ट्राफिक व्यवस्थापन गर्न डिभाइडर हटाइयो «

ट्राफिक व्यवस्थापन गर्न डिभाइडर हटाइयो

नेपालगन्ज उपमहानगरले ट्राफिक व्यवस्थापन गर्न सुर्खेतरोडमा राखिएका डिभाइडर हटाउने अभियान सुरु गरेको छ । नेपालगन्ज उपमहानगरका प्रमुख डा. धवल शमशेर राणाको अध्यक्षतामा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णयानुसार सुर्खेतरोडको फोरलेन सडकमा भएका डिभाइडर उठाउन सुरु गरेको हो ।
अत्यन्तै वजनदार डिभाइडर हटाउन दिउँसो सम्भव नभएपछि क्रेनमार्फत राति उठाउन लागिएको नेपालगन्ज उपमहागनरका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । “यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्स्ट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवागमनमा थप समस्या निम्तिएपछि डिभाइडर उठाउन सुरु गरिएको हो,” उपप्रमुख थापाले बताइन् ।
नेपालगन्ज–२० को राँझाचोकदेखि गणेशमान चोकसम्मका ३२५ डिभाइडर हटाउन लागिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले जनकारी दिए । सूचना अधिकारी पौडेलका अनुसार उठाइएका कतिपय डिभाइडर ग्रीन बेल्टसँगै जोडेर क्रसिङ क्षेत्रमै राखिनेछ ।
क्रसिङ क्षेत्र धेरै भएका कारण यात्रुहरूले जथाभावी बाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिक व्यवस्थापनमा समस्या निम्त्याउन थालेपछि क्रसिङ मोडमा डिभाइडर राख्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक होम थापाले जानकारी दिए । उनले सडकका २५ वटा क्रसिङ (मोड) मा डिभाइडर राख्ने तयारी गरिएको बताए ।
नगरको समग्र ट्राफिक व्यवस्थापनमा विशेष पहल सुरु गरि सकिएको उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले जानकारी दिए । उनले सुरक्षित र सहज आवागमनका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गरिने बताए । सुर्खेतरोड र सदरलाइन सडक क्षेत्रका ४७ स्थानमा पार्किङस्थल बनाइने तयारी गरिएको प्रमुख राणाले जानकारी दिए ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक चिन्ह, सूचनामूलक बोर्डलगायतका काम अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाका उपप्रमुख थापामगरले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्