सर्केगाडका पर्यटकीय स्थल «

सर्केगाडका पर्यटकीय स्थल

सर्केगाड हुम्ला जिल्लाको मध्यभागमा रहेको गाउँपालिका हो । विभिन्न सम्भावित पर्यटकीय स्थल भए पनि उचित प्रचारप्रसार नभएका कारण यहाँका ऐतिहासिक र धार्मिक धरोहर लोपोन्मुख अवस्थामा छन् ।
गाउँपालिका कार्यालयले त्यस्ता खालका स्थललाई जिर्णोद्धार र मर्मत गर्न हरेक वर्ष पर्याप्त मात्रामा बजेटको व्यवस्थापन गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे बताउँछन् । धार्मिक, सांस्कृतिक तथा कृषि पर्यटनको लागि राम्रो सम्भावना भएका कारण यस्ता धरोहरलाई सम्वद्र्धनको लागि गाउँपालिका लागिपरेको पाण्डेको भनाइ छ ।
यहाँका विभिन्न गाउँ र वडामा मनाइने चाडपर्व र संस्कृतिको जगेर्ना गर्नको लागि हरेक वर्ष धुमधामसाथ मनाएर प्रचारप्रसार गर्नको लागि गाउँपालिकाको कार्यालय लागिपरेको अध्यक्ष कृष्ण रोकायाले जानकारी दिए ।

उनापानी तातोपानी
तातोपानीको खोला नै बग्ने उनापानी वडा नं. ३ मा पर्छ । करिब ३०० क्युविक पानीको बहाव रहेको यो खोलामा हुम्ला जिल्लाका विभिन्न स्थानबाट नुहाउन आउने आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । विशेष गरी हाडजोर्नी रोग र बाथ रोगको उपचार हुने विश्वासका साथ बास नै बस्ने गरी स्नान गर्ने गरिएको छ । गत वर्ष गाउँपालिकाले यसलाई व्यवस्थित गर्न बजेट छुट्याएको थियो । एकै ठाउँमा तातो र चिसो पानीको खोला भएका कारण पानी मिसाएर नुहाउन समेत सहज हुने गरेको छ ।

तलछडी झरना
गोठी गाउँनजिक रहेको यो झरना अति नै सुन्दर छ । यो झरना १८७८ मिटर उचाइमा रहेको छ । झरनाको नजिक स्थानीय तलछडी जलविद्युत् आयोजना सञ्चालनमा छ । झरनाको फेदमा घाम लागेको बेला इन्द्रेणीको दृश्य देख्न पाइन्छ ।

देवाकाँध र नाब्लेथाब्ले
बराई वडापालिकामा रहेको देवाकाँधको पौराणिक मान्यता ठूलो रहेको छ । माघ पूर्णिमामा आफूले चिताएको वर माग्नको लागि रातभर जाग्राम बसेर यहाँ पूजाआजा गरेमा चिताएको पूरा हुने विश्वास छ । २ हजार ३ सय ८ मिटर उचाइमा रहेको यो देवताको बास बस्ने गुफाको रुपमा चिनिने गरिन्छ । गुुफाको भित्र विभिन्न आकृतिका प्राकृतिक बुट्टा देख्न पाइन्छ । गाईको थुनबाट दूध चुहिएको भाग्यमानीले मात्र देख्न पाउने पौराणिक मान्यता रहेको छ ।
त्यसैगरी ३ हजार ३ सय ७४ मिटरको उचाइमा रहेको अर्को पौराणिक मान्यता बोकेको देवाकाँध उति नै महत्वपूर्ण स्थानको रुपमा रहेको छ । विशेष गरी यि दुई तिर्थस्थलमा चिताएको पूरा हुने र गौजो काट्ने (ग्रहदशा काट्ने) तिर्थस्थलको रुपमा कहलिएको छ ।
यसलाई गाउँपालिकाले सहज बाटो र सुविधा दिन सकेमा यसको महिमा अझ बढ्न सक्ने वडाध्यक्ष खड्कनन्द बुठाथोकीले बताए । मेला लागेको दिनमा स्थानीयले भजन किर्तन र देउडासमेत खेल्ने गरेको पाइएको छ । हाल जिल्लाभरका देउडा खेलाडीलाई समेत निम्तो गरेर प्रतिष्पर्धा गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्