कर्णालीको गन्तव्य तातोपानी «

कर्णालीको गन्तव्य तातोपानी

जुुम्लाको तातोपानी धारा कर्णालीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । भ्रमण अवलोकनका साथै त्यहाँ नुहाएमा हाडजोर्नीका समस्या निको हुने विश्वासका कारण यसको महत्व निकै छ ।
नेपालभरी भएका विभिन्न तातोपानी ताल तथा कुण्डहरू भन्दा भिन्न गन्ध भएको, हाडजोर्नी, बाथरोग चट्टै निको पार्ने विश्वासले यसको महिमा आन्तरिक तथा बाह्य पर्यटकहरूमा बढ्दै गएको स्थानीय धन बहादुर बुढा बताउँछन् । उनका अनुसार त्यसको अलवा तातोपानीले सुन र चाँदीसमेत छुट्याइदिन्छ ।
“यहाँ शुरुमै आउने पर्यटक निकै कम छन् । रारा प्याकेज बनाउँदा जुनसुकै पर्यटकको पनि अन्तिम गन्तव्य तातोपानी हुने देखेका छौं,” उनले भने, “पहिलो रारा जाने, दोस्रो जुम्ला चन्दननाथ, बौद्ध स्तुपा, छुमचौर हँुदै अन्तमा तातोपानी पुग्ने प्याकेज बनाएर पर्यटकहरू आएको पाइएको छ ।”
अन्तबाट हिँडेर धुलो बोकेर आउने र अन्तमा तातोपानीमा घुम्नुका साथै स्नान गरी सफा फ्रेस भएर फर्किने मनसायले पनि तातोपानी पर्यटकहरूको अन्तिम गन्तव्य बनेको हुन सक्ने तातोपानी पर्यटक विकास केन्द्रका अध्यक्ष नवराज बुढाले बताए । उनका अनुसार पहिलो विशेषा पर्यटन गन्तव्य र दोस्रो विभिन्न रोग निको गर्ने हो । । अहिलेको एक दशक पहिले तातोपानीमा आउने पर्यटकहरूलाई पर्यटकको नाम दिइन्थेन । खाली नुहाउन आएका हुन् भन्ने दृष्टिले हेरिन्थ्यो । तर सडकको पहुँचसँगै दैनिक सयांैको घुइँचो लाग्न थालेपछि अहिले पर्यटकीय हिसाबले विभिन्न गतिविधि भइरहेको अर्का स्थानीय कन्न बुढाले बताए । केही वर्षयता तातोपानीको व्यवस्थापनमा देखिएको सक्रियताका कारण तातोपानी धारा पर्यटकीय स्थलका रुपमा निकै चर्चित हुँदै गएको छ ।
कर्णाली सरकारले २०७५ लाई रारा पर्यटन वर्ष घोषणा गरेसँगै यहाँ आउने पर्यटकहरूको निकै घुइँचो लाग्ने गरेको छ । दैनिक रुपमा पैदल तथा गाडी रिजर्भ गरेर झण्डै २ सयको हाराहारीमा पर्यटक रारा जाने गरेका छन् । तातोपानी पर्यटक विकास केन्द्रले भने वर्षभरी रारामा आउने जम्मा पर्यटकहरूको ८० प्रतिशत पर्यटक तातोपानी धारामा आएर जाने दाबी गरेको छ । जसमा हिँडेर आउने पर्यटक विदेशी बढी भएको कान्जिरोवा होटल सञ्चालक तथा पर्यटक गाईड नेर्बु तामाङले बताए ।
एकचोटी आएका आन्तरिक तथा बाह्य पर्यटक कम्तीमा पनि ३ पटकसम्म आउने गरेको पाइएको गाउँपालिका अध्यक्ष नवराज बुढाले बताए । विशेषगरी तातोपानी अन्तिम गन्तव्यका रुपमा पनि चिनिँदै आएको छ । राराताल जाने चन्दननाथ घुुमेर अन्तमा तातोपानीमा स्नान गरेर मात्रै कर्णालीमा आउने पर्यटकहरू फर्किने गरेका छन् ।
एक दशक पहिले तातोपानीमा आउने पर्यकटलाई कहाँ खाने कहाँ बस्ने चिन्ताले सताउँथ्यो । तर केहि समययता पर्यटक चहलपहल बढेपछि होटल व्यवसाय फष्टाउँदै गएका छन् । पहिले चिया पनि नपाउने घरहरू अहिले रेष्टुरेण्टमा बदलिएका छन् । तातोपानीको प्रवेशद्वार कर्णाली राजमार्गको आडमै छ । जहाँ अहिले झण्डै आधा दर्जन साना ठूला होटल खोलिएका छन् ।
पर्यटकको संख्यामा वृद्धि हुँदै गएपछि झण्डै साढे ३ करोडको लगानीमा सत्कार होटल एण्ड रेष्टुरेण्ट खोलिएको मालिक तेजेन्द्र्र रावलले बताए । अर्का लगानीकर्ता राजु केसीले पनि २ करोडको लगानीमा रिभरसाइट होटल खोलेका छन् । सुशान्त होटल, दुर्गा होटललगायत आधा दर्जन साना होटल तातोपानी आसपासमै छन् । तातोेपानीमा बढेको पर्यटक चहलपहले गर्दा होटल व्यवसायीहरू निकै उत्साहित छन् ।
तातोपानीमा बढ्दै गएको पर्यटक चहलपहल तथा त्यहाँको विभिन्न पक्षको अवस्था बुुझ्दै तातोपानी गाउँपालिकाले गुरुयोजना बनाउँदै छ । जुम्लाकै नमुना तथा आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ गाउँपालिकाले गुरुयोजना बनाउन लागेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुसार सामान्य व्यवस्थापनका लागि दुई आर्थिक वर्षमा १० लाख विनियोजित गरिएको थियो । सानो बजेटले नहुने भएकाले अब गुरुयोजना बनाएर यसको दिगो विकासमा जोड दिइने अध्यक्ष न्यौपानेले बताए । गत वर्षमात्रै तातोपानीमा बाह्य र आन्तरिक गरी ३० हजार पर्यटक आएको पर्यटन विकास केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्