथि उल्लेख गरेजस्तै डम्पिङ साइट जाने बाटो मर्मत, मुख्य समस्या सडक मर्मतलाई देखाएर फोहोरमैलाको आवश्यक व्यवस्थापन नगर्नु दु:खको कुरा हो । काठमाडौँ महानगरजस्तो साधन र स्रोतले सम्पन्न पालिकाले गाडी अभावका कारण फोहोर उठाउन नसकेको पनि महानगरवासीले पत्याउन नसक्ने कुरा भयो । नेपालको विकास निर्माणको विडम्बना धेरै छन् । बन्चरे डाँडाको १७ किमि सडक विस्तार तथा सुधारका लागि सरकारले ठेक्कालगायतका काम धेरै पहिले गरिसकेको तर आठ वर्षपछिसम्म सो सडक विस्तार सम्पन्न हुन नसक्नु चरम लापरवाहीको एक नमुना हो भन्नुमा अत्युक्ति नहोला । यसको प्रभाव तपाईं–हामी सबैले भोगिरहेका छौँ । त्यसैले महानगरले स्रोतसाधन तथा आवश्यक भौतिक पूर्वाधारको उपयुक्त व्यवस्थापन गर्नुपर्छ ।
नगरवासी तथा महानगरपालिकामा प्रवेश गर्ने जोकोहीको पनि ठूलो कमजोरी भनेको आफ्नो बासस्थान तथा घरमा फोहोरमैला व्यवस्थापनमा संवेदनशील नभई फोहोर घरबाहिर वा बाटैमा फाल्ने संस्कृति छ । उदाहरणको रूपमा कुनै व्यवसायीले पसल गर्छन्, त्यहाँबाट उत्पादित फोहोर यत्रतत्र बाटैमा फाल्छौँ । फोहोर लुकाउनुपर्यो भने पोका पारेर साँझबिहान हेरी जता पायो त्यतै मिल्काउँछौँ । सहरमा मात्र होइन, फोहोरको समस्या गाउँ, टोलटोलमा पनि पुगेको छ । जसको असर समुदायमा हैजाजस्तो महामारीको प्रभाव बढेको छ । माथि भनेजस्तै काठमाडौँ महानगरको फोहोरमैला अन्तर्राष्ट्रिय समाचार बनेको छ । फलस्वरूप नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटनमा समेत असर परेको छ । फोहोरमैला व्यवस्थापन विश्वमै एक चुनौतीको विषय बनेको छ । विश्वको फोहोरमध्ये सड्ने/गल्ने फोहोर ६० प्रतिशत हुन्छ भने केही वर्षअगाडि काठमाडौँ उपत्यकामा गरेको एक अध्ययनले यो अनुपात दुईतिहाइ रहेको औँल्याएको थियो । प्राविधिक रूपले फोहोर घटाउनु सिंगापुर, स्वीडेन आदिले विद्युतीय उत्पादन उद्योग नै चलाएका छन् । यतिसम्म कि फोहोर घटाउने मेसिन राख्न फोहोर नपुगेर बेलायतलगायतका देशबाट फोहोर आयात गरेका समाचार प्रकाशमा आएको छ । हाम्रो देशमा शिक्षासहित फोहोर वर्गीकरण र प्रशोधन नै यस्ता सफलताको मुख्य साँचो हो । फोहोर छुट्ट्याउने र नछुट्ट्याउनेलाई जरिवाना गर्ने कुरा केही समयदेखि प्रयास भएको हो ।
फोहोर घटाउने तीन तरिका छन् । पहिलो उपभोग नै घटाउने, दोस्रो सम्भाव्य फोहोरको पुन:प्रयोग गर्ने र तेस्रो पुन:प्रशोधन गर्ने । मुख्यत: फोहोरमैला व्यवस्थापनका लागि सोसम्बन्धी शिक्षाको आवश्यकता पर्छ । अहिलेको अवस्थामा फोहोरमैला व्यवस्थापनबारे निम्न तरिकाबाट शिक्षा दिन सकिन्छ : १. विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूबाट, यसका लागि विद्यार्थीहरूलाई फोहोरमैला व्यवस्थापन गरेबापत परीक्षामा पाउने प्रयोगात्मक अंकमै समावेश गर्नुपर्ने, २. फोहोरमैला व्यवस्थापन गर्ने विज्ञ तथा पालिकाका पदाधिकारीहरू विद्यालयमै गई फोहोरमैला व्यवस्थापनबारे अभिमुखीकरण गर्ने व्यवस्था मिलाउने, ३. फोहोरमैला व्यवस्थापनबारे विभिन्न प्रदर्शन गर्ने, यसका लागि सोसम्बन्धी विज्ञ र कलाकार, शिक्षकको महŒवपूर्ण भूमिका रहन्छ, ४. नगरवासीलाई फोहोर जताततै फाल्नु अपराध हो भन्ने भावनाको विकास गर्ने, यसका लागि पालिकाले विभिन्न गुरु, पुरोहित, विशेषज्ञ आदिको सहयोग लिने, ५. सड्ने/गल्ने फोहोर कृषिमा प्रयोग गर्ने, यसमा पोषण सुधार आदि कार्यक्रमले सहयोग गर्नुपर्ने हुन्छ । यी माथिका कुरामा सबै पालिकावासी शिक्षित भइसकेपछि फोहोरमैला व्यवस्थापनको दीर्घकालीन तरिका स्रोतमै कुहिने र नकुहिने गरी फोहोर छुट्ट्याई पुन: प्रयोग गर्न सहज हुन्छ । नगरवासीले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर राखिसकेपछि महानगरले सो उठाउने छुट्टाछुट्टै फरक रङका गाडीको व्यवस्था मिलाउन पनि अति आवश्यक छ । साथै टोलटोलमा फोहोरका लागि कन्टेनर राख्दा पनि दुवै खाले कन्टेनर राख्नुपर्छ । स्रोतमै फोहोरलाई छुट्ट्याउन सकियो भने कुहिने जैविक मलको रूपमा प्रयोग गर्न सकिन्छ । औषधिजन्य फोहोरलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप सुरक्षित व्यवस्थापन गर्नुपर्छ । ल्यान्डफिल साइटमा जैविक मल बनाउने कारखाना खोल्नु पनि अति आवश्यक छ ।
नगरको फोहोरमैलाको व्यवस्थापन दिगो गर्छु भन्नेको कमी छैन । पहिलेका जनप्रतिनिधिले पनि यही भनेका थिए । अहिले पनि यही कुरा आएको छ । केही कार्य पनि नगरेको भन्न मिल्दैन । तर, दिगो समाधान भएको छैन । दिगो समाधानका लागि पालिकाले यथार्थ रूपमा फोहोरमैला व्यवस्थापनसम्बन्धी प्रभावकारी अध्ययन गरी फोहोरमैला दिगो समाधानको आवश्यक व्यवस्था मिलाउनु, सोअनुसार स्थानीय बासिन्दाको आवश्यक मात्र मागलाई सम्बोधन गर्नुपर्ने, नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नका लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अद्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणाको विकास गर्ने, नगरवासीलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ ।
कार्ययोजना बनाउँदा बढी पारदर्शी तथा पालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने, सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्ने र नगरपालिकाले उपयुक्त प्रविधि भिœयाई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहर आर्जन गर्न फोहोरमैलाको स्रोत परिचालन गर्नु आजको आवश्यकता हो ।
सकेसम्म पालिकाकै एकीकृत रूपमा ल्यान्डफिल साइटको व्यवस्था गर्ने, पब्लिक–प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकाले कतै निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुने गरी विद्यमान कानुनहरूलाई परिमार्जन गरिनुपर्ने, विश्वविद्यालय तथा माध्यमिक तहको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्नुपर्ने तथा प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्न आवश्यक छ । फोहोरमैला व्यवस्थापन गर्नु पालिकाको मात्र जिम्मेवारी नसम्झी तपाईं–हामी सबैले फोहोरमैलाको स्रोतमै उचित व्यवस्थापन गरी स्रोत परिचालनमा सहयोग गर्नु आजको आवश्यकता हो । साँच्चै भन्नुपर्दा राजधानीको फोहोरमैलाको व्यवस्थापन गर्न विगतदेखि हालसम्मको अवस्थालाई विश्लेषण गर्दा, संघीय सरकार, काठमाडौँ महानगरपालिका, अन्य वरपरका स्थानीय पालिका तथा तपाईं–हामी सबैको सहयोगमा फोहोरमैला व्यवस्थापन गरी स्रोत परिचालन गर्नु आजको आवश्यकता हो ।