विकास ध्वंसबाट होइन, निर्माणबाट हुन्छ: नेता बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरूले नक्सा पास नभएका संरचनाहरूमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए । उनले केही मानिसले साथ दिए भन्दै कानुन मिचेर जनतालाई दु:ख दिने काम नगर्न पनि चेतावनी दिए । उनले आफ्नो निर्वाचन क्षेत्रमा ध्वंसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको दाबी गरे । उनले निर्माणबाट नै सुन्दरता ल्याउन सकिन्छ भन्नेकुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आग्रह दिए ।
नेता बस्नेतले संविधानमा दुईपटकभन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग गरे । उनले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरू कति पटक हुने भन्ने नीति नै निर्माण गरेर जान आह्वान गरे । नेता बस्नेतले समानुपातिकतर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो नभएको जिकिर गरे ।
नेता बस्नेतले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप लगाए । उनले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले भन्दै निर्वाचनमा प्रत्यक्षतर्फ नै ७० भन्दा बढी सिट जित्ने दाबी गरे ।