विदेशको सीप र पुँजी नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् ।
शनिबारदेखि थाइलेण्डको राजधानी बैंककमा सुरु भएको गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालका अनेकौं अवसर भएकाले विदेशमा बस्ने नेपालीले आफ्नो क्षमता र सी अनुसार प्रयोग गर्नुपर्ने बताए । “नेपालमा लगानीको वातावरण छ । यहाँ अनेकौं अवसरहरु छन् । प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ” उनले भने, “अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ । त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सिप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ ।”
ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चाँसो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्मृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे ।
“कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौं । त्यतिबेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरु घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो । ती दृष्टान्तहरु देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ । आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ” उनले भने ।
गैर आवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहने बताउँदै ढकालले त्यसको केही प्रतिशत भएपनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र समृद्धिमा प्रयोग गर्न आग्रह गरे ।
“हामीले जुन सिप वा प्रविधि सिकिरहेका छौँ त्यसलाई पनि हाम्रो देशको विकासमा लगाउँ । संसारको कुनाकाप्चमा पुगेर हामीले प्राप्त गरेको सिप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाउँ । यसले मुलुकको काचुली फेर्न सघाउ पुर्याउँछ । सम्मृद्धि हासिल गर्न सघाउँछ” उनले भने ।
गैरआवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको बताए ।