Logo

सरकारले सजगतापूर्वक अवैध व्यापार रोक्न तत्काल कार्ययोजना बनाएर लागू गर्नु उपयुक्त हुन्छ ।

आयात नियन्त्रणले अवैध व्यापार बढ्दो

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले अनावश्यक तथा बढी विदेशी मुद्रा बाहिरिने विलासी वस्तुुहरूको आयातमा नियन्त्रण गर्‍यो, जसमध्ये मदिरा पनि एक हो । तर, सरकारले विदेशी मदिरा आयातमा कडाइ गरेपछि बजारमा भने अवैध व्यापार तथा नक्कली मदिराको कारोबार बढेको छ । सामान्य अवस्थामा विदेशी मदिरा आयातमा बाहिरिने विदेशी मुद्राभन्दा बढी नै हाल अवैध व्यापारमा बाहिरिएको आशंका गरिएको छ । त्यतिमात्रै होइन, नक्कली विदेशी मदिरा बजारमा छ्यापछ्याप्ती पाइन थालेको छ, जसका कारण थप समस्या आएको छ । प्रहरीले शुक्रबार मात्रै पनि विभिन्न स्थानबाट नक्कली मदिरा बरामद गरेको थियो । एकातिर विदेशी मुद्रा बाहिरिने, अर्कातिर नक्कली विदेशी मदिरा बजारमा आउने भएका कारण सरकारमात्र नभएर उपभोक्तामाथि पनि दोहोरो असर पर्ने देखिन्छ । त्यसैले विदेशी मदिराको अवैध आयातमाथि कडा निगरानी राख्नुपर्ने तथा नक्कली मदिराका उत्पादकलाई कडा सजाय गर्न आवश्यक छ । अन्यथा सरकारले आयात रोकेको तथा विदेशी मुद्रा सञ्चिति जोगाएको प्रत्यक्ष रूपमा फाइदा न त सरकार, न त उपभोक्ता कसैले पनि पाउन सक्नेछैनन् । हाल बजारमा छ्यापछ्याप्ती अवैध मदिरा छन् । पछिल्ला महिनाहरूमा आयात नियन्त्रण गर्दा पनि मुलुकभर विशेषत: पर्यटकीय क्षेत्रमा विदेशी मदिरा सहजै पाइन्छ, जसको अर्थ सरकारको आयात नियन्त्रणले काम गरेको छैन । स्वदेशी मदिरा उद्योगीहरू पनि सरकारको आयात नियन्त्रणको बाबजुद आफ्नो व्यापारमा कुनै उल्लेख्य वृद्धि नभएको बताउँछन् । किनकि प्रतिबन्धका बाबजुद अहिले पनि बजारमा आयातित मदिरा सहजै पाइन्छ । यसरी अवैध आयात हुँदा सरकारले राजस्व गुमाउने तथा पर्यटकीय क्षेत्रले पनि आफ्ना पाहुनालाई अवैध मदिरा बेच्नुपर्ने अवस्था छ । यसरी प्रतिबन्धका कारण अवैध आयातमा सक्कलीको सट्टा नक्कली वस्तु भित्रँदा यसले अर्को समस्या सिर्जना गर्छ । नेपालको खुला सिमानाको फाइदा उठाउँदै अवैध व्यापार बढेका कारण सरकारले सीमामा हुने अवैध आयात नियन्त्रणमा पनि कडाइ गर्नु आवश्यक छ ।
सरकारले विदेशी मदिरा आयातमा कडाइ गर्दा आन्तरिक मदिरा उद्योगहरू उत्साहित भएका छन् । किनकि मुलुकमा एक वर्षदेखि वित्तीय संकट रहे पनि मदिरा उद्योगहरू आफ्नो क्षमता बढाउने प्रतिस्पर्धामा छन् । औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डबाट हालैमात्र आधा दर्जनभन्दा बढी मदिरा उद्योगले पुँजी वृद्धि तथा क्षमता विस्तार गर्न स्वीकृति लिएका छन् । औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २ सय ३६ औं बैठकले बियर उत्पादन गर्ने विभिन्न उद्योगलाई पुँजी तथा क्षमता विस्तार गर्न स्वीकृति दिएको हो ।
बोर्डले केही सुर्तीजन्य उद्योगलाई पनि पुँजी वृद्धि र क्षमता विस्तारका लागि कानुनअनुसार अनुमति दिएको छ । नयाँ रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योगले क्षमता विस्तार गर्नु सकारात्मक नै हो । मुलुकमा लगानीयोग्य पुँजीको अभाव रहेका बेला क्षमता विस्तारले अर्थतन्त्र थप चलायमान बनाउने अपेक्षा पनि गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा विस्तारमा कडाइ गरे तापनि उद्योगको क्षमता विस्तार हुँदा नयाँ रोजगारी सिर्जना हुने तथा सरकारलाई पनि राजस्व आय बढ्न जान्छ । त्यसैले सरकारले आन्तरिक उद्योगको क्षमता विस्तारलाई प्रोत्साहन गर्नु सकारात्मक हो । तर, आयातित वस्तुको अवैध व्यापार रोक्न असफल हुँदा भने क्षमता विस्तारको योजनामा रहेका घरेलु उद्योगलाई पनि नकारात्मक असर पर्न जाने हुँदा सरकारले तत्कालै अवैध व्यापार तथा नक्कली वस्तु उत्पादकलाई कडाइको साथ कारबाही गर्न आवश्यक छ । स्वदेशी मदिरा उद्योगले लगानी विस्तारै गर्दै गर्दा विदेशी ब्रान्डका रक्सी पनि अवैध रूपमा नेपाल भित्रँदा सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर महँगा मदिरासहित १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको व्यर्थ हुन गएको छ । त्यसैले सरकारले सजगतापूर्वक अवैध व्यापार रोक्न तत्काल कार्ययोजना बनाएर लागू गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्